तरकारी खेतीमा आकर्षित मकैबारीका किसान «

तरकारी खेतीमा आकर्षित मकैबारीका किसान

भीमेश्वर नगरपालिका वडा नं. ७ मकैबारीका किसान चन्द्रबहादुर तमाङले अहिले २५ रोपनी जग्गामा तरकारी खेती गर्छन् ।
तरकारीमा लागेपछि उनले कोदो मकैलगायतका अन्य बाली लगाउन छाडिसके । उनको घर वरपर सबै मौसमी तथा बेमौसमी तरकारी मात्र छन् ।
व्यवसायिक तरकारी खेतीमा लागेपछि अरु सबै खेतीको काम उनले छाडेका छन् । चन्द्रबहादुर र उनका दाजु शेरबहादुर ३० वर्ष अघि २० जनाले सुरु गरेको ताजा तरकारी कृषक समूहबाट तरकारी खेती सुरु गरेका हुन् ।
तमाङ दाजुभाइ जस्तै आजभोली मकैबारीका ६० बढी किसानहरु तरकारी खेतीमा संलग्न छन् । छिमेकीले गरेको सफलतापछि त्यो संख्या बढ्दो क्रममा छ । व्यवसायिक रुपमा काम गर्न थालेपछि आर्थिक हैसियत समेत सुदृढ भएको उनीहरुको भनाइ छ ।
“१५ वर्ष अघिसम्म चरिकोटसम्म पुग्नका लागि खल्तिमा ५ रुपैयाँ बसभाडा हुँदैनथ्यो” शेरबहादुरले कारोबारसँग भने “अहिले हरेक घरमा सवारीको रुपमा मोटरसाइकल छ ।” खुट्टामा लगाउने जुत्ता राम्रो हुँदैनथ्यो अहिले दुई चार हजारको गाउँका कोहीलाई समस्या नहुने उनले बताए । अहिले एक सिजनमा यहाँ किसानले प्रतिरोपनी २५ हजारसम्म कमाउने गरेका छन् । विगतमा वनबाट दाउरा ल्याएर बेच्ने र ज्याला मजदुरी गर्नेहरु तरकारी खेतीमा लागेपछि उल्टै अरुलाई जागिर दिनेसम्म यहाँ किसानहरु भएका छन् ।
व्यावसायिक रुपमा काम गर्न थालेको १५ वर्ष भएको छ । तालिम गोष्ठी, भ्रमण र पत्रपत्रिका पढेर नै उनले धेरै ज्ञान हासिल गरेको बताए । सुरुवा कसैले सापटीसम्म नपत्याउनेमा अहिले व्यावसायिक भएपछि ऋण कति चाहिन्छ भनेर बैंकहरु नै घरमै आउने गरेको बताए ।

किसानहरु आफैं दैनिक रुपमा काठमाडौं कालिमाटीमा ट्रकमा तरकारी लैजाने गरेका छन् । एक्लैको तरकारी ट्रिप नपुगे दुई तीन जनासम्म मिलेर बजारमा पु¥याउने गरेका छन् । मकैबारीबाट दैनिक एक ट्रकदेखि ५ ट्रकसम्म तरकारी काठमाडौं पु¥याउने गरेका छन् । “हाम्रो तरकारीको मुख्य बजार, कालिमाटी काठमाडौं हो, केही चरिकोट र बर्दिबाससम्म पुग्छ” स्थानीय कल्पना राउतले भनिन्, “तरकारी आफैं खेती गछौं, बजार पनि आफैं लैजान्छौं ।” बजारसम्म तरकारी लैजान उनीहरुसँग आफ्नै गाडी छ । त्यो पनि तरकारी बेचेरै किनेको हो ।
मुख्य बजार काठमाडौं भए पनि थोरै मात्र चरिकोट बजार तरकारी पुग्ने गरेको छ । वर्षात्को बेला तराईमा गर्मीले तरकारी नहुने हुँदा तराइका बजारमा समेत मकैबारीको तरकारी पुग्ने गरेको छ । बेमौसमी खेतीमा राम्रो आम्दानी हुने भएपछि उनीहरु बजारमा कुन समयमा कुन तरकारीको माग बढी हुन्छ भनेर उत्पादन गर्ने गरेका छन् । अहिले रायोको साग, आलु र काउली खेतीमा उनीहरु लागेका छन् । तरकारीमा पनि धेरै थरी लगाउत खिचडी हुने भएकाले काउली र रायो साग नै यहाँको विशेषता भएको उनीहरु बताउँछन् । मौसमी समयमा धेरै फाइदा नभएकाले बारी खाली नराख्न मात्र खेती गर्ने गरेको उनीहरु बताउँछन् । तरकारी उत्पादन र बजारसम्म पु¥याउने भएकाले त्यसका लागि चाहिने मल बीऊसमेत काठमाडौंदेखि नै ल्याउने गरेका छन् ।
तरकारी खेतीमा युवाहरु समेत बढी आकर्षित भएका छन् । विदेशबाट फर्केकाहरु पछिल्लो समयमा व्यावसायिक योजनै बनाएर काम गर्न थालेको स्थानीय शिक्षक ध्रुव बस्नेतले बताए । व्यावसायिकरणले स्थानीयको जीवनस्तर राम्रो भएको छ । तरकारी खेती व्यापक रुपमा विस्तार हुँदै गएपछि मकैबारी अब तरकारीबारीमा परिणत हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्