Logo

कृषि प्रविधि सिक्न नेपाली किसानलाई कोरिया पठाउने तयारी

कृषि क्षेत्रमा अत्याधुनिक प्रविधि प्रयोगको क्षेत्रमा अगाडि आउँदै गरेको कोरियामा कृषि कर्म सिक्ने अवसर नेपाली किसानले पनि पाउने भएका छन् ।
विदेशमा सीप सिकेर नेपालमा उद्यमशिलता सृजना गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र (एईसी) र कोरियाली ग्लोबल मल्टी कल्चरल सेन्टर (जीएमसी)बीच सम्झौता भएको हो । कृषि सीप, प्रविधि आदानप्रदानसम्बन्धी सम्झौतामा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र जीएमसीको तर्फबाट महासचिव योङ्सु इरिक मुनले हस्ताक्षर गरेका छन् ।
सो सम्झौता अन्तर्गत जीएमसीले नेपाली कृषकलाई ५–५ महिना गरी दुईपटक कोरियाको सीप र प्रविधिको प्रयोगबारे तालिम प्रदान गर्नेछ । कोरियाको किम्जे र मुहानगुनमा नेपाली कृषकले काम गर्नेछन् । सम्झौता अनुसार कोरियाको विभिन्न नगरपालिकाले सो कार्यक्रममा सहभागी हुन चाहने कृषकसँग कृषि उद्यम केन्द्रमार्फत सहजीकरण गर्नेछ । नेपालमा भने कृषि उद्यम केन्द्रले यहाँको कृषि सहकारी, नगरपालिका तथा गाँउपालिकासँग समन्वय गरेर वास्तविक कृषक छनोट गर्नेछ ।
सम्झौता अनुसार यस वर्ष ४ सय जना किसानलाई कोरियामा कषि प्रविधि सिक्नको लागि पठाइने छ । सो कार्यको पूर्णताको लागि कृषि उद्यम केन्द्रको टोली साउनको अन्तिम साता कोरिया जाने तयारी रहेको सभापति सुमार्गीले जानकारी दिए ।
टोलिले कृषि तालिम सञ्चालन हुने स्थानको भ्रमण गरि सम्पूर्ण जानकारी लिने र प्रथम चरणमा अक्टोबर महिनामा ५० जना किसान कृषि प्रविधि सक्नको लागि कोरिया जानेछन् । कोरिया र नेपालबीच यस प्रकारको तालिम सञ्चालनको प्रस्ताव विगत २१ वर्षदेखि कोरियामा व्यावसाय गर्दै आएका गम्भिरमान श्रेष्ठले गरेका हुन् । उनि मल्टीकल्चर युथ एसोसियसन कोरियाको निर्देशक हुन् भने नेपाल मुलका कोरिन कलाकार पनि हुन् । उनले आधा दर्जन भन्दा धेरै कोरियन फिल्म र ड्रामामा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्