Logo

विद्युतीय माध्यमबाट कर बीजक जारी गर्न आग्रह

आन्तरिक राजस्व विभागले विद्युतीय माध्यमवाट कर बीजक जारी गर्न करदाताहरुलाई आग्रह गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग भएको छलफलमा विभागले विद्युतीय माध्यमबाट कर बीजक जारी गर्न आग्रह गरेको हो ।
विभागले हालै एक सूचना प्रकाशन गरी १० करोडभन्दा बढीको कारोबार हुने करदातालाई विद्युतीय माध्यमबाट बीजक जारी गर्न आग्रह गरेको थियो । सोही विषयमा छलफल गर्न गएको महासंघको प्रतिनिधिमण्डलसँग विभागले विद्युतीय माध्यमबाट कर बीजक जारी गर्दा हुने फाइदाका विषयमा समेत जानकारी गराएको थियो ।

छलफलका क्रममा विभागका महानिर्देशक रितेशकुमार शाक्यले कर प्रणालीलाई समय सापेक्ष बनाउने क्रममा पछिल्ला दुई मध्ये एक आर्थिक वर्षमा १० करोडभन्दा बढीको कारोबार हुने करदातालाई विद्युतीय माध्यमबाट कर बीजक जारी गर्न विभागले आग्रह गरेको बताए । महासंघका अध्यक्ष माणिकरत्न शाक्यले विद्युतीय माध्यमबाट कर बीजक जारी गर्दा व्यवसायीलाई पर्ने कठिनाइका बारेमा जानकारी गराएक थिए । उनले झण्झटिलो प्रकृयाका कारण ब्यवसायीलाई पर्ने असुविधालाई सम्बोधन गर्न विभागसँग आग्रह गरे ।
विभागका पदाधिकारीहरुले सुरुवाती चरणमा कुनै पनि विषय अप्ठ्यारो लाग्नु स्वभाविक भएपनि यसलाई क्रमशः सहजिकरण गर्दै लजानुपर्ने बताए । विद्युतीय माध्यमबाट कर बीजक जारी गर्दा व्यवसायीलाई कुनै अप्ठ्यारो आइपरे विभागले सहजिकरण गर्ने विभागले प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्