जनप्रतिनिधिको टोली भारत भ्रमणमा गाउँपालिकाको ११ लाख रकम स्वाहा

संघीयता अवलोकन अध्ययन भ्रमणको नाममा गुठीचौर गाउँपालिकाको २७ सदस्यीय जम्बो टोली भारत भ्रमण गएको छ । सरकारी पैसाको दुरुपयोग गर्दै गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीको नेतृत्वमा सरकारी कर्मचारीसहितको जनप्रतिनिधिको जम्बो टोली भारत भ्रमण गएको खुलासा भएको छ ।
गाउँपालिकाको साढे ११ लाख रुपैयाँ लिएर जम्बो टोली संघीयता अवलोकन अध्ययन भ्रमणको नाममा भारतको सिक्किम र दार्जिलिङ हिँडेको हो । भ्रमणका लागि नेपालको लुम्बिनी, इलाम, काठमाडौं हुँदै भारतको सिक्किम र दार्जिलिङसम्मको यात्रा सुरु भएको गाँउपालिका स्रोतले बताएको छ ।
सरकारी कर्मचारीसहित जनप्रतिनिधिको जम्बो टोली १० दिने भ्रमणमा हिँडेपछि गाँउपालिकाको दैनिक महत्वपूर्ण सेवा प्रवाह रोकिएको स्थानीयले बताएका छन् । १० दिने संघीयता अवलोकन अध्ययन भ्रमण कार्ययोजना गाउँकार्यपालिकाबाट पास भएको भ्रमण टोलीका सदस्य तथा वडा नं. ४ का वडाध्यक्ष जग्गप्रसाद जैशीले जानकारी दिए । भ्रमण टोली सिक्किम र दार्जिलिङमा मात्र करिब एकसाता घुम्ने छ ।
गाउँपालिकाको सबै विकासे काम ठप्प पार्दै जम्बो टोली भ्रमणमा जानु उपयुक्त नभएको भन्दै स्थानीयले आलोचना गरेका छन् । आफ्नो गाँउठाँउको आधारभूत विकासका लागि जम्बो टोलीको भ्रमण आवश्यक नरहेकाले गाउँपालिकाको विकासे रकम दुरुपयोग भएको स्थानीय रामप्रसाद पाण्डेले बताए । संघीयता भ्रमण अध्ययनका नाममा गाउँपलिकाका जिम्मेवार पदमा रहेका सबै प्रमुखहरू स्थानीय तहको रकम लिएर घुम्न गएका हुन् ।
यता भ्रमण टोलीका नेतृत्वकर्ता तथा गाँउपालिका अध्यक्ष हरिबहादुर भण्डारीले सिक्किम र दार्जिलिङको विकास निर्माणका कार्य हेरेर त्यहाँ भएका राम्रो कुरालाई आफ्नो गाउँठाउँमा आएर कार्यान्वयन गर्ने तर्क गरेका छन् । भ्रमण टोलीमा अध्यक्ष भण्डारी, उपाध्यक्ष जानदेवी ऐडी, कार्यकारी प्रमुख केशवराज शर्मा, गाँउपालिकाको ५ वटा वडाका सबै वडाध्यक्ष, वडासचिव र प्रत्येक वडाबाट २ जना निर्वाचित वडासदस्यलगायतको टोली छ । यसैबीच केही दिनअघि मात्र कनकासुन्दरी गाउँपालिकाको जम्बो टोली पनि ८ लाख रकम खर्च गर्दै भारत भ्रमण गरेर फर्किएको खुलासा भएको छ ।