वडाध्यक्षको पारिश्रमिकले विद्यार्थीलाई पाठ्यपुस्तक

गोरखाको सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठले आफ्नो तलब भत्ताको रकमले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक वितरण गरेका छन् । उनले वडाभित्रका पाँच विद्यालयका बाल कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीलाई अंग्रेजी माध्यमको पाठ्यपुस्तक निःशुल्क वितरण गरेका हुन् । सहिद स्मृति मावि, चण्डिका आधारभूत विद्यालय, लखनथापा आधारभूत विद्यालय, खाब्दी प्रावि र मकैपुरका विद्यार्थीलाई दुई लाख ८८ हजार रुपैयाँ बराबरको पाठ्यपुस्तक वितरण गरिएको हो । चण्डिका आधारभूत विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय सभाका विपक्षी दलका नेता सुरेन्द्र पाण्डेले विद्यार्थीलाई किताब हस्तान्तरण गरे ।
नेपाली पाठ्यपुस्तक निःशुल्क पाउने भए पनि अंग्रेजी पाठ्यपुस्तक खरिद गर्दा लाग्ने शुल्क विद्यार्थी र अभिभावकलाई भार नपार्ने उद्देश्यले आफ्नो तलबबाट पुस्तक खरिद गरी वितरण गरेको वडाध्यक्ष श्रेष्ठले बताए । “यसै शैक्षिक सत्रदेखि यी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन हुँदैछ,” उनले भने, “विद्यार्थीलाई सामुदायिक विद्यालयमा आकर्षित गर्न तथा अंग्रेजी भाषा शिक्षणमा सहयोग पु¥याउन मेरो पारिश्रमिक र भत्ताले किताब किनेर दिएको हुँ ।” शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने उनको भनाइ छ । वडाध्यक्षमा निर्वाचित भएपछि हालसम्म पारिश्रमिक वापत प्राप्त तीन लाख ७८ हजार रुपैयाँ तथा भत्ताबाट प्राप्त ८० हजार रुपैयाँ विभिन्न सामाजिक काममा खर्च गरेको उनले जानकारी दिए ।