दोलखाका तीन स्थानीय तहको कार्यालय अझै अस्थायी

दोलखा-पहिलो स्थानीय तह निर्वाचन भएको पाँच वर्ष बितेर दोस्रो निर्वाचनसमेत भएर जनप्रतिनिधिहरू आफ्नो कार्यभार सम्हालिसकेका छन् । पहिलो निर्वाचित जनप्रतिनिधिले प्रशासकीय व्यवस्थापनका कार्यालयसहितका पूर्वाधारका काम धेरैले पूरा गरे । तर दोलखाका तीन गाउँपालिकाको स्थानीय केन्द्र कहाँ रहने भन्ने नै टुङ्गोमा पुग्न नसक्दा कार्यालय भवन निर्माणसमेत हुन सकेको छैन । लामो समयदेखि तीन स्थानीय तहको कार्यालय अस्थायी रूपमै सञ्चालन हुँदै आएको छ ।
पहिलो निर्वाचित जनप्रतिनिधिले निर्वाचन भएको ६ महिनाभित्र स्थायी केन्द्र तोक्न सामान्य बहुमतबाट तोक्न पाउने कानुनी अधिकार हुँदाहुँदै त्यसलाई बेवास्ता गर्दा दोलखाका कालिञ्चोक, तामाकोसी र मेलुङ गाउँपालिकाले आफ्नो स्थायी केन्द्र नै नतोकी जनप्रतिनिधिले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरे । पहिलेका जनप्रतिनिधिले केन्द्र नतोक्दा दोस्र्रो पटक निर्वाचित जनप्रतिनिधिलाई पनि केन्द्र तोक्ने पुरानै समस्या कायम छ ।
केन्द्रको विषयमा कालिञ्चोक गाउँपालिकामा केही समय दुई ठाउँ कार्यालय रहे । अस्थायी तोकिएको ठाउँ वडा नं. ८ सुनखानीबाट तीन वर्षअघि वडा नं. ५ बन्देथलीमा केही जनप्रतिनिधिले राती नै कार्यालयका सामान लगेर कार्यालय स्थापना गरे । यसले तत्कालीन अध्यक्ष विनकुमार थामी र उपाध्यक्ष कालिका पाठक बीच लामो समय बोलचालै हरायो । दुई वर्ष यसको असर गाउँपालिकाको विकास निर्माण र निर्णय प्रक्रियामा समेत पर्दा कार्यपालिका बैठकसमेत बस्न सकेन ।
कालिञ्चोक गाउँपालिकाको कार्यालय अहिले पनि सुनखानी स्वास्थ्य चौकी कार्यालयबाटै सञ्चालन हुँदै आएको छ । अघिल्लो पटक एमालेबाट निर्वाचित जनप्रतिनिधिले केन्द्र टुङ्गोमा पु-याउन नसकेको भन्दै भर्खरै सम्पन्न निर्माणको मुख्य मुद्दा पनि केन्द्र विवाद सुल्झाउने विषय उठ्यो । अहिले कांग्रेस, माओवादी र समाजवादीको गठबन्धनले निर्वाचन जितेको छ । अब प्रक्रियामा गएर भए पनि चाँडै केन्द्र टुङ्गो लगाएर स्थायी संरचना बनाउने कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले बताए । “विवाद छ भनेर कामै नगरी बस्नेत कुरा भएन बजेट तयारीको काम सकिने बित्तिकै स्थायी केन्द्रको टुङ्गो लगाउँछौं,” उनले भने, “सकेसम्म सहमतिका आधारमा नभएपछि प्रक्रियामा गएर स्थायी केन्द्र टुङ्गो लगाएर स्थायी संरचना बनाउन सुरु गर्छौं ।”
तामाकोसी गाउँपालिकाको कार्यालय पनि अहिले जफे स्वास्थ्य चौकीको पुरानै भवनबाट अस्थायी कार्यालय सञ्चालन हुँदै आएको छ । सानो भवनबाट कार्यालय सञ्चालन हुँदा गाउँपालिकाको विषयगत कार्यालय सञ्चालनमा पनि समस्या छ । यहाँ वडा नं. २ जफे र वडा नं. ४ मालुडाँडा कहाँ राख्ने भन्ने विवाद छ ।
तामाकोसीमा पनि केन्द्र विवादले अन्य काम प्रभावित हुने भएपछि पछिल्ला बैठकमा यो विषय बैठकमै नआइ पाँच वर्षे कार्यकाल सकियो । नवनिर्वाचित जनप्रतिनिधि राजनैतिक सहमति वा प्रक्रियाबाटै तत्कालै केन्द्र टुङ्गो लगाउने गरी छलफल थालिसकेको अध्यक्ष प्रोणप्रताप केसीले बताए । तर प्रस्तावित जफेको मानेडाँडा र मालुडाँडाको दूरी दुई किलोमिटर मात्र टाढा छ । जग्गा किन्न पनि नपाउने र सार्वजनिक जग्गा प्रयोग गर्न पनि नपाउने भएकाले जहाँ जग्गा मिल्छ त्यही ठाउँमा राजनैतिक सहमति गरेर केन्द्र निर्धारण गरिने उनले बताए ।
कालिञ्चोक र तामाकोसीको जस्तो समस्या मेलुङ गाउँपालिकामा छैन । अहिले वडा नं. ४ को जोरधारमा एक निजी घरबाट कार्यपालिकाको कार्यालय सञ्चालन छ । यहाँ अध्यक्षको कार्यालय छ भने सोही वडाको त्यहाँभन्दा दुई किलोमिटर टाढा पोखरीबाट प्रमुख प्रशासकीय अधिकृतसहितको कार्यालय सञ्चालनमा छ ।
यहाँ एउटै वडाभित्र पनि ठाउँ विवाद निस्कने भन्दै पाँच वर्षसम्म कार्यपालिका बैठकमै प्रस्तावले औपचारिक रूपमा प्रवेशै नपाई कार्यकाल सकियो । नवनिर्वाचित जनप्रतिनिधिहरू अब चाँडै अहिले सञ्चालित कार्यालय आसपासकै क्षेत्रमा स्थायी केन्द्र तोकेर स्थायी संरचना निर्माण थाल्ने योजनामा छन् । तर अहिले कार्यालय रहेको साविक भेड्पू गाविस नै अहिलेसम्म नापी नभएकाले कानुनी समस्या समाधान गर्नुपर्ने अवस्था छ । अध्यक्ष हिरा थोकरले अहिले भइरहेकै आसपासमा जग्गा व्यवस्थापन गरेर कार्यालय भवन निर्माण सुरु गर्ने बताए ।
स्थानीय तहलाई तीन तहको सरकारको जनताको सबैभन्दा नजिकको सरकार मानिन्छ । सरकारकै स्थायी केन्द्र र कार्यालय नहुँदा सेवा प्रवाह र सेवा लिन समस्या हुन्छ । नयाँ निर्वाचित जनप्रतिनिधिले पनि विभिन्न बहानामा स्थायी केन्द्र तोक्न ढिला नगरी काम गर्नुपर्ने अवस्था छ ।