फोहोरलाई मोहरमा परिणत गर्दै स्याङ्जाको वालिङ «

फोहोरलाई मोहरमा परिणत गर्दै स्याङ्जाको वालिङ

धेरैजसो स्थानीय सरकारको टाउको दुःखाइको मुख्य विषय बन्दै गएको छ, ‘फोहोरमैला व्यवस्थापन ।’ स्थानीय सरकारको इच्छा शक्ति नभएर ? कि उपयुक्त विकल्पको अभाव । उपयुक्त विकल्प र समाधानको स्वरुप नयाँ शैलीमा स्याङजाको वालिङ नगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्दै आएको छ । वालिङमा फोहोरमैला समस्या नभएर स्रोतको रूपमा विकसित हुँदै गएको छ । फोहोरमैला व्यवस्थापनले नगर सफामात्र होइन, मोहरमा परिणत भएको छ ।
वालिङले फोहोरमैलाको व्यवस्थापनसँगै त्यसबाट आयआर्जन पनि गर्न सकिन्छ भन्ने प्रमाण दिएको छ । लामो समयको अध्ययन र अनुसन्धानपछि वालिङले नयाँ सोचका साथ फोहोरमैला व्यवस्थापन गर्दै आएको छ । बजार क्षेत्रबाट संकलित फोहोरमैलालाई वर्गीकरण, वर्गीकृत फोहोरमैला कुहिने र नकुहिने वर्गमा राख्छ । नगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिनमा संकलन गर्छ भने दैनिक पाँच टन फोहोर संकलन हुन्छ ।
कुहिने वस्तुलाई नगरले कम्पोस्ट मल बनाएर उपयोग गर्दै आएको छ । कम्पोस्ट मल संकलन केन्द्रबाटै बिक्री हुने गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए । नकुहिने सामग्री शिशाजन्य, फलाम, प्लास्टिक, कपालजस्ता वस्तुलाई पनि वर्गीकरण गर्दै बजारीकरण गरेको भट्टराईले बताए ।
नकुहिने वस्तुहरू उद्योगका कच्चा पदार्थका रुपमा निकासी गरिएको छ । कच्चा पदार्थलाई वालिङ नगरपालिकाले फोहोरलाई मोहरमा परिणत गरेको छ । वर्षेनी लाखौं रुपैयाँ नगरपालिकालाई आम्दानी हँुदै आएको छ । केन्द्रबाट हुने आम्दानीले एक दर्जन कर्मचारीलाई पारिश्रमिक दिएर रोजगारसमेत बनाएको नगरपालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा फोहोरमैला बिक्रीबाट वालिङ्ले २५ लाख रुपैयाँ आम्दानी गरेको थियो । देशभरका नगरपालिकामध्ये वालिङ यसअघि नै सर्वोत्कृष्ट भएर पुरस्कृत पनि भइसकेको छ । संघीय तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा सर्वोत्कृष्ट सफानगरका रूपमा वालिङलाई पुरस्कृत गरेको थियो । नगरपालिकाको ‘सरसफाई केन्द्र’ अन्यका निम्ति सिकाइ केन्द्रका रूपमा रूपान्तरण भएको नगरका सूचना अधिकारी बाबुराम सापकोटाले बताए ।
वालिङ नगरपालिका–१ अर्मादी रामबाच्छको तल्लो भागमा नगरपालिकाको सरसफाइ केन्द्र छ । केन्द्र आँधीखोला किनारको बगरमा छ । नगरपालिकाले पूर्णामृत भवानी माध्यमिक विद्यालयको ३२ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर केन्द्र निर्माण गरेको हो । केन्द्रमा दैनिक चारजना कुचिकार र अन्य पाँचजना कर्मचारीले फोहोर वर्गीकरण गर्दै आएका छन् ।
नगरले आधुनिक मेसिनबाट फोहोरमैला वर्गीकरण गर्ने गरी तयारी थालेको छ । फोहोरमैला व्यवस्थापनमा नगरपालिका र विभिन्न दातृ निकायले सहयोग गर्दै आएका छन् । सरसफाइका लागि आवश्यक भौतिक संरचना पनि बनाइएको छ । केन्द्रमा एकातिर कुहिने वस्तु र कम्पोस्ट मल राखिन्छ भने अर्कातर्फ फलाम, सिसा, प्लास्टिकलगायतका नकुहिने वस्तु छुट्याएर राखिने गरेको सापकोटाले जानकारी दिए ।

केन्द्र वरिपरि फलफूल अरू रूख बिरुवा रोपण गरिएको छ । केन्द्र आसपास प्राकृतिक वातावरण पनि सुन्दर देखिन्छ । एकद्वार प्रणालीबाट फोहोरमैला व्यवस्थापन गरिँदै आएको छ । एकीकृत फोहोरमैला व्यवस्थापनका क्षेत्रमा नगरपालिका तहमा सञ्चालनमा आएको यो प्लान्ट नेपालकै पहिलो भएको नगरपालिकाले दाबी गरेको छ ।
केन्द्रबाट निस्कने पानीलाई सिँचाइमा पनि प्रयोग गर्न सकिन्छ । वालिङ नगरपालिकाले २०७१ सालदेखि स्थानीय एक गैरसरकारी संस्था (दिदी–बहिनी एवं समाज उत्थान) लाई चार वर्षसम्म फोहोरमैला व्यवस्थापनको जिम्मा लगाएको थियो । विगत पाँच वर्षदेखि भने नगरपालिकाले आफैंले फोहोर व्यवस्थापनको काम गर्दैै आएको छ । नगरपालिका सरसफाइ शाखा प्रमुख ज्योति पौडेल नगरपालिकाले फोहोर उठाएर मात्र नहुने भन्दै वर्गीकरण गर्ने काम महत्वपूर्ण हुने बताउँछन् ।
नगरपालिकाले सेफ्टी ट्यांकीलगायत फोहोरजन्य पानीको व्यवस्थापनसमेत गर्दै आएको छ । घरघरमा रहेका सेफ्टी ट्यांकी भरिएपछि ट्यांकर खोज्नु निकै कठिन हुने स्थानीयले सुनाए । त्यहाँबाट उत्पन्न हुने फोहोर जहाँ पायो त्यतै फाल्न पनि नहुने फोहोरलाई वातावरणीय दृष्टिकोणले पनि असहज हुने भएपछि नगरपालिका आफैंले सेफ्टी ट्यांकी सरसफाइको काम गर्न थालेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकालाई ६ हजार ५ सय रुपैयाँ बुझाएपछि आफंै सेफ्टी ट्यांकी सफा गरिदिन्छ । त्यसका लागि नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापन प्लान्ट पनि सञ्चालनमा ल्याएको छ । दिसाजन्य लेदोबाट बायोग्यास र कम्पोस्ट मल बन्छ भने त्यहाँबाट निस्कने पानीलाई प्रशोधन गरी पुनः प्रयोग गर्न मिल्ने बनाएको नगरपालिकाले जनाएको छ ।
नगरवासीहरू फोहोरमैला ब्यवस्थापनमा भएको यो ‘चमत्कार’ को श्रेय निवर्तमान नगरप्रमुख दिलिप्रताप खाँणलाई दिन्छन् । विज्ञान विषयका विद्यार्थी खाँण आफै रचनात्मक, सिर्जनात्मक र अन्वेषणात्मक कार्य गर्न रुची राख्छन् । खाँणले आफ्नो कार्यकालमा ‘पहिला फोहोरमैला चिनौं, त्यसपछि व्यवस्थापन गरौं, भन्ने नारा नै दिएका थिए ।
वालिङ पुरस्कृत भएपछि ‘सिक्नका लागि विभिन्न पालिका र संघ–संस्था’ गरी पाँच सय बढीले स्थलगत अध्ययन गरिसकेको नगरपालिकाले जनाएको छ । वालिङको सफाइ केन्द्र हेरेर गएका पालिकाले फोहोरमैला व्यवस्थापनमा राम्रा काम गरेको नगरपालिकाका अधिकृत पाण्डेले सुनाए । पालिकाले फोहोरमैलाको परिमाण र प्रकृतिअनुरूप प्रतिघर ५० देखि पाँच सय रुपैयाँसम्म मासिक शुल्क लिँदै आएको छ ।
आर्थिक वर्ष २०७१/०७२ मा १ लाख ७९ हजार, २०७२/०७३ मा तीन लाख ४९ हजार ९ सय ९०, आव २०७३/०७४ मा सात लाख २४ हजार ८ सय १५ र पछिल्लो वर्ष चारलाख ८१ हजार ४ सय १३ रुपैयाँ फोहोरमैला बिक्रीबाट आम्दानी गरेको दिदी–बहिनी एवं समाज उत्थान गैरसरकारी संस्थाका अध्यक्ष यामप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्