Logo

राष्ट्रिय संस्कृतिको स्वरूप लोकसांस्कृतिक, धार्मिक एकतामा समाहित भएर गोसाइँकुण्ड क्षेत्रले नेपाली माटोको सुगन्ध बोकेर साँच्चै नै परम्परा बचाएको पाइन्छ ।

धार्मिक एवं पर्यटकीय धरोहर : गोसाइँकुण्ड

रसुवा जिल्ला एक धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेको पाइन्छ । यस जिल्लामा उत्तरगया, कालिका, गोसाइँकुण्ड, नौकुण्ड र पार्वतीकुण्ड गरी पाँचवटै गाउँपालिकाको नाम धार्मिक रूपबाटै रहेको पाइन्छ । सबै गाउँपालिकाको आफ्नो आफ्नो धार्मिक तथा पर्यटकीय विशेषता रहेको पाइन्छ । यहाँ मुख्य गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्डको बढी विवेचना गर्ने प्रयास गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड रामसार सूचीमा समेत पर्छ । समुद्र मन्थनबाट उत्पन्न कालकुट विषको डाहा शान्त पार्न हिमालय खण्डमा आई महादेवले आफ्नो हातमा भएको त्रिशूलले पहरो खोपी पहरोबाट गंगाजल (त्रिशूलधारा) उत्पन्न भएपछि कुण्डमा शयन गरी चिसो पानीद्वारा विषको डाहा शान्त पारेको हुँदा गोसाइँकुण्डमा त्रिशूलधाराको पानी गोसाइँ महादेवलाई सिञ्चन गर्ने गरेको विभिन्न शिलालेखबाट प्रमाणित हुन्छ । यसै क्रममा महादेव भगवान्समेतले यस्तै कार्य गोरखाको दूधपोखरी, नारद पोखरी तथा अन्य स्थानमा समेत गरेको कुरा फेला परेको छ । महादेवले समेत स्नान गरेको यी उल्लिखित गोसाइँकुण्ड, दूधपोखरी, नारद पोखरी, पवित्र जलमा हामी सबैलाई स्नानको चाहना हुनु स्वाभाविकै हो । यी धार्मिक, सांस्कृतिक एवं पर्यटकीय केन्द्रमा विशेष मेला वर्षको दुईचोटि दशहरा र जनैपूर्णिमाको अवसरमा लाग्छ । यो बेलामा अन्य समयभन्दा अधिक भीड हुन्छ ।
लमजुङ र गोरखाको बीचमा बग्ने चेपे नदीको उद्गम स्थान दूधपोखरी र गोरखाको नै दरौदी नदीको उद्गम स्थान नारद पोखरी हो । यस लेखमा विशेष गरी गोसाइँकुण्डको चर्चा गर्ने जमर्को गरिन्छ । त्रिशूली नदीको उद्गम स्थान त्रिशूलधारा गोसाइँकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, आमाकुण्डलगायत १ सय ८ कुण्डहरू, अमरसिंह गुफालगायतका ऐतिहासिक, भौगोलिक, धार्मिक तथा प्राकृतिक महत्वले यो क्षेत्र धनी छ । जैविक विविधताले धनी यस क्षेत्रको वन, वनस्पति, वन्यजन्तु, चराचुरुङ्गी, पुतली, जडीबुटी, गुम्बा, धार्मिक स्थान, तामाङ तथा हेल्मो संस्कृति, वेशभूषा र ज्ञानगुनका कुराहरू जानकारी पाउन सक्ने भएकाले साथै यी कुण्डहरूमा स्नान गरी महादेवको दर्शन गर्नाले पितृ मोक्ष हुनुका साथै स्वयम् पनि पवित्र हुने भनाइ छ । यी क्षेत्रहरूले राष्ट्रिय संस्कृतिहरूको स्वरूप लिन यहाँको धार्मिक, लोकसंस्कृतिको एकतामा समाहित भएर नेपाली माटोलाई सुगन्ध बोकेर परम्परा बचाएको छ । आफ्नो मैलिकता जातीय पहिचान सिर्जिएका लोकसांस्कृतिक नाचगानले यस समाजको पृष्ठभूमिमा सिर्जित लोकसंस्कृतिको मुख्य थान लिएको पाइन्छ । यसै बहुरीतिरिवाज, चालचलन, रहनसहन, वेशभूषा, बोलीवचन, साइनो, अभिवादन, धर्मकर्म, लोकपरम्परा, कलाकौशल, लोकसाहित्य, धार्मिक संस्कृति र तिनको दैनिक उपभोग्य सामानको प्रयोगमा माझिएको हिमाली जीवनशैली यहाँको र राष्ट्रकै सम्पत्ति हुन् । यहाँका कुण्डहरू राष्ट्रिय धरोहरका रूपमा रहेका छन्, जुन सधैं जीवन्त रहनेछन् ।
गोसाइँकुण्डमा पानीको आयतन १४ लाख ७२ हजार क्युबिक मिटर रहेको छ भने भैरव कुण्डमा ४६ लाख ६० हजार क्युबिक मिटर पानी रहेको छ । गोसाइँकुण्डबाट प्रतिसेकेण्ड ६० लिटर पानी बग्छ भने प्रतिसेकेन्ड ३५ लिटर पानी त्रिशूल धारा र अन्य स्रोतबाट भित्रिन्छ । भैरवकुण्डबाट प्रतिसेकेण्ड ७५ लिटर पानी तल झर्छ । अपार धार्मिक जलभण्डारको प्रतिविम्ब हो गोसाइँकुण्ड । किनकि वेदमा पानीको प्रयोग सम्बन्धमा थुप्रै स्थानमा उल्लेख गरिएको छ । नेपालमा जम्मा २ सय २५ अर्ब घनमिटर अर्थात् २२ सय ५० अर्ब लिटर पानीको स्रोत रहेको र केवल १ सय ५० अर्ब लिटर पानी मात्र सामाजिक र आर्थिक क्रियाकलापमा उपयोेग हुन्छ । यी तथ्यले पनि गोसाइँकुण्ड प्राणी/वनस्पति सबैका लागि अचुक जलधाराकोे भण्डार हो भन्नुमा कुनै अत्युक्ति नहोला ।
गोसाइँकुण्ड क्षेत्रमा १ सयभन्दा बढी प्रजातिको वनस्पति पाइन्छ । विश्व संरक्षण खतराको सूचीमा परेको वनस्पतिहरूमा कुट्की, जटामसी, क्षेतरे, सर्मागुरु, विष, अमुत, धोपजडी, खिलदार, पदमचाल पाइन्छ भने रैथाने प्रजातिका वनस्पतिहरूमा मेकोनोपासिस धोजी, मेकोनोपासिस टेलारी, हेरा, किल्यम, प्रिमुला, औरेटा, पेडिकोलासिस, सिउडोरेजिलिएना, रोडोडेन्डो, कायनियन पाइन्छ । त्यस्तै प्रमुख जङ्गली जनावरमा डाँफे, कस्तूरी मृग काँडे भ्याकुर आदि यहाँ पाइन्छ । वास्तविक रूपमा गोसाइँकुण्ड क्षेत्र धार्मिक, सांस्कृतिक, पर्यटकीय, हिमाली क्षेत्रकै उत्तम क्षेत्र हो । यो क्षेत्रमा धार्मिक, सांस्कृतिक, पर्यटकीय भ्रमण गर्न अति आवश्यक छ । यहाँ कसरी सरल तरिकाबाट पुग्ने, यसबारे यहाँ चर्चा गर्नु सान्दर्भिक ठान्छु । गोसाइँकुण्डमा पुग्नका लागि रसुवा, नुवाकोट र सिन्धुपाल्चोक भएर तीनतिरबाट पुग्न सकिन्छ । काठमाडौंबाट १ सय १७ किमि झन्डै ६ घण्टाजति बसमा यात्रा गरी धुन्चेमा बास बसेर भोलिपल्ट सजिलै चन्दनबारी पुग्न सकिन्छ । तेस्रो दिन लैरीबिनायक र अर्को दिन त गोसाइँकुण्ड पुग्न सकिन्छ । अब यहाँ धुन्चे, सिन्धुपाल्चोक र सुन्दरीजलबाट गोसाइँकुण्ड जाने धार्मिक एवं पर्यटक महानुभावलाई ठाउँ, दूरी आदिका बारेमा चर्चा गरिन्छ ।
धुन्चेबाट गोसाइँकुण्ड : यस धुन्चेबाट गोसाइँकुण्ड जाँदा धुन्चे घट्टेखोला १ घण्टा (१५ सय ५० मिटर उचाइ), घट्टेखोला, देउराली २ घण्टा (२६ सय मिटर), देउराली ढिस्मा १ घण्टा (३ हजार मिटर), ढिस्मा चन्दनबारी १ घण्टा (३३ सय ५० मिटर), चन्दनबारी चोलाङपाटी डेढ घण्टा (३५ सय ५० मिटर), चोलाङपाटी लौरीबिना डेढ घण्टा (३९ सय मिटर), लौरीबिना बुद्ध मन्दिर डेढ घण्टा (४२ सय मिटर), बुद्ध मन्दिर गोसाइँकुण्ड डेढ घण्टा (४३ सय ८० मिटर) ।
सिन्धुपाल्चोक तर्फबाट : काठमाडौं मेलम्चीपुल ४ घण्टा बस, मेलम्ची पुल तारामाराङ १ घण्टा बस, तारामाराङ कुटुमसाङ ६ घण्टा पैदल, कुटुमसाङ मागिनगोठ ३ घण्टा पैदल, मागिनगोठ ठाडेपाटी १ घण्टा पैदल, ठाडेपाटी ठूलो घोप्टे २ घण्टा पैदल, ठूलो घोप्टे फेदी २ घण्टा पैदल, फेदी ऐथाङ २ घण्टा पैदल, ऐथाङ सूर्यकुण्ड २ घण्टा पैदल, सूर्यकुण्ड गोसाइँकुण्ड १ घण्टा पैदल ।
सुन्दरीजल तर्फबाट : बौद्ध सुन्दरीजल १ घण्टा बस, सुन्दरीजल चिसो पानी ३ घण्टा पैदल, चिसो पानी पाटी भन्ज्याङ १ घण्टा पैदल, पाटी भन्ज्याङ चिपलिङ २ घण्टा पैदल, चिपलिङ गुल्फु भन्ज्याङ डेढ घण्टा पैदल, गुल्फु भन्ज्याङ कुटुमसाङ २ घण्टा पैदल, कुटुमसाङ मागिनगोठ ३ घण्टा पैदल, मागिनगोठ/ठाडे पाटी १ घण्टा पैदल, ठाडे पाटी/ठूलो घोप्टे २ घण्टा पैदल, ठूलो घोप्टे फेदी २ घण्टा पैदल, फेदी/ऐथाङ २ घण्टा पैदल, ऐथाङ सूर्यकुण्ड २ घण्टा पैदल, सूर्यकुण्ड गोसाइँकुण्ड १ घण्टा पैदल ।
यी माथि उल्लिखित यात्रा दूरी आफ्नो हिँड्ने दूरी शारीरिक तन्दुरुस्तीअनुसार घटीबढी हुन सक्ने कुरा जानकारी गरिन्छ । साथै हाल यहाँ पुग्नका लागि काठमाडौँबाट हेलिकप्टर सेवा पनि रहेकाले यात्रा सहज बनाएको छ । गोसाइँकुण्ड उच्च क्षेत्रमा भएकाले लेक लाग्न सक्ने हुन्छ । अतः त्यहाँ जान सावधानी अपनाउनु आवश्यक छ । गोसाइँकुण्ड जाँदा लेक लागेमा जतिसक्दो कम उचाइतर्फ ओर्लनुपर्छ ।
लेक लाग्नुका लक्षणहरू : टाउको दुख्नु, खान मन नलाग्नु, आराम गरेको बेला श्वास फेर्न गाह्रो, बान्ता हुनु, शरीर सन्तुलन गर्न गाह्रो हुनु, बेहोस हुनु आदि हुन सक्छ । अतः यी भएमा निम्न सावधानीहरू तुरुन्त अपनाउनुपर्ने हुन्छ : बिस्तारे आराम गरी हिँड्ने, दैनिक तीन–चार लिटर पानी पिउने, जबरजस्ती माथि नजाने, तल झर्ने, चिसो भएमा न्यानो कपडा लगाउने, खाली पेट नहिँड्ने, धूम्रपान, मद्यपान नगर्ने, सम्भव भए स्वास्थ्यकर्मीसँग समन्वय गर्ने । गोसाइँकुण्डको यात्रा गर्दा यात्रुहरूले निम्न सामानहरू लैजाँदा सुविधा हुन्छ : हलुका खाना व्यवस्था, स्लिपिङ ब्याग, न्यानो लुगा, पानीको तुम्लेट, बर्सादी एवं छाता, लठ्ठी, आवश्यक औषधिको व्यवस्था गरेमा यात्रा सफल र सुविधाजनक तथा आनन्दमय हुन्छ ।
अन्त्यमा, गोसाइँकुण्ड क्षेत्रको दृश्यको सौन्दर्य स्वरूपले जो कोही पनि मुग्ध हुनु स्वाभाविकै हो । राष्ट्रिय संस्कृतिको स्वरूप लोकसांस्कृतिक, धार्मिक एकतामा समाहित भएर गोसाइँकुण्ड क्षेत्रले नेपाली माटोको सुगन्ध बोकेर साँच्चै नै परम्परा बचाएको पाइन्छ । आफ्नो मौलिक जातीय पहिचानको परिचयको रसास्वादन गर्न तपाइँ–हामी गोसाइँकुण्ड क्षेत्रको भ्रमण गर्नु आजको आवश्यकता हो । यस गोसाइँकुण्ड क्षेत्रबाट हिमाली दृश्यको सौन्दर्यपान गर्दै धार्मिक एवं पर्यटकीय धरोहर विकासका लागि विभिन्न प्रकारका कार्यक्रमहरू गरी नेपाल सरकारले धार्मिक एवं पर्यटकीय विकास ल्याउन सके अर्थतन्त्रमा दरिलो टेवा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्