बहुवर्षीय योजना निर्माणमा कर्णालीको प्राथमिकता

जुम्ला-भौगोलिक हिसाबले विकट कर्णालीमा टुक्रे योजनाकै कारण पूर्वाधार विकासले फड्को मार्न सकेको छैन । तीनै तहका सरकारबाट पूर्वाधार विकासमा वर्षेनी अर्बौ रकम छुट्याए पनि टुक्रे योजनामा लगानी गर्दा प्रतिफल नदेखिएको हो । भौगोलिक रुपमले विकट कर्णालीमा अन्तरजिल्ला, अन्तरपालिका र अन्तरप्रदेश जोड्ने बहुवर्षीय सडक योजना आवश्यक हो ।
तर कार्यकर्ता पोस्न तथा कमिसनका लोभमा विगतमा प्रदेश सरकारबाटै १०-१५ लाखका टुक्रे योजना निर्माण भए । टुक्रे योजना नत राज्यको बजेट सदुपयोग भयो, नत उपलब्धि देखियो । कार्यकर्ता पोस्नेबाहेक टुक्रे योजनाले पूर्वाधार विकासमा उपलब्धि देखिएन । जसका कारण कर्णालीमा बहुवर्षीय योजना निर्माण हुनुपर्ने माग बढिरहेको थियो ।
यसैबीच कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदम रोकायाले टुक्रे योजनाको अन्त्य गर्दै बहुवर्षीय योजना निर्माणमा प्राथमिकतामा दिएको बताए । मन्त्री पदवहाली भएपश्चात गृह जिल्ला जुम्ला पुगेका मन्त्री रोकायाले पत्रकार सम्मेलनमा बोल्दै बहुवर्षीय योजना निर्माण बिना कर्णालीको पूर्वाधार विकासले गति नलिने उल्लेख गरे ।
उनले भने, “एक निर्वाचन क्षेत्र एक बहुवर्षीय योजनाको प्रावधान छ । तर पहुँच अभावका कारण कर्णालीका सबै निर्वाचन क्षेत्रमा बहुवर्षीय योजना निर्माण हुन सकेनन् । अहिले म भौतिक मन्त्रीका रुपमा आइसकेपछि कर्णालीका १० वटै जिल्लामा बहुवर्षीय योजना निर्माणको प्रक्रिया थालेको छु ।”
यसअघि जुम्ला दानसाँघु, चोत्रा सडक बहुवर्षीय आयोजना मात्रै भएकोमा हाल जुम्लामा थप दुईवटा बहुवर्षीय योजना निर्माण हुन थालेको मन्त्री रोकायाले उल्लेख गरे । जसमा जुम्ला एयरपोर्ट हुदै उर्थु पटमारा न्याउरीघाट बुलबुले पर्यटकिय सडक र जलजला थालाचौर गोठेलबाडा बुडु कालाकाँडा सडक बहुवर्षीय योजनाका रूपमा टेण्डर भई निर्माण तथा स्तरवृद्धि अघि बढेका छन् ।
त्यस्तै, सल्यान, दैलेख, सुर्खेत र जाजरकोटमा भौतिक मन्त्रालयबाट विभिन्न बहुवर्षीय योजना कार्यान्वयनमा रहेको र अन्य जिल्लाका बहुवर्षीय योजना प्रक्रियामा रहेको जानकारी दिए ।
कर्णाली प्रदेशको कुल पँुजीगत बजेट २१ अर्बको ५० प्रतिशत बजेट भौतिक तथा पूर्वाधार मन्त्रालयमा रहेकोले पूर्वाधार विकासका लागि बजेटको अभाव नरहेको मन्त्री रोकायाको भनाइ छ । ढिलासुस्ती गर्ने निर्माण व्यवसायी, ठग्ने उपभोक्ताकै कारण पूर्वाधार विकास सुस्त भएको भन्दै आफ्नो पालामा देखिनेखालका केही मात्र बहुवर्षीय योजनाको टुंगो लगाउने मन्त्री रोकायाको प्रतिबद्धता छ ।
पूर्वाधार विकासमा पनि दुर्गमलाई प्रथामिकता दिने लक्ष्यअनुसार हुम्ला र डोल्पामा सडक तथा पुल निर्माण प्रक्रियालाई विशेष प्राथमिकता दिइएको छ । हाल सञ्चालन भइरहेका योजनाको अनुगमन नियमित भइरहेकोले गुणस्तरमा कुनै तलमाथि भए निर्माण व्यवसायी सिधै कारबाहीको भागेदार हुनुपर्ने मन्त्री रोकायाले चेतावनी दिए ।
साथै नाग्म–गमगडी सडक खण्ड चाडै कालोपत्रे हुने भन्दै निर्माण तथा स्तरवृद्धिका लागि १ अर्ब २० करोड विनियोजन भएको जानकारी दिए । साथै त्रिबेणी टोप्ला हुँदै जाजरकोट जोड्ने सडक निर्माणलाई पनि बहुवर्षीय योजनाका रुपमा अघि बढाइने भएको छ भने पत्रकार महासंघ जुम्लाको भवनको तला थप्ने सहयोग गर्ने आश्वासन दिए ।
जुम्ला रारा जाड्ने पर्यटकीय मार्ग अनुगमन
एयरपोर्ट उर्थु पटमारा खाली न्याउरीघाट हुँदै बुलबुले सडक अर्थात् जुम्ला हुँदै मुगु राराताल जोड्ने पर्यटकीय मागको अनुगमन गरिएको छ । कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदम रोकायाको नेतृत्वमा उक्त सडकको चार खण्डनै अनुगमन गरिएको हो ।
एयरपोर्टदेखि उर्थु, उर्थुदेखि पटमारा, पटमारादेखि न्याउरीघाट, न्याउरीघाटदेखि बुलबुलेसम्म चार फेजमा निर्माण भइरहेको सडकको हालसम्मको अवस्था सन्तोषजनक रहेको मन्त्री रोकायाले उल्लेख गरे ।
पर्यटकीय गन्तव्य रारा ताल जाने सबैभन्दा छोटो मार्ग भएकोले पनि पर्यटकहरूको सहजताका लागि जुम्ला रारा जोड्ने सडकको बाँकी सबै काम छिटै सम्पन्न गर्न मन्त्री रोकायाले निर्देशन दिए । जुम्लाका तीनवटै बहुवर्षीय योजना पूर्वाधार विकास कार्यालयले निर्माण गरिरहेको छ । आफ्नो दक्षता र क्षमताअनुसार विकास निर्माणलाई चुस्त रुपमा अगाडि बढाउने प्रमुख पूर्वाधार विकास कार्यालयका प्रमुख हरिबहादुर ओलीको प्रतिबद्धता छ ।