दुग्ध संकलन केन्द्रलाई ‘चिलिङ भ्याट’

बेलौरी नगरपालिकाले दुग्ध संकलन केन्द्रलाई ‘चिलिङ भ्याट’ उपलव्ध गराएको छ । दुग्ध वितरण आयोजना धनगढीको एक लाख १९ हजार ५ सय ५१ र बेलौरी नगरपालिकाको आठ लाख साझेदारीमा दूध चिस्याउने चिलिङ भ्याट खरिद गरी केन्द्रलाई उपलब्ध गराइएको हो । चिलिङ भ्याटको क्षमता तीन हजार लिटर दूध संकलन गर्ने रहेको नगरपालिकाको पशु विकास शाखाका प्रमुख ताराप्रसाद अवस्थीले बताए ।
“दुग्ध संकलन केन्द्र बेलौरीले चिलिङ भ्याटको अभावमा दुग्ध संकलन गर्न निकै अप्ठेरो रहेको जानकारी गराएपछि नयाँ चिलिङ भ्याट आयोजनासँगको साझेदारीमा खरिद गरेका हौँ,” उनले भने, “चिलिङ भ्याट केन्द्रलाई उपलब्ध भएपछि दुग्ध भण्डारण गरी सहज रूपमा बिक्रीवितरण गर्न सक्छ । चिलिङ भ्याटको अभावमा विगत जस्तो दूध बिग्रिने डर हुँदैन ।”
दुग्ध उत्पादक किसानको दूध केन्द्रले सहज रूपमा खरिद गरी डिडिसीलाई बेच्ने उनले बताए । केन्द्रसँग रहेको पुरानो चिलिङ भ्याट बिग्रिएपछि दूध संकलनमा समस्या उत्पन्न हँुदै आएको थियो ।