आधा दर्जन गाउँमा अझै राहत पुगेन

बारा र पर्सामा आएको भीषण हुरीबाट प्रभावित अझै ६ हजार पीडितसम्म राहत पुग्न सकेको छैन । सरकारी निकायको समन्वय अभावमा पीडितहरूसम्म अझै राहत पुग्न नसकेको हो ।
बढी क्षति पुगेको बाराको फेटा गाउँपालिकाको भलुई भरबरिया, पुरैनिया र गम्हरीयामा मात्र राहत केन्द्रित हुन थालेपछि प्रभावित ८ गाउँपालिकाको २० वटा गाउँमा राहत पुग्ने क्रम न्यून छ । बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले सबै स्थानमा राहत पुग्न नसकेको स्वीकार्दै अब एकद्वार प्रणालीबाट राहत वितरण गर्ने काम सुरु भएको बताए ।
सडकबाट नजिकै र सजिलै पुग्न सकिने फेटा गाउँपालिकाको पुरैनीया र गम्हरियामा बाहिरबाट आएका राहत साम्रगी सोझै पुग्ने हँुदा त्यहाँ राहत सामग्री वितरण सहज बनेको छ भने अन्य प्रभावित गाउँ भने राहत पर्खेर बसेका छन् । जिल्ला प्रशासन कार्यालय बाराका अनुसार फेटाको पुरैनिया र गम्हरियामा मात्र ४ सय त्रिपालको टहरा बनाउने काम भएको र अन्य प्रभावित क्षेत्रमा समेत त्रिपालको टहरा बनाउने काम जारी छ ।
भलुई, खुटुबा, तेलकुबा, रामपूर्वा, पर्शुरामपुरलगायत दर्जन गाउँमा राहतको नाममा एकाध संघ संस्थाले चाउचाउ र बिस्कुट पु-याए पनि त्रिपाल, झुलसम्म पुगेको छैन । तेलकुवाका कुमारी महतो भन्छिन् ४ दिनदेखि रुखमुनि रात गुजार्दै आएका छौं ।
करिब ६० घर भत्केको उक्त गाउँमा हालसम्म एउटै त्रिपाल पुग्न सकेको छैन । हुरीबाट घाइते भएकाको उद्धार भए पनि घरबारविहीन बनेकाहरू राहत र पुनःस्थापनाको पर्खाइमा छन् । केही गाउँका प्रभावितलाई पाल टाँगेर राखिएको छ भने हजारांै प्रभावित घरपरिवार अझै खुला आकाशमुनि बस्न बाध्य छन् । राहतका लागि सरकारी अधिकारीहरूले राम्रो व्यवस्थापन गर्न नसकेको गुनासो पीडितहरूको छ । बाराको फेटा गाउँपालिकालाई केन्द्र बनाएर आएको विनाशकारी हावाहुरीका कारण ८, स्थानीय तहका दर्जन बढी गाउँ प्रभावित बनेका छन् । मानवीय क्षति त भइसक्यो अब बाँचेकालाई राहत र पुनःस्थापनाको सवालमा साँच्चिकै राहत दिनुपर्ने चुनौती देखिएको प्रदेश नम्बर २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनालले बताए ।
दाता अन्योलमा
बाराका प्रभावित क्षेत्रका लागि राहत सामग्री लिएर आएका विभिन्न संघसंस्थाका प्रतिनिधि अन्योलमा परेका छन् । सरकारी संयन्त्रबाट गर्नुपर्ने तयारी र योजनामा कमजोरी देखिएपछि उनीहरू अन्योलमा परेका हुन् । विराटनगरबाट राहत बोकेर मंगलबार बिहानै फेटा आएको शिवनारायण चौधरीको टोलीले १२ बज्दासम्म पीडितलाई राहतको पोको वितरण गर्न सकेन । यहाँ राहत दिने पनि प्रशस्तै भेटिन्छन्, तर चौधरी राहत कसलाई कसरी दिने भन्नेमा अन्योलमा परे, हारगुहार गर्न फेटा गाउँपालिकाको कार्यालय पुगे । त्यहाँ कोही थिएनन् । उनले भने, “हामी त्यहाँ पुग्दा कार्यालयको ढोका बन्द थियो । कर्मचारीहरूको खाना खाने बेला भएको रहेछ ।”
दैनिक दर्जन बढी राष्ट्रिय नेता तथा प्रदेशका मन्त्रीहरू घटनास्थलतर्फ आएसँगै सयौं स्थानीय नेता कार्यकर्ता पुग्ने हँुदा सवारी र मानवचापले गर्दा प्रभावित क्षेत्रसम्म देशभरबाट आएका राहत सामग्री तत्काल पुरयाउन सकिरहेको छैन । कास्कीबाट राहत सामग्री लिएर आएका टोली समन्व हुन नसक्दा एक दिन बस्नु परेको थियो ।
पीडितको दयनीय अवस्था
घरबास, अन्नबाली र वस्तु सबै सोतर भएपछि पीडित बनेका परबानीपुर गाउँपालिका चैनपुरका पीडितसँग खानेकुरा अभाव र ओत लाग्ने ठाउँ छैन । दिनको चर्को घाम र रातमा खुला आकाशमुनि पीडितले दिनरात कटाइरहेका छन् । पीडितले सधैंका लागि गास र सुरक्षित बास खोजिरहेका छन् ।
आफ्नो भग्नावशेष घरमा पुरिएको सामान खोतल्दै गरेकी चैनपुरका गितादेवीले हालसम्म आफूहरूले राहतको नाममा सोमबार एक दिनमात्र चिउरा र चाउचाउ पाएको बताउँदै त्रिपाल र झुल सरकारले दिने भनेको सुनेर कुरेर बसेको तर बुधबारसम्म कोही नआएको बताइन् ।
विभिन्न राजनीतिक संघसंगठनका नेता, सांसद, मन्त्रीहरूले पीडितलाई घटना भएको ४ दिनसम्म आश्वासन दिने गरेको र राहत साम्रगी बोकेर नआएको पीडितहरूको गुनासो छ ।
प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले राहत वितरण अव्यवस्थित भएको स्वीकार गर्दै राहत वितरण गर्ने सहयोगीदातालाई जिल्ला विपद व्यवस्थापन समितिमार्फत राहत वितरण गर्न आग्रह गरेका छन् ।
फेटा–६ का वडाध्यक्ष जाकिर अन्सारीले विभिन्न व्यक्तिले मनपरि ढंगले राहत वितरण गर्दै फोटो खिचाउने गर्ने गरेका कारण र वरपरका गाउँबाट दैनिक हजारौं मानिस प्रभावित क्षेत्रमा आउने क्रम ब्यापक बनेपछि राहत वितरण व्यस्थित हुन नसकेको बताए । उनले एकद्वार प्रणालीले राहत वितरणको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरे पनि हालसम्म सुनुवाइ नभएको बताए ।
रोग फैलने खतरा
प्रभावित क्षेत्रमा प्रचण्ड गर्मी र बढ्दो भीडका कारण अत्यधिक धुलोले गर्दा बाचेकासमेत बिरामी हुने संभावना बढेर गएको छ । प्रभावित क्षेत्रका पीडित स्थानीयहरूको घरमा शौचालय नहँुदा दुर्गन्ध बढने क्रम सुरु भएको छ । त्यसैले प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने भन्दै केन्द्र सरकारले चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा पठाएको जनाएको छ । तर, स्थानीय सरकारले भने घाइतेको उपचार, राहत वितरण र अस्थायी आवास निर्माणमा व्यस्त भएकाले स्वच्छ खानेपानी र शौचालयको व्यवस्थापन गर्न नसकिएको बताएको छ । सरकार र स्थनीय निकायले हावाहुरी अति प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिका भलुरी भरवलिया र वरैनियामा मात्र ८ स्थानमा स्थानीयलाई सामूहिक खानाको व्यवस्था गरे पनि अन्य प्रभावित क्षेत्रमा सामूहिक खानाको प्रबन्ध हुन सकेको छैन । प्रभावित क्षेत्रमा शौचालय, बिजुली र खानेपानीको उचित व्यवस्थापन गर्न नसक्दा महामारी फैलन सक्ने खतरा पनि उत्तिकै छ ।