विज्ञान–प्रविधि र युवा «

विज्ञान–प्रविधि र युवा

प्रशिद्ध अमेरिकी म्याराथुन धावक जोनी केलीले ८४ वर्षको उमेरमा ६१औं बोस्टन म्याराथुनको दौड समापन रेखा छुँदै गर्दा दर्शक दिर्घामा बडो आश्चर्यको भाव देख्न सकिन्थ्यो । सामान्यतयाः आम मानिसको बुझाइमा एथ्लेटिक एबिलिटी बढ्दो उमेरसँगै घट्दै जान्छ भन्ने विश्वास रहेको छ । उनका समकक्षीहरू लौरोको सहारामा हिँड्दै गर्दा केलीले एथ्लेटिक युवाहरूको लागि मात्रै हो भन्ने आम विश्वासलाई गलत सावित गरिदिए ।
हरेक क्षेत्रमा मानिसको क्षमतालाई उसको उमेरसँग तुलना गर्ने चलन छ । विज्ञान–प्रविधिको क्षेत्रमा समेत मानिसको क्षमतालाई उमेरसँग दाँजेर बहस हुने गरेको छ । शारीरिक र मानसिक क्षमता सामान्यतयाः दुई धेरै फरक मानव विशेषताको रूपमा हेरिन्छ । यद्यपि हाम्रो जति उमेर बढ्दै जान्छ, हाम्रो सोच्ने शैलीलाई हाम्रो पुरानो अनुभवहरूले गाइड गरेको हुन्छ ।
यसर्थ हामीले नयाँ विचारहरूको खोजी तथा ग्रहण गर्ने क्षमतामा कमी आउँछ । फलस्वरुप उमेरले परिपक्व मानिसहरू भन्दा युवाहरूले विज्ञान–प्रविधिको क्षेत्रमा नयाँ आयाम ल्याउन सक्छन् । नेपालमा पनि विज्ञान प्रविधिको क्षेत्रमा विकास गर्न सक्ने यदि कोही छ भने त्यो युवा वर्ग नै हो ।
म्याराथुन धावक जोनी केलीले संसारका आम मान्छेहरूको बुझाइलाई गलत सावित गरिदिए । विज्ञान प्रविधिको क्षेत्रमा पनि विशेष उपलब्धि हासिल गर्नलाई कपाल फुल्नैपर्छ, ४० कट्नै पर्छ भन्ने आम बुझाइलाई गलत सावित गर्नुपर्ने बेला भएको छ । आइन्सटाइन, आइज्याक, एडिसन वा अन्य कुनै पनि स्थापित वैज्ञानिक वा स्थापित सिद्धान्तभन्दा पर हेर्न, देख्न र सोच्न सुरु गर्नुपर्ने भइसकेको छ । हामीले आफ्नो सोचको दायरा फराकिलो बनाउन ढिलो भइसकेको छ ।
आज विज्ञान–प्रविधिले हासिल गरेका हरेक उपलब्धिहरू कुनै कालखण्डमा असम्भव सपनाहरू नै थिए । असम्भवलाई सम्भव तुल्याउने काम नै विज्ञानको हो, प्रविधिको हो । यो कालखण्डका पनि थुप्रै असम्भव मानिएका कामलाई सम्भव बनाउन सकिन्छ ।
नेपाली प्रविधि र आविष्कारको क्षेत्रमा एउटा मुख्य समस्या छ । त्यो समस्या निकै भयानक र डरलाग्दो छ । हामी प्रायः विकसित मुलुकको नक्कल गर्ने गर्छौ । नेपाली युवाहरूले पनि थुप्रै आविश्कार गरेका छन् । हेलिकप्टर, रोबोट, बम डिफ्युजर आदि प्रविधिको आविश्कारमा यहाँका युवाहरूको रुची छ । तर समस्या के भने यो देशको आवश्यकता हेलिकप्टर, रोबोट वा बम डिफ्युजर होइन । किनभने हाम्रो देशमा यो प्रविधि ‘एफोर्ड’ गर्न सक्ने कोही पनि छैन ।
बेशीमा बग्ने खोलाको पानी माथि डाँडामा पु¥याउन नसकेर हाम्रा खेतबारी बाँझो हुनुपरेको पीडा छ । यस्तो देशका नागरिकले उच्च प्रविधिलाई अंगाल्न सक्दैनन् । यसर्थ हाम्रो प्राथमिक आवश्यकता बेशीमा बग्ने खोलाको पानी माथि डाँडाको खेतमा पु¥याउने प्रविधि हो । हाम्रो आवश्यकता दूरदराजका गाउँलाई देशको अन्य भू–भागसँग सञ्चारको हिसाबले जोड्न सक्ने प्रविधि हो । जब अरुको आवश्यकतालाई हामीले हाम्रो समाजमा उपलब्ध गराउँछौं, तब हाम्रा आइडिया फेल हुन्छन् । त्यो फेलरबाट उत्पन्न निरासाले सिंगो पुस्तालाई निरास बनाउँछ । अब यो पुस्ताले निरासा होइन, हाम्रो समाजलाई नयाँ आसाको सञ्चार गर्नुपर्दछ ।
यो पुस्ताले हाम्रो समाजको आवश्यकतालाई प्रविधिमार्फत् विकास गरेर हाम्रो विकासको गतिलाई क्याटालाइज गर्नुपर्दछ । चाहे त्यो कृषि होस् वा प्रविधि, चाहे स्वास्थ्यको क्षेत्र होस् वा आर्थिक क्षेत्र । नयाँ सोचको खाँचो छ अहिले । अब जुम्लाको स्याउलाई अति उत्कृष्ट जुस बनाउने र त्यसलाई अन्तर्राष्ट्रिय बजारमा बेच्ने प्रविधिको बारेमा सोचौं । दाङको तोरी उत्पादन तथा प्रशोधनको प्रविधिको बारेमा सोचौं । अब तराईको उत्पादनलाई वृद्धि गर्ने प्रविधिको बारेमा सोचौं । पहाड र हिमालका जडीबुटीलाई कसरी मोडर्न मेडिकल साइन्ससँग जोड्ने ? त्यस प्रविधिको बारेमा सोचौं ।
युवा वैज्ञानिकहरूले समाजको आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने हो भने व्यावसायिक सफलतासँगै प्रविधिबाट राष्ट्रले समेत नयाँ युगमा प्रवेश गर्नेछ । यो देशको विकासका लागि लोकल आइडियामा सोच्नुपर्ने बेला भएको छ । अघिल्लो पुस्ताले गर्वमात्रै गरेर बितायो । कहिले बुद्ध हाम्रो देशमा जन्मिएको भनेर गर्व त कहिले सीता र जनकको भूमि नेपाल भनेर गर्व । कहिले अरनिको र भृकुटीको देश भनेर गर्व त कहिले बीर गोर्खालीको देश भनेर गर्व । अब यो पुस्ताले गर्वमात्र होइन, काम गरेर देखाउने बेला भएको छ । यो पुस्ताले पछिल्लो शताब्दीलाई चकित तुल्याउने काम गर्नुपर्ने बेला भएको छ ।
विज्ञान–प्रविधि यो संसारको सबैभन्दा प्रतिष्पर्धा हुने क्षेत्र हो । वैज्ञानिकहरू हरेक दिन आफू–आफूमा प्रतिष्पर्धा गरिरहेका हुन्छन् । प्रतिष्पर्धाको एउटा नियम छ, त्यो हो जित्नुपर्ने । यो संसारका वैज्ञानिकहरूसँग हामीले प्रतिष्पर्धा गर्नुपर्ने छ । हाम्रो प्रतिष्पर्धा आयुर्वेदलाई मोडर्न मेडिकल साइन्समा जोड्ने कुरामा होस् । प्रतिष्पर्धा ग्रामीण गाउँहरूलाई कृषिमार्फत् हरित क्रान्ति गर्ने कुरामा होस् । प्रतिष्पर्धा योगलाई फिजियोथेरापीसँग जोड्ने कुरामा होस् । प्रतिष्पर्धा प्राचिन सुश्रुता संहितालाई मोडर्न सर्जरी साईन्समा जोड्ने कुरामा होस् ।
जब यी कुराहरूमा प्रतिष्पर्धा हुनेछ, हामीलाई कसैले हराउन सक्दैन । विज्ञान र आविश्कारका यी आयामहरूका बारेमा सोच्नलाई अब ढिलो गर्नु हुँदैन । जब हाम्रो खोजको विषयहरूमा यी कुराहरू प्राथमिकतामा पर्छन्, तबमात्रै हाम्रो आविश्कारले हाम्रो समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्नेछ । कल्पना गरौं त मोडर्न मेडिकल साईन्स र आयुर्वेदलाई फ्युजन गरेर सेवा दिने अस्पतालहरू, हाम्रा बञ्जर डाँडाहरूमा सिँचाइले हराभरा बनाउने प्रविधि । यी कुरा सिक्न वा यी सेवा लिन लालायित भएर सिंगो संसार हामीसँग आउनेछ । सफलता र उपलब्धि त्यो हो । त्यसको तयारीका लागि आजैबाट गृहकार्य गर्न थालिहालौं ।

प्रतिक्रिया दिनुहोस्