ब्याजदरमा वृद्धि, उत्पादन क्षमतामा ह्रास
उद्योगका आयको वृद्धिदर घट्यो

बजारमा मागमा आएको कमीका कारण उद्योगको आयको वृद्धिदर व्यापक रुपमा घटेको एक एक प्रतिवेदनले देखाएको छ । अध्ययनका अनुसार आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा उद्योगको आय वृद्धिदर १२.८२ प्रतिशत रहेको छ । दोश्रो त्रैमासमा उद्योगको आय वृद्धिदर २७.१ प्रतिशत रहेको नेपाल उद्योग परिसंघले गरेको नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययनले देखाएको हो ।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजार मागमा उल्लेख्य गिरावट आएको र यसले उद्योगको आयमा ह्रास ल्याएको बताए । उनले यसप्रति संवेदनशील हुन सरकारलाई आग्रह पनि गरे । परिसंघको औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अंकका अनुसार आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा व्यवसायको उत्पादन क्षमता उपयोग पनि खस्केको छ । जसका कारण उद्योगहरुले आफ्नो कुल उत्पादन क्षमताको ६६.८१ प्रतिशतमात्र उपयोग गरेको देखिन्छ । तर, दोश्रो त्रैमासमा कुल उत्पादन क्षमताको उपयोग ७१ प्रतिशत थियो ।
माघ, फागुन र चैतको अवधिमा उत्पादनमूलक उद्योगले औषतमा १०.९६ प्रतिशत (गत वर्षको सोही अवधिमा ९.४ प्रतिशत थियो) र सेवा क्षेत्रका उद्योगले औषतमा १०.९२ प्रतिशत ब्याज तिरेको पाइएको पनि प्रतिवेदनले देखाएको छ ।
सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक समेटिएको छ । प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री बडूले यस प्रकारको नियमित औद्योगिक प्रतिवेदनले नेपालको औद्योगिक वातावरणको चित्रण गर्न सहयोग पुग्ने बताए । उद्योगमा प्रयोग हुने जेनेरेटरले खपत गर्ने तेलको परिणाम प्रष्ट्याउने र हाल उद्योगमा रहेका कोइलाबाट चल्ने बोइलरलाई बिजुलीबाट प्रतिस्थापन गर्न लाग्ने लागतको सन्दर्भमा समेत अनुसन्धान हुन जरुरी रहेको उनले बताए ।
उत्पादनमूलक उद्योगहरुले आफ्नो चालू पुँजीको ३१ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको पनि अध्ययनले देखाएको छ । उद्योगहरुले अघिल्लो त्रैमासमा चालू पुँजी ३४.४ प्रतिशत ऋण लिएका थिए । अध्ययनमा सहभागी मध्ये ८२.५ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि तयार रहेको पनि बताएका छन् ।
मौद्रिक नीतिलाई केन्द्रित गरेर तयार गरिएको उक्त प्रतिवेदनले मौद्रिक नीति र यसको उद्देश्य, तुलनात्मक अध्ययन, नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमा दिएको सुझावसमेत समावेश गरेको छ ।
यस्तै, परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रतिवेदनले उद्योगको अवस्थाबारे जानकारी दिने यस्ता प्रतिवेदनले निजी क्षेत्रमाथिको विश्वसनीयता अभिवृद्धि गर्न सहयोग गर्ने बताए ।
स्टिल निर्यात हुने
नेपालबाट पहिलो पटक स्टिल निर्यात हुने भएको छ । श्री स्टिलले भारतमा निर्यातका लागि भारतीय गुणस्तर चिह्नसमेत पाइसकेको बताएको छ । यससँगै श्री स्टिलले पहिलो पटक चार ट्रक स्टिल भारत निर्यात गर्न लागेको जनाएको छ । यसअघि नेपालबाट भारतमा पाल्पा सिमेन्ट उद्योगले ३ हजार बोरा सिमेन्ट निर्यात गरेको थियो । परीक्षणका लागि पहिलो पटक भैरहवा नाकाबाट सिमेन्ट निर्यात गरेपछि अन्य सिमेन्ट उद्योग पनि भारतमा सिमेन्ट निर्यातका लागि भारतीय गुणस्तर चिह्न लिने प्रक्रियामा छन् । सरकारले चालू आर्थिक वर्षका लागि १५ जेठमा ल्याएको बजेटमा सिमेन्ट तथा स्टिल निर्यात गर्दा ८ प्रतिशतसम्म अनुदान दिने घोषणा गरेको थियो । अर्थ मन्त्रालयले निर्यात कार्यविधि बनाइरहेको उक्त निर्यात अनुदान सुरु भएमा अन्य सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा रहेको सिमेन्ट उत्पादक संघले जनाएको छ ।