Logo

नेपालमा आफ्ना उत्पादन प्रवद्र्धन गर्न ताइवानी उत्साहित

ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा आएको व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यवसायीबीच उच्चस्तरीय अन्तक्रिया सम्पन्न भएको छ । ताइवानका प्रतिष्ठित उत्पादक तथा सप्लायरहरू सम्मिलित सो प्रतिनिधिमण्डलले नेपाली व्यवसायीहरूसँग भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तक्र्रिया गरेको हो । काउन्सिलको नेतृत्वमा नेपाल आएको सात सदस्यीय प्रतिनिधिमण्डलले नेपालमा आफ्नो उत्पादनको बिक्री तथा प्रवद्र्धन गर्न उत्साहित भएको बताएको छ ।
कार्यक्रममा एक सयभन्दा बढी नेपाली व्यापारी तथा खरिदकर्ता सो अन्तर्कियामा सहभागी भएको नेपालका लागि सम्पर्क व्यक्ति दर्शन न्यौपानेले बताए । उनले प्रतिनिधिमण्डलसँगको भेटघाट कार्यक्रममा सौर्य ऊर्जा प्रणाली, बेकरी मेसिन, खाद्यपदार्थ तथा जुस, स्टिलपाता तथा कोइला, एलइडी बत्ती तथा संख्यात्मक डिस्प्ले, सिसीटिभी क्यामरा उपकरण, फेस मास्क, ह्यान्ड टुल, निर्माण टुल र अन्य उत्पादनका विषयमा छलफल भएको जानकारी दिए ।
न्यौपानेले ताइवानका व्यापारीले दक्षिण एसियामा आफ्नो उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल, भारत र बंगलादेशमा यस प्रकारको व्यापारिक अन्तक्र्रिया गर्दै आएको बताए । उनले यसरी नेपाल आएका ताइवानी व्यापारीले नेपाली व्यापारीसँगको भेटघाटमा यसपटक सात थरिका विभिन्न उत्पादनको प्रवद्र्धन गरेको जानकारी दिए ।
नेपाली व्यवसायीका लागि ताइवानी उत्पादक तथा सप्लायरसँग अन्तक्र्रिया कार्यक्रममार्फत नेपाल र ताइवानबीच व्यापारिक सम्बन्ध भविष्यमा अझ प्रगाढ र दिगो हुने न्यौपानले बताए । उनले नेपाली व्यवसायीसँग प्रत्यक्ष भेटघाट गरी व्यापार विस्तारको सम्भावनाबारे अन्तक्र्रिया अत्यन्तै फलदायी भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्