यात्रुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीलाई आग्रह «

यात्रुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीलाई आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले यात्रुहरुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
गृहमन्त्री खाँणले एकैठाउँमा जाँदा पनि फरकफरक भाडा दर लिने अवस्थामा तत्काल अन्त्य गर्नुपर्ने जरुरी रहेको पनि उनले बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौं राष्ट्रिय महाधिवेशनलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै उनले भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने बाटो अवलम्बन गर्नुपर्ने पनि स्पष्ट पारे । गृहमन्त्री खाँणले यातायात क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक पर्ने ऐन, कानुन तर्जुमा गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए । त्यसका लागि सरकारले सरोकारवाला पक्षहरुसँग बृहत छलफल गरेर अघि बढन चाहेको गृहमन्त्री खाँणको भनाई थियो ।
गृहमन्त्री खाँणले सरकारले सबै खालका उद्योगी, व्यवसायीहरुको लगानीको सुरक्षा गर्ने दायित्वलाई गम्भिरतापूर्वक लिएको बताए ।
कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले कन्डिसनमा नभएको गाडी संचालनमा रोक लगाउन सरकारले अझै कडाई गर्ने बताइन् । उनले ब्रेकफेल भएको गाडी चलाउँदा कयौको ज्यान गएको उल्लेख गर्दै त्यस्ता गाडीहरुलाई संचालन गर्न दिन नमिल्ने बताएन् । मन्त्री यादवले गाडीको नियमित परीक्षण गर्न पनि यातायात व्यवसायीहरुलाई सचेत गराइन् ।
मन्त्री यादवले प्रदुषण फैल्याउने खालका गाडीहरु संचालन गर्न नहुनेतर्फ पनि व्यवसायीहरुले ध्यान दिनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्