Logo

दोलखा–काँकडभित्ता बस सेवा सुरु

दोलखाको चरिकोटदेखि झापाको काँकडभित्तासम्म सीधा बस सेवा सुरु भएको छ । रोजगारीका लागि धेरै दोलखालीहरू भारतको सिक्किम र पश्चिम बंगालमा रहेकाले उनीहरूको सुविधाका लागि काँकडभित्तासम्म सीधा बस सेवा सुरु भएको हो ।
दोलखाको रोल्वालिङ यातायात सहकारी संस्थाको अगुवाइमा चरिकोटदेखि काँकडभित्तासम्म बस सेवा सञ्चालनमा आएको हो । बुधबार दिउँसो चरिकोट सातदोबाटो चोकमा रोल्वालिङ यातायात सहकारी संस्थाका अध्यक्ष बालकृष्ण आचार्यले बस चालक र यात्रुहरूलाई खादा लगाएर यातायात सञ्चालनको शुभारम्भ गरे ।
सीधा बस सेवा सञ्चालनका लागि पछिल्लो ३ महिनामा चरिकोट र काठमाडौंमा विभिन्न व्यावसायिक समितिहरूसँग छलफल हुँदै आएको थियो । विगतमा बीपी राजमार्गमा बसको परमिट नलाउने लगायतका समस्याका कारण सोचेको समयमा बस सो सुरु गर्न नसकेको उनले बताए । अब सरकारले पनि परमिट दिन सहज वातावरण बनएकाले चरिकोटदेखि सिन्धुली हुँदै काकडभित्तासम्मको परमिट पाए लगत्तै बस सेवा सुरु गरेको उनले बताए ।
रोल्वालिङले २ वर्ष अघि नै चरिकोटबाट बस छुटाए तापनि त्यो बस सिन्धुलीमा अवरोध भएपछि रोकिएको थियो । चरिकोटबाट छुटेको बस रामेछाप, सिन्धुली बर्दिबास हुँदै काँकडभित्ता पुग्ने छ । भोलीपल्ट सोही बस काँकडभित्ताबाट चरिकोटसम्म चल्ने छ । बस दैनिक रात्री सेवामा चल्ने रोल्वालिङ यातायात सहकारी संस्थाका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।
रोल्वालिङ यातायातले ३ वर्षअघि नै झापाको मेची यातायातसँगको सहकार्यमा बस सञ्चालन तयारी गरेको थियो । पछि ढोली खोलाको पुल बगाएको र बीपी राजमार्गमा बसलाई परमिट विवाद लगायतका कारणले रोकिएको थियो ।
सीधा बस सेवा सञ्चालन भएपछि दोलखा र रामेछापबाट व्यवसाय र रोजगारका सिलसिलामा भारतको सिक्किम, दार्जिलिङ पुगेकाहरू प्रत्यक्ष लाभान्वित हुने छन् । त्यसैगरी पूर्वी नेपालबाट दोलखाको भ्रमणमा आउनेहरूलाई पनि सहज हुने छ । यात्रुहरूको माग र आवश्यकताका आधारमा सिधा बस सेवा सञ्चालन गरेको अध्यक्ष आचार्यले जानकारी दिए ।
पछिल्लो चरण्मा रोल्वालिङ, अरनिको र बीपी यातायातबीच सहमति भएको छ । तर, पूर्वका मेचीमा धेरै यातायात समिति भएकाले उनीहरूबीचमा सहमति हुन नसक्दा ढिला भएको रोल्वालिङका सचिव शान्तिप्रसाद ओलीले जानकारी दिए । अब उनीहरू बीच सहमति भए पनि नभए तापनि बैशाख दोस्रो सातापछि बस सेवा चल्ने उनले बताए । चरिकोटदेखि काँकडभित्तासम्मको दूरी ४ सय ६० किलोमिटर छ ।
जिल्ला ट्राफिक कार्यालय चरिकोटका प्रमुख चन्द्र तमाङले लामो बाटो र रातिको समय भएकाले बसमा २ जना ड्राइभर राख्न सुझाव दिए । काँकडभित्ताका लागि दिउँसो २ बजे चरिकोटबाट छुट्ने र काँकडभित्ताबाट साँझ ५ बजे छुट्नेछ ।
टिकटका लागि चरिकोटमा रोल्वालिङ यातायातको काउन्टरबाट काटिने छ भने तामाकोसी, मालुखोला, खिम्ती र मन्थलीमा अरनिको भीमेश्वर यातायात प्रालिले काट्ने छ । त्यसैगरी सिन्धुलीमा वीपी यातायातले टिकटको व्यवस्था गर्ने छ भने पूर्वमा मेची यातायात समितिको समन्वयमा टिकटको व्यवस्था गर्ने सहमति भएको रोल्वालिङ यातायातका सचिव शान्तिप्रसाद ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्