Logo

भारतीय बजारमा विद्युत बिक्री गर्ने बाटो खुला

नेपालले भारतीय विद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३ सय २५ मेगावट विद्युत बिक्री गर्ने अनुमति पाएको छ ।
बुधबार ऊर्जा, जलस्रोत तथा सिँंचाइमन्त्री पम्फा भुसालले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालले भारतीय विद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३ सय २५ मेगावट विद्युत बिक्रीको अनुमति पाएको बताकी हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको सहमतिबमोजिम नेपालले भारतीय विद्युत बजारमा थप ३ सय २५ मेगावट विद्युत बिक्री गर्न स्वीकृति भएको जानकारी दिइन् ।
मन्त्री भुसालले नेपालमा उत्पादित विद्युत अन्य देशमा समेत बिक्री गर्न सक्ने बाटो खुल्ला भएको बताइन् । सरकारले विद्युत बजार विस्तारका लागि भारत, बंलादेश, भुटान र नेपालमा उत्पादन, ट्रान्समिसन लाइन र क्रस बोर्डर ट्रान्समिसन लाइनहरू निर्माण गर्ने बाटो खुल्ला भएको दाबी गरिन् । नेपालले आन्तरिक खपत पूरा गरेपछि बाँकी रहेको विद्युत भारतीय बजारमा जाने र अरु देशमा पनि विद्युत निर्यात गर्नसक्ने गरी बजारको ढोका खुलेको उल्लेख गरिन् । उनले यो अनुमति पाएसँगै दुई देशबीचको व्यापार घाटामा कमी आई अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वाससमेत व्यक्त गरिन् । मन्त्री भुसालले यसअघि २०७८ कात्तिकमा पहिलो चरणमा ३९ मेगावट विद्युत भारतीय उर्जा एक्सचेन्ज आइएम्समा बिक्री गर्न स्वीकृति दिएकोमा अहिले थप ३ सय २५ मेगावट भएको बताइन् ।
त्यस्तै मन्त्री भुसालले मुलुकभित्र उत्पादित विद्युत खपतको सुनिश्चितता नभएका कारण पीपीए रोकिएको बताइन् । उनले पुरानो नीतिअनुसार पीपीए सम्झौताको कोटा पूरा भएकाले रोकिएको बताइन् । मन्त्री भुसालले पछिल्लो समय विद्युतको घरायसी तथा उद्योगमा विद्युत खपत बढ्दै गएको दाबी गरिन् । अहिले रुस र युक्रेनको युद्धको कारण विद्युत आपूर्तिमा समस्या हुँदा विद्युत कटौती भएको भन्दै मन्त्री भुसालले अब सरकारले उद्योगहरूले माग जति विद्युत दिनसक्ने दाबी गरिन् । उनले अन्य देशमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा अन्य विकल्प छैन तर नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि विद्युत विकल्पमा रहेको दाबी गरिन् । सरकारले विद्युत उत्पादन बढाउनका लागि अन्य ठूला आयोजना समेत निर्माणको तयारी गरिरहेको बताइन् ।
त्यस्तै, नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीहरूले भने जस्तो १४ घण्टा उद्योगहरूमा लोेडसेडिङ नभएको बताए । उनले तत्कालीन समयमा भारतबाट विद्युत खरिद गर्न समस्या आएकाले कही कतै विद्युत कटौती भएकोबाहेक कुनै उद्योगमा लोडसेडिङ नगरिएको दाबी गरे । निर्देशक घिसिङले प्राधिकरणले कुनै पनि उद्योगमा लोडसेडिङ नगरेको बरु केही समस्या भए दुई दिनमा नै समाधान गरेको दाबी गरे । कुनै उद्योगहरूमा ट्रान्समिसन लाइनका कारण बेलुका एक-दुई घण्टा विद्युत कटौती भएको हुन सक्छ तर प्राधिकरणले समयमा नै जानकारी दिने गरेको बताए ।
नर्देशक घिसिङले यो रुस र युक्रेनबीचको युद्धको कारण विद्युत आपूर्तिमा देखिएको समस्याको प्रभाव मात्रै हो भन्ने कुरा उद्योगी व्यवसायीहरूले बुझ्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्