कुलेखानीको पानी काठमाडौं ल्याउने खानेपानीमन्त्री चौधरीको दाबी

खानेपानीमन्त्री उमाकान्त चौधरीले उपत्यकाको बढ्दो जनसंख्यालाई ध्यानमा राख्दै सरकारले मकवानपुर जिल्लाको सिस्नेरीस्थित कुलेखानी खोलामा बाँध बनाई दैनिक १५ करोड लिटर पानी काठमाडौं ल्याउने दाबी गरेका छन् ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले दिएको सिस्नेरी खोलााको पानी आपूर्ति गर्ने आयोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित प्रस्तावित बाँधस्थलको निरीक्षण गर्न पुगेका मन्त्री चौधरीले यस्तो जानकारी दिएका हुन् । मन्त्री चौधरीले वर्षा र बाढीका कारण मेलम्चीको पानी सुन्दरीजलतर्फ पथान्तरण गर्न नसक्ने अवस्थामा र सुख्खायाममा पानीको माग बढेको बेला कुलेखानी खोलाको पानी काठमाडौंमा उपत्यकामा दैनिक करिब १५ करोड लिटर वितरण गर्न सकिने योजना रहेको बताए ।
उनले कुलेखानीको पानी दीर्घकालीन रूपमा बाँध बाँधेर काठमाडौ लैजाने र अल्पकालीन रूपमा दुई वर्षभित्रै लिफ्टिङ गरेर लैजान सकिने पनि दाबी गरे ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. संजिवविक्रम राणाले सिस्नेरी खोलामा बाँध निर्माण गर्नेस्थल भौगोलिक रूपमा उपयुक्त, वातावरणीय प्रभाव न्यून रहेको र थोरै समुदायमात्र प्रभावित हुने र पाइपलाइन विस्तार गर्न काठमाडौं– तराई÷मधेस द्रूतमार्गको किनारा प्रयोग गर्न सकिने बताए ।
काठमाडौंको फर्पिङ पम्पिङ स्टेसनबाट करिब १४ किलोमिटर दक्षिणमा रहेको कुलेखानी खोला, सिस्नेरी खोला र बागमती नदीनजिक रहेको प्रस्तावित बाँधस्थलबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सैंबु भैंसेपाटीस्थित पानी पोखरीमा दैनिक करिब १५ करोड लिटर पानी पठाउन सकिने सम्भाव्यता रहेको अध्ययनले देखाएको छ ।

बागमती नदीभन्दा करिब दुई सय मिटर पश्चिमतर्फ सिस्नेरीको कुलेखानी खोलामा निर्माण गरिने प्रस्तावित बाँधको लम्बाइ ३ सय ४० मिटर र उचाइ ६० मिटर रहने बोर्डका कार्यकारी निर्देशक डा. राणाले बताए । बाँधस्थलमा जम्मा भएको पानीलाई करिब दुई किलोमिटर उत्तरतर्फको एक हजार ४ सय १० मिटर अग्लो दरबानडाँडामा निर्माण हुने पानीपोखरी र पानी प्रशोधन केन्द्रमा पम्पिङ गरी पठाइने उनले बताए ।
प्रस्तावित दरबानडाँडा पानीपोखरीबाट निर्माणाधीन दू्रतमार्गमा करिब १९ किलोमिटर उत्तरतर्फ पाइपलाइन विच्छ्याई ललितपुरस्थित एक हजार ३ सय ७० मिटर उचाइमा रहेको सैंबु पानीपोखरीमा खसालिने प्रस्ताव अध्ययनमा गरिएको छ ।
बाँध निर्माण गर्ने स्थलले ८२ वर्ग किलोमिटर जलाधार क्षेत्र ओगट्ने छ भने दैनिक १५ करोड लिटर पानी लिफ्टिङ गर्न सकिने प्रस्ताव गरिएको छ । प्रस्तावित आयोजनास्थल मकवानपुर जिल्लाको भीमफेदी र इन्द्रसरोवर गाउँपालिका क्षेत्रमा पर्दछ ।
सरकारले काठमाडौं उपत्यकाको दू्रतगतिमा बढ्दै गएको जनसंख्या र पानीको मागलाई ध्यानमा राखेर तत्कालका लागि अल्पकालीन योजनाअनुसार दुई वर्षभित्रै लिफ्टिङ गरी पानी काठमाडौं पठाउने योजना बनाएको मन्त्री चौधरीले बताए । अल्पकालीन रूपमा पम्पिङ गरी दैनिक ६ देखि ७ करोड लिटरसम्म पानी काठमाडौं पठाउन सकिने अनुमान गरिएको छ ।
यस्तै दीर्घकालीन रुपमा आयोजना सञ्चालनका लागि करिब २६ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको बोर्डका कार्यकारी निर्देशक राणाले बताए । बाँध निर्माण गरी आयोजना संचालनलाई पूर्णता दिन करिब ६ वर्ष लाग्ने अनुमान गरिएको भए पनि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) भने आइसकेको छैन ।