निकासी नहुँदा करोडौंको अदुवा थन्कियो

तेह्रथुम-पहाडी जिल्ला तेह्रथुममा उत्पादित अदुवा निकासी नभएर त्यतिकै थन्किएको छ । निकासी ठप्प भएपछि यहाँका व्यापारीले संकलन गरेको अदुवा गोदाममा र किसानको बारीमै थन्किएको हो । बिर्तामोडबाट भारततर्फ निकासी हुने अदुवा केही दिनयता निकासी हुन छाडेपछि जिल्लाका गाउँगाउँबाट संकलन भएको अदुवा व्यापारीहरूले अटेसम्म गोदाममा र नअटेको सडकपेटीमै थन्काएका छन् ।
चार दिनयता निकासी हुन बाँकी रहेको करोडौँ रुपैयाँको अदुवा सदरमुकामको म्याङलुङ बसपार्क नजिकै सडकमै राखिएको छ । निकासी ठप्प भएपछि जिल्लाबाट समेत अदुवा लिएर जान नपाएको व्यापारी अमृत निङ्लेकुले बताए । उनले भने, “भन्सारमा अदुवा छिराउन पाइएकै छैन, त्यसैले यहाँ हामीले संकलन गरेको अदुवा त्यतिकै थन्किएको हो ।”
आफूसँग भएका सवै गोदाम भरिएर बाँकी रहेको अदुवा सडकमै भए पनि थुपारेर राख्नुपरेको उनले बताए । व्यापारी निङ्लेकुले सिंहवाहिनी अलैंची, अदुवा तथा जडीबुटी संकलन केन्द्रबाट समेत अदुवा, अलैंचीको संकलन गरी कारोबार गर्छन् । सातायता मात्र अदुवा निकासी ठप्प हुँदा जिल्लामा करोडौंको अदुवा त्यतिकै थन्किएर बसेको उनले बताए ।
“अदुवा निकासी रोकिएपछि कारोबार ठप्प छ, हामीले गाउँबाट समेत माल उठाउन पाएका छैनौं,” उनले भने । किसानले व्यापारीले लैजाने भनेपछि खनेर तयार पारेका अदुवा बोरा गाउँ–गाउँमा पुगेका कृषि सडकका डिलमा त्यतिकै लडिरहेका छन् । खनेपछि अदुवा बिग्रिने भएकाले किसानलाई चिन्ताले सताउन थालेको छ भने व्यापारी पनि लगानी डुब्ने त्रासमा छन् । सडक पुगेपछि गाउँका किसानले बारीबाट खनेर तयार गरेको अदुवा व्यापारीलाई पठाउन सडक पेटीमा निकालेका छन् । अब ती सडकबाट व्यापारीले काँटा गरेर किसानबाट अदुवा खरिद गर्छन् । तर अदुवा निकासी ठप्प भएपछि नआउने हुन् कि भन्ने चिन्ताले सताएको म्याङलुङ नगरपालिका–८, आम्बुङकी कोमलमाया लिम्बुले बताइन् ।
“अदुवा खनेर रोडमा निकालियो, तर उता जानै छाड्यो रे, त्यसैले व्यापारीले लगेका छैनन्,” उनी भन्छिन्, “अदुवा राख्दा–राख्दै बिग्रिने हो कि भन्ने चिन्ता छ ।” अदुवा भन्डारणका लागि उपयुक्त स्थान नहुँदा किसानबाट किनेको अदुवा सडक पेटीमा राख्नु परेको व्यापारी दुर्गा भण्डारीले बताए ।
“अदुवा निकासी ठप्प छ, अहिले यताबाट लगेको अदुवा कसैले लिँदैन,” उनी भन्छन्, “निकासी ठप्प भएपछि गाउँमा लोड भएका गाडी यहाँ ल्याएर खाली गर्नुपर्छ, भण्डारण गर्ने ठाउँ छैन, त्यसैले सडकमै राख्नु परेको छ ।” सडक पेटीमा अदुवा थुपारेर राख्नुपर्दा आफुहरूलाई दैनिक हजारौँ रूपैयाँ घाटा रहेको उनले बताए । अदुवाका बोरा काटेर अदुवा चोरी समेत हुने गरेको छ ।
गाउँमा भने अदुवाका बोरा खुला ठाउँमा राखेपछि चोरी हुँदैन । “गाउँमा अदुवा चो¥यो भने सन्तान प्राप्ति नहुने किंवदन्ती छ, त्यसैले अदुवा कसैले चोर्दैन,” उनले भने, “तर बजारमा चाहिँ दैनिक ५ केजी बढी अदुवा हराउँछ ।” बसपार्क नजिकै थुपारिएको करोडौँको अदुवाबाट दैनिक ५–७ केजी बढी अदुवा नास भएर गइरहेको व्यापारीहरूले बताए ।
बारीमा खनेर निकालेपछि धेरै दिन राख्दै जाँदा अदुवाको तौल पनि घट्ने गरेको छ । खनेर बोरामा थन्काएको अदुवाको तौल घट्ने र कम मात्रै आम्दानी हुने किसानलाई चिन्ता छ । व्यापारी पनि किसानबाट किनेको अदुवा किनेको भन्दा धेरै तौल कम भइदिएला कि ? भन्ने पीरमा छन् । यसरी धेरै समय खुला ठाउँमा भण्डारण गरेर राख्नुपर्दा १० प्रतिशत तौल कम हुने व्यापारी बताउँछन् ।
“अदुवा भण्डारणका लागि कोल्ड स्टोर चाहिन्छ, तर हामी कहाँ त्यस्तो सुविधा छैन,” व्यापारी भण्डारीले भने, “त्यसैले किनेर दुई दिनमात्रै खृुला ठाउँमा राखेपनि १० प्रतिशत बढी घाटा हामीले बेहोर्नुपर्छ ।” अदुवा समयमै बिक्री गर्न नसके त्यही उम्रिने समेत उनले बताए । जिल्लाका बजारहरूमा अहिले अदुवा प्रति केजी १८ देखि २० रुपैयाँका दरले कारोबार भइरहेको छ ।
विगतभन्दा खेतीको क्षेत्रफल र उत्पादन झण्डै दोब्बरले बढेपनि मूल्य नबढेपछि किसान अदुवा खेतीप्रति निराश छन् । बर्सेनि अदुवाको मूल्य र बजारमा समस्या देखिन थालेपछि किसानहरू यसप्रति निराश बन्दै गएका आठराई गाउँपालिका–५, छातेढुंगाको भित्रिया अदुवा उत्पादक कृषक समुहका अध्यक्ष सोमनाथ आचार्यले बताए । किसानले अदुवा खेतीको विकल्पसमेत खोज्न थालेका उनले बताए । गतवर्ष जिल्लामा २ सय ६० हेक्टर क्षेत्रफलमा भएको अदुवा खेतीबाट ३ हजार ९ सय ५२ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । नेपालमा उत्पादित अदुवाको मुख्य बजार भारत हो । अदुवा किसानका मागलाई सरकारले सम्बोधन गर्न नचाहेका कारण यसको खेतीप्रति किसान निराश हुनु परेको अदुवा व्यवसायीको भनाइ छ ।
अदुवा किसानमा प्राविधिक ज्ञान सीपको कमी रहेको फेदाप गाउँपालिका–३, जलजलेका किसान तुलसी कोइरालाले बताए । उनले भने, “किसानलाई खेती प्रविधिको ज्ञान छैन, कृषि कार्यालयले पनि धान खेतीका विशेषज्ञलाई अदुवा खेतीबारे काम गर्न पठाउँछ ।” अदुवा खेतीकै लागि बैंकले ऋण नदिने, अदुवा खेतिको बिमाको व्यवस्था नहुनु, बजार अनिश्चित हुनु, अदुवा किसानप्रति सरकार अनुदार देखिनु, कृषि क्षेत्रप्रति स्थानीय सरकारहरू पनि प्रतिकुल हुनुजस्ता समस्याका कारण खेतीबाटै विस्थापित हुने अवस्था आएको किसानले गुनासो गरेका छन् ।
प्रकाश पाक्साँवा