सिन्धुलीमा ५० लाख लागतमा जर्बुट्टा कला केन्द्र निर्माण सुरू «

सिन्धुलीमा ५० लाख लागतमा जर्बुट्टा कला केन्द्र निर्माण सुरू


सिन्धुली-सिन्धुलीको कमलामाई नगरपालिका ४ ढकालगाउँमा झण्डै ५० लाख लागतमा जर्बुट्टा कला केन्द्र निर्माण सुरु भएको छ ।
बागमती प्रदेशको ४९ लाख ९९ हजार लागतमा जबुट्टा कला केन्द्रको भवन निर्माण सम्पन्न हुने छ । केहि दिन अगाडिबाट जर्बुट्टा केन्द्रको भवन निर्माण कार्य सुरुभएको जर्बुट्टा कलाका सर्जक विशम्बर लामिछानेले बताए । यहि जेठभित्र भवन निर्माण हुनेछ । लामिछानेले जर्बुट्टा केन्द्रको भवन निर्माणका लागि ४० लाख बराबरको जग्गा हस्तान्तरण गरेका थिए ।
जर्बुट्टा कला केन्द्रमा जर्बुट्टासँग सम्बन्धीत विभिन्न कला हेर्न सकिने छ । नेपालमै पहिलो पटक जर्बुट्टाकला बनाउने आफू रहेको बताउँदै उनले आफैले निर्माण गरेको जर्बुट्टाकला उक्त केन्द्रमा राखिने बताए । आफुले बनाएको जर्बुट्टा कला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चाको विषय बनेको र राष्ट्रले नै सम्पत्ति साथै दुलर्भ हुने डरमा जर्बुट्टाकलालाई व्यवस्थित बनाउन बजेट विनियोजन गरेको उनको भनाइ छ । निर्माण हुने कला केन्द्रको भवन भने कला संग्राहलय जस्तो नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
“प्रदेश सरकारले बजेट त विनियोजन ग-यो । तर भवन निर्माणका लागि उहाँहरुले नै स्टमेट गर्दिनुभयो । हामीलाई भवन निर्माणको लागि सबै अधिकार प्रदान गरेको भए, कलात्मक किसिमको मठमन्दिर, संग्राहालयलगायत थुपै्र कुराको अनुभव हामीसँग पनि थियो । त्यस्तै किसिमको संग्राहलय निर्माण गर्ने थियौं । तर त्यो मौका हामीलाई दिइएन्” उनले भने ।
निर्माण भइरहेको कला केन्द्रको भवनमा आफ्नो जर्बुट्टाकला व्यवस्थित नहुने उनको भनाइ छ । भवन निर्माण सम्पन्न भएपनि भवनभित्र जर्बुट्टाकला राख्ने व्यवस्थित स्थान नभएसम्म आफ्नो कलालाई उक्त भवनमा नराख्ने उनको अडान छ । “कला केन्द्रको भवन निर्माण सम्पन्न हुने वित्तिकै म मेरो कलालाई त्यहाँ राख्न दिन्न् । भवनभित्र जर्बुट्टा कला राख्न व्यवस्थित स्थान निर्माण भएपछि मात्र कला राखिने छ” उनले भने ।

लामिछानेले कसरी सुरु गरे जर्बुट्टाकला
कमलामाई नगरपालिका वडा नम्बर ४ ढकालगाउँका विशम्बर लामिछानेको घरमा पुग्दा सयौं जर्बुट्टा कला देख्न सकिन्छ । वि.सं.२०४८ सालमा आफ्नो घर जाने मोटर बाटो खन्दा भेटिएको जरालाई अरुले काम नलाग्ने देखे पनि लामिछानेले भने जरायोको सिङ जस्तै देखे । त्यसलाई काँटछाँट र रंग रोगन गरेर जरायोको सिङ जस्तै आकृति दिए । त्यसपछि आफूले जर्बुट्टा कलालाई निरन्तरता दिएको लामिछाने सुनाए ।
कलाकारिताको क्षेत्रमा ढलौड, सुन, चाँदीका मूर्तिहरु, विभिन्न सामाग्रीको प्रयोग गरी अनेकौ कला बने पनि रुखको जराबाट भने पहिलो पटक आफूले नै जर्बुट्टाकला बनाएको लामिछाने दावी गर्छन् । कलाको क्षेत्रमा नयाँ आयम थप्नका लागि जर्बुटा कलालाई निरन्तरता दिएको लामिछाने बताउँछन् । नेपालमा मात्र हैन विश्वमा समेत एउटै व्यक्तिले अडाई तीन सय वटा जर्बुटा कला सञ्चालन गरेको छ भन्नेमा आफूलाई विश्वास नलाग्ने उनले बताए ।
अधिकांशले आफ्नो कलाको माध्यमबाट जिविको–पार्जन गरिरहे पनि लामिछाने भने आफू रहेसम्म जर्बुट्टा कला बिक्री नगर्ने बताए । यो कलामा एक पिस कला बनिसकेपछि अर्को पिस कला बन्नै नसक्ने लामिछाने बताउँछन् । त्यसैले यसलाई पुस्तान्तरण गर्न नसकिने उनको भनाइ छ ।
लामिछाने भने,“ यो कलामा अर्कोलाई सिकाउन सकिने अवस्था नहुने रहेछ । दिमाखले नै कला देख्नुपर्छ, अन्यथा मैले कला देखेको जरालाई अरुले काम नलाग्ने दाउरा मात्र देख्छन् भने उनीहरुलाई कला देख्नै पर्छ भनेर सिकाउन नसकिने रहेछ ।” लामिछानेद्वारा निर्मित जर्बुटा कला संग्राहलयको ३७ देशका ३३ लाख भन्दा बढि पर्यटकले अवलोकन गरिसकेको उनले बताए ।
लामिछाने आफ्नो शेख पछि जर्बुटा कला संग्राहलय सरकारलाई सुम्पने र त्यसको सरकारले संरक्षण गर्नुपर्ने धारणा राखे । पेशाले कानुन व्यवसायी समेत रहेका लामिछानेले निर्माण गरेको जबुट्टा कला संग्राहलयमा बुद्धको जन्म, नारी बन्धन र मुक्ति, पासाङ ल्हामू र तेञ्जिङ नोर्केले हिमाल चढेको, हामी एक हौं, नेपालको राष्ट्रिय चरा डाँफे, आदि मानव, पृथ्वीनारायण शाह जस्तै देखिने आकृति लगाएतका अन्य धेरै जर्बुट्टा कला देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्