ठेकेदारको लापरबाहीले सडक अलपत्र «

ठेकेदारको लापरबाहीले सडक अलपत्र

गुल्मीमा अधिकांश सडक ठेकेदारको लापरबाहीका कारणले अलपत्र परेका छन् । एउटै ठेकेदारले धेरै सडक निर्माणको जिम्मा लिने, सम्झौता गरेर वास्ता नगर्ने, पटकपटक निर्माणको समयावधि थप्ने र नियमन गर्ने निकाय उदासीन बन्दा अधिकांश सडक अलपत्र परेका हुन् ।
ठूलाठूला योजनालाई विभिन्न कारण देखाएर काम नगर्ने ठेकेदारले गुल्मीको एउटा सामान्य योजनालाई पनि दुई वर्षसम्म पूरा गर्न सकेका छैनन् । जम्मा ७ सय ७० मिटर सडक कालोपत्रेको काम सम्झौता भएको दुई वर्षसम्म पूरा नगरेर ठेकेदारले आफ्नो असली रुपमा देखाएका छन् । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सार चक्रपथअन्तर्गतको बलेचौर रानीबासमा ७ सय ७० मिटर कालोपत्रे गनुपर्नेमा ठेकेदारको लापरबाहीले सडक अलपत्र परेको स्थानीय अनिष सुनारले गुनासो गरे । “सडक समयमा नबन्दा हामीले निकै सास्ती खेप्नुपरेको छ,” स्थानीय सुनारले भने, “ठेकेदारमा नैतिकता नहुने रहेछ, समयमा काम सम्पन्न गर्ने भन्ने सोंच नै नभएको जस्तो लाग्यो ।” बर्षायामको समय सुरु भएकोले सडकमा थुप्रै समस्या झेल्नुपरेको सुनारले बताए ।
प्रदेश सरकारको एक करोड ३८ लाखमा अर्घाखाँचीको आत्रेय भुसाल बस्नेत जेभी कम्पनीले ९ माघ २०७७ मा एक वर्षमा सक्नेगरी सम्झौता गरको थियो । समय अवधिमा काम सम्पन्न गर्न नसकेपछि फेरि १० माघ २०७८ देखि १० वैशाख २०७९ सम्म समय थप गरेको थियो । तर, अहिलेसम्म सडक कालोपत्रेको काम पूरा हुन नसक्दा स्थानीय थप आक्रोशित बन्न बाध्य भएका हुन् । ठेकेदारको लापरबाहीका कारणले गर्दा सडकको अवस्था अस्तब्यस्त रहेको स्थानीय पदम श्रेष्ठले गुनासो गरे । “ठेकेदारको लापरबाहीका कारण जम्मा ७ सय ७० मिटर सडक पनि अस्तब्यस्त हुने अवस्थामा पुग्यो,” स्थानीय श्रेष्ठले भने, “सडकको ढल निकासको समेत काम नहुँदा घरभित्र पानी पसेर सास्ती भइरहेको छ ।” उनले तत्कालका लागि ढल निकासको मात्र काम गरे पनि निकै राहात हुने अपेक्षा व्यक्त गरे ।
सडक कालोपत्रेको जिम्मा पाएको अर्घाखाँचीको आत्रेय भुसाल बस्नेत जेभीका संचालकले राजनैतिक आडमा काममा ढिलाइ गरेको स्थानीयको आरोप छ । सडकको अवस्था बर्खामा हिलाम्ये र हिउँदमा धुलाम्येको मार खेपिरहन स्थानीय बाध्य छन् । सडकको विषयमा अख्तियार दुरपयोग आयोगमा मुद्दासमेत परेको छ । आत्रेय भुसाल बस्नेत जेभी नामक निर्माण कम्पनी अर्घाखाँचीका आकाश भुसालको नाममा छ । उक्त सडक पूर्वाधार विकास कार्यालय गुल्मीले हेर्न जिम्मा पाएको छ । निर्माण कम्पनीले काम सम्पन्न गर्नुको साटो सडकलाई अस्तव्यस्त बनाएको त्यस वडाका वडाध्यक्ष मोतीप्रसाद श्रेष्ठले बताए । “निर्माणको जिम्मा पाएका ठेकेदारले लापरबाही गरेर सडक कालोपत्रेको काममा ढिलासुस्ती गरेका छन्,” वडाध्यक्ष श्रेष्ठले भने, “पटकपटक ठेकेदारको ध्यानकर्षण गराउँदा पनि उनले वास्ता गरेनन् ।” छिटोभन्दा छिटो काम गरिदिए सबै स्थानीयलाई राहात हुने वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।
रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारका स्थानीय बलबहादुर श्रेष्ठले ठेकेदारले स्थानीयलाई धम्काउने गरेको बताए । “उहाँले हामी स्थानीयलाई धम्की दिँदै आउनुभएको छ,” स्थानीय श्रेष्ठले भने, “पछिल्लो समय सम्पर्क गर्दा ठेकेदारले गर्न सकेको गर भनेर चुनौती दिनुभयो ।” आफू स्थानीयहरुको अगुवा भएर ठेकेदारलाई सम्पर्क गर्दा थर्काउने, धम्काउने तथा चुनौती दिने काम गरेको स्थानीय श्रेष्ठको आरोप छ । नियमन गर्ने निकाय उदासीन भएका कारण, राजनीतिक पहुँचको भरमा ठेकेदार चलेका कारण र मुख्य निकाय मिलेमतो गरेका कारणले सडक अलपत्र पर्दा सबै चुपचाप बस्ने गरेको उनले बताए ।
समयमा काम सम्पन्न गर्नका लागि कार्यालयले निर्माण कम्पनीलाई सात पटकसम्म पत्राचार गरेको सडक पूर्वाधार कार्यालय गुल्मीका प्रमुख सागर मरासिनीले दाबी गरे । काममा बेवास्ता गरेका कारणले आफूहरुले रकम निकासासमेत नगरेको कार्यालय प्रमुख मरासिनीले बताए । ठेकेदार आकाश भुसालसँग सम्पर्क गर्दा सरकारले ३० असारसम्म संचालनमा रहेका योजनालाई समय थप गर्न २० असारको राजपत्रमा सूचना प्रकाशित गरेको भनेर उम्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्