सर्वोत्तम सिमेन्ट र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता

सर्वोत्तम सिमेन्ट र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिदबिक्रीमा सम्झौता भएको छ ।
सम्झौतामा प्राधिकरणका निर्देशक सच्चिदानन्द यादव र सर्वोत्तम सिमेन्टका कम्पनी सचिव नवराज पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सर्वोत्तम सिमेन्टलाई हाल ८ मेगावाट विद्युत प्रदान गरिरहेकोमा थप ९ मेगावाट विद्युत प्रदान गर्ने सहमति भएको छ । यससँगै सर्वोत्तम सिमेन्टले अब १७ मेगावाट विद्युत प्राप्त गर्ने भएको छ । यसका लागि थप विद्युत प्राप्त गर्नको लागि आवश्यक हुने विद्युतीय सामग्री तथा ट्रान्सफर्मर जडान कार्य अगाडि बढाइएको छ ।
कम्पनीले आन्तरिक श्रोतको सदुपयोग गर्दै देशभित्र उत्पादित जलविद्युत्को खपत देश भित्रै बढाउने सरकारको योजनामा सघाउनुका साथै यसअघि सिमेन्ट उत्पादनका लागि अन्य श्रोतबाट प्राप्त गरिरहेको ऊर्जाको खपतलाई समेत घटाउन मद्दत पुग्ने विश्वास लिएको सर्वाेत्तम सिमेन्टले जनाएको छ ।
विशेषगरी, यसअघि सिमेन्ट उत्पादनको लागि आवश्यक ऊर्जा थर्मल, फर्नेस ओयल तथा डिजेल प्लान्टको सञ्चालनबाट प्राप्त गर्दै आएको र ठूलो परिमाणमा डिजेलको खपत हुने गरेकोमा विद्युतीय ऊर्जा प्राप्त गरेपश्चात् यसले डिजेललगायत बाह्य श्रोतबाट प्राप्त यस्ता ऊर्जाको श्रोत खपत कम गर्न सघाउने विश्वास कम्पनीले लिएको छ । यसले उल्लेख्य मात्रामा खर्च घटाउनेसमेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले बताए ।