उद्योगको क्षमता बढाउन आवश्यक छः मन्त्री बडू «

उद्योगको क्षमता बढाउन आवश्यक छः मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले चलिरहेका उद्योगहरुको क्षमता बढाउन आवश्यक रहेको बताएका छन् ।
आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले सबै उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नसके देशभित्र नै रोजगारीको अवसर सिर्जना हुने बताए । मन्त्री बडूले अहिले भइरहेका उद्योगहरु ६० देखि ७० प्रतिशतसम्म मात्रै चल्न सकेको भन्दै यसलाई पूर्ण रुपमा चलाउने कार्यदिशमा सरकार अग्रसर रहेको बताए ।
“अहिले चलिरहेका उद्योगहरुको क्षमता बढाउन आवश्यक छ । कतिपय उद्योगहरु आफ्नो पूर्ण क्षमतामा चलेका छैनन्” उनले भने, “उद्योगहरुले ६० देखि ७० प्रतिशतसम्म सञ्चालनमा ल्याएका छन् । बन्द रहेका सबै उद्योग चलाउन सके रोजगारीको अवसर हुन्छ ।”
उनले रुग्ण उद्योग सञ्चालनका लागि उपयुक्त ढाँचा बनाउने काममा सरकार लागिरेहको भन्दै सरकारले स्वयं वा सरकार र निजी क्षेत्रको पीपीपी मोडेल वा त्यसभन्दा अतिरिक्त लामो लिजमा दिएर पनि रुग्ण उद्योग सञ्चालन गर्ने तयारी रहेको बताए । उनले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भरतातिर लैजाने प्रयत्न अहिलेको बजेट वक्तव्यले गरेको दाबी गरे ।

“समग्रमा मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भरतातिर लैजाने प्रयत्न अहिलेको बजेट वक्तव्यले गरेको छ” उनले भने, “सरकारको त्यो नीति रहेको छ । आजको भन्दा रोजगारी र उत्पादन वृद्धि गर्नेतर्फ हामी जान्छौँ ।”
मन्त्री बडूले अहिलेको भन्दा रोजगारी र उत्पादन बढी वृद्धि गर्नेतर्फ सरकार अग्रसर रहेको बताए ।

बक्स
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने बताए । उनले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्य वस्तु र सेवामा पनि मूल्य घट्नु आवश्यक रहेको बताए । उनले बजारमा विभिन्न वस्तु तथा सेवाको मूल्य घटे, नघटेको सन्दर्भमा विषयगत मन्त्रालय र नियामक निकायहरुले आ–आफ्नो क्षेत्रबाट र संयुक्त रुपमा अनुगमन गर्ने व्यवस्था मिलाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्