उत्पादनमूलक क्षेत्रमा सहकारीको डेढ अर्ब लगानी

रोजगारी सृजना, आयात प्रतिस्थापन र नागरिकको आयआर्जन वृद्धिका लागि जुम्लास्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले उत्पादनशील क्षेत्रमा ऋण लगानी गर्दै आएको छ ।
२०३१ सालमा स्थापना भई २०२८ यतादेखि घलुवित्तको सेवा दिइरहेको चन्दननाथ सहकारीले उत्पादनशील क्षेत्रलाई प्रथामिकता दिएर ऋण लगानी गर्दै आएको हो ।
प्रतिवेदन अनुसार कृषि, होटल व्यवसाय, खुद्रा व्यापार, भेडाबाख्रा पालनलगायतका उत्पादनशील क्षेत्रमा चन्दननाथ सहकारीले हालसम्म झण्डै डेढ अर्ब बराबरको ऋण लगानी गरेको छ । सहकारीले हालसम्म कर्णाली प्रदेशको जुम्लालगायत ६ जिल्लामा १ अर्ब ४९ करोड ८४ लाख ३६ हजार ऋण लगानी गरेको सहकारीका प्रबन्धक रिसिराम पाण्डेले बताए ।
उनले भने, “ऋण लगानीका लागि उत्पादनशील क्षेत्रलाई पहिलो प्रथामिकता दिएका छौं । ५ लाखदेखि १ करोडसम्म व्यावसायीक ऋण उपलब्ध गराएका छांै । सहकारीमा आवद्ध सदस्यहरु ऋण लिएर उल्लेखीय प्रगती गरेका धेरै उदाहरण पनि छन् ।”
लगानी भएको झण्डै डेढ अर्ब ऋणमध्ये हाल १ अर्ब १७ करोड २० लाख १३ हजार १ सय असुली भइसकेको छ भने अझै ३२ करोड ६४ लाख २२ हजार ८ सय ९८ रुपैयाँ ऋण असुली गर्न बाँकी छ ।
चन्दननाथ बहुउद्देश्यीय सहकारीले गत आव २०७८/०७९ मा मात्रै ८ करोड १९ लाख ८० हजार ३ सय आम्दानी गरेकोमा सहकारीलाई खुद आम्दानी १ करोड ५२ लाख २५ हजार रुपैयाँ भएको पाण्डेले जानकारी दिए ।
सहकारीमा अहिलेसम्म २१ हजार ७ सय ४४ जना सदस्य रहेका छन् । उनीहरुबाट संकलित बचत कुल १ खर्ब ९० करोड ५० लाख १६ हजार ५ सय २६ रुपैयाँ पुगेको छ ।
सहकारीले गत आवमा ७ करोड १४ लाख ५७ हजार ७ सय ३८ रुपैयाँ खर्च गरेको छ । सेयर पुँजी ३ करोड ४० लाख ३५ हजार ४१ रुपैयाँ रहेको छ । यस्तै २ करोड ६६ लाख ७७ हजार रुपैयाको विभिन्न कोष खडा गरिएको छ । चन्दननाथ बहुउद्देशिय सहकारीमा २९ वटा सेवा केन्द्र, ११ वटा लघुवित्त, २ वटा मेडिकल, २ वटा सुपथ पसल र २ वटा अर्गानिक पसल सञ्चालनमा छन् ।
साविकका कर्णालीका ५ वटै जिल्लाका सबै स्थानीय तहमा सहकारीले आफ्नो लघुवित्त सेवा सुरु गर्ने लक्ष्य राखिएको छ । साथै सहकारीकै माध्यमले कर्णालीका महिलामा वित्तीय साक्षरताको पहुँच वृद्धि भएको समेत पाण्डेको दाबी छ ।