मराङ खोलामा निर्माणाधीन पक्की पुल «

मराङ खोलामा निर्माणाधीन पक्की पुल

म्याग्दीको धौलागिरी गाउँपालिकाको वडा नम्बर ५ मल्कवाङ र ६ मराङ बस्तीलाई सडक सञ्जालसँग जोड्न मराङ खोलास्थित अर्कलामा पक्की पुल निर्माणाधीन छ । धौलागिरि र मालिका गाउँपालिकाको सिमानास्थित मराङ खोलामा निर्माणाधीन मोटरेवल पुल निर्माण अन्तिम चरण पुगेको छ ।
तीन गाउँपालिका जोड्ने गरी रिङरोडको परिकल्पना गरेर ५ वर्षअघि निर्माण गरिएको मालिका गाउँपालिकाको केन्द्र दरबाङ, विम हुँदै धौलागिरि गाउँपालिकाका मराङ, मल्कवाङ र रघुगंगा गाउँपालिकाको ८ नम्बर वडा कुइनेखानी जोड्ने सडकअन्तर्गत मराङ खोलामा मोटरेबल पुल निर्माण गरिएको हो ।
पुल नहुँदा यी वस्तीमा वर्षातका समयमा यातायात अवरुद्ध हुँदै आएको थियो । पुल निर्माण सम्पन्न भएपछि धौलागिरिको वडा नम्बर ५ मल्कबाङ, ६ मराङ र रघुगंगा गाउँपालिकाको ८ कुइनेखानीका स्थानीयवासीहरूलाई आवतजावत गर्न सहज हुनेछ ।
पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दीले २०७६ माघ २९ गते दुई वर्षमा सक्ने गरी फेवा सावित्री पोखराको निर्माण कम्पनीसँग २ करोड ७२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । गत चैत ३० गतेसम्म सम्पन्न गर्नुपर्नेमा कोरोना महामारीका कारण पुल निर्माण गर्न केही महिना ढिला भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । थपिएको म्यादभित्र निर्माण कम्पनीले मजदुर र उपकरण परिचालन गरेर समयभित्रै पुल निर्माण सक्न थालेकोे पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए । उनका अनुसार ‘७ मिटर चौडाइ रहेको उक्त पुल २५ मिटर लामो पुलको ढलान काम सम्पन्न भएको छ, पुलको दुवैतर्फको संरचना निर्माण गर्न बाँकी छ, अबको दुई÷तीन महिनामा सवै सम्पन्न भई यातायात सञ्चालन हुन्छ ।’
मराङ खोलामा पुल बनेसँगै वर्षात्का समयमा आवतजावत गर्न, बिरामीलाई अस्पताल पु¥याउन, निर्माण र दैनिक उपभोग्य सामान ढुवानी तथा गाउँमा उत्पादन भएको कृषिजन्य वस्तुको निकासीमा सहज हुने अपेक्षा गरिएको मराङका वडाध्यक्ष राजाराम सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्