मूल्यांकन निर्देशिका तथा कार्यविधि आउँदै «

मूल्यांकन निर्देशिका तथा कार्यविधि आउँदै

नेपाल राष्ट्र बैंकले चल, अचल सम्पत्तिको धितो मूल्यांकनसम्बन्धी कार्यमा संलग्न मूल्यांकनकर्तालाई मर्यादित, व्यवस्थित र जिम्मेवार बनाउन मूल्यांकन निर्देशिका तथा कार्यविधि ल्याउने भएको छ ।
चल, अचल सम्पत्तिको धितो मूल्यांकनसम्बन्धी कार्यमा संलग्न इन्जिनियरहरूको छाता संस्था नेपाल भ्यालुयर्स एसोसिएसनको चौथो अधिवेशनको उद्घाटन गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मूल्यांकन निर्देशिका तथा कार्यविधि ल्याउन लागेको जानकारी दिएका हुन् । उनले भ्यालुयर्सहरूको मूल्यांकनका आधारमा सम्पत्तिको मूल्यदेखि राज्यको करसम्मको निर्धारण हुने भएकाले जोखिमलाई ख्याल राखेर इमान्दारितापूर्वक काम गर्न भ्यालुयर्सहरूलाई आग्रह गरे । “तपाईंहरूको मूल्यांकनको आधारमा मूल्य निर्धारण हुने हो, यस्तो महत्वपूर्ण जिम्मेवारीलाई इमान्दार भएर पुरा गर्नुभएन भने त्यसले सबैलाई क्षति पुग्छ,” उनले भने ।
गभर्नर डा. नेपालले पढाइमा राम्रो अंक ल्याउने तथा अब्बल विद्यार्थी नै इन्जिनियर बन्ने गरेको भन्दै समाजमा इन्जिनियरहरू असल हुन्छन् भन्ने मान्यता रहेको बताए । उनले आफ्नो पेशाको इज्जत रहने गरी काम गर्न सुझाव दिए । “एकजना मूल्यांकनकर्ताले गलत गर्दा निकै ठूलो आर्थिक क्षति हुने तथा पेशाप्रतिनै बदनाम हुने अवस्था आउँछ,” उनले भने, “आइक्यान जस्तै भ्यालुयर्स एसोसिएसनले पनि नियामक निकायको रूपमा काम गर्न सक्नुपर्छ ।” समृद्ध नेपालको परिकल्पनासँगै नेपालको सर्वेयर रेटिङ गर्ने बेला आएको भन्दै गर्भनर डा. नेपालले अन्तर्राट्रिय स्तरको सेवा गर्न सक्ने गरी मूल्यांकनकर्ताको क्षमता विस्तार हुनुपर्ने पनि बताए ।
कार्यक्रममा भ्यालुयर्स एसोसिएसनका अध्यक्ष ऋषि कोइरालाले मूल्यांकनकर्तालाई सानो गल्तीमा समेत कानुनी प्रक्रियाबिनै कालोसूचीमा राख्ने तथा बैंकिङ कसुर जस्ता विभिन्न किसिमका लान्छना लगाएर हतोत्साहित पार्ने काम भइरहेको बताए । “हाम्रो काम भनेको इमान्दार भएर चल÷अचल सम्पत्तिको मूल्यांकन गर्ने हो, हामीले गरेको मूल्यांकन ठीक छैन भने स्वीकार गर्ने÷नगर्ने अधिकार सो संस्थालाई हुन्छ,” उनले भने, “मूल्यांकन ठीक छ भनेर स्वीकार गरिसकेपछि हाम्रो काम त पुरा भयो, मूल्यांकनकर्ताले समग्र कारोबारको जिम्मेवारी त लिने होइन नी ?” उनले वित्तीय संस्थाहरूले स्वार्थमा जारी गरिएको ऋण कारोबारमा जोडेर आफूहरूलाई दुःख दिने काम भइरहेको गुनासो गरे ।

अध्यक्षमा ऋषि कोइराला
नेपाल भ्यालुयर्स एसोसिएसनको शुक्रबार भएको चौथो महाधिवेशनबाट अध्यक्षमा ऋषि कोइराला, बरिष्ठ उपाध्यक्षमा लक्ष्मणबाबु सेढाई, उपाध्यक्षहरूमा लैला श्रेष्ठ र जीवन अर्याल चयन भएका छन् । त्यसैगरी महासचिवमा मुक्ति पाण्डे, सचिवमा दिनेशकुमार पाठक, कोषाध्यक्षमा बिकास वाग्ले चयन भएका छन् । सदस्यहरूमा रामरतन यादव, मनिस कर्ण, अमित थकाली, प्रविण सिंह निर्वाचित भएको एसोसिएसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्