राष्ट्रिय भूमि आयोगको जिल्ला आयोग गठन

राष्ट्रिय भूमि आयोगको थप ४३ जिल्लामा जिल्ला आयोग गठन गरिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरूलाई बिहीबार काठमाडौंमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
उक्त अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले राष्ट्रिय भूमि आयोग गठनको उद्देश्य एवं संविधानको भावना र मर्मअनुसार जतिसक्दो छिटो कामगर्न आयोगका नवनियुक्त अध्यक्षहरूलाई निर्देशन दिइन् ।
मन्त्री श्रेष्ठले भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने अहिलेको सरकारको मुख्य उद्देश्य रहेको भन्दै आगामी दिनमा फेरि पनि आयोग गठन गरिरहनु पर्ने तथा भूमिसम्बन्धी विषयमा हात हालिरहनु पर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न आयोगका पदाधिकारी र नवनियुक्त अध्यक्षहरूलाई आग्रह गरिन् ।
उनले राखिएको लक्ष्य तथा उद्देश्य पूरा गर्न व्यवहारमा नै देखिने र नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिँदै कुनै आग्रह पूर्वाग्रहविना सबै भूमिहीनले जग्गा प्राप्त गर्ने गरी काम गर्न सम्बद्ध सबै पक्षलाई आग्रहसमेत गरिन् । मन्त्री श्रेष्ठले अबको केही दिनभित्रै सुकुम्बासीलाई लालपुर्जा वितरणको काम सुरु गर्ने तयारी भइरहेको भन्दै अब छिट्टै सुकुम्बासीको हात हातमा लालपुर्जा पर्ने दाबी गरिन् ।
सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले तोकिएको समय काम सम्पन्न गर्ने अपेक्षा रहेको भन्दै आवश्यक सहयोगका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले सरकार र मन्त्रालयबाट आएको मार्गनिर्देशनलाई इमान्दार भएर पूरा गर्न आयोगका जिल्ला अध्यक्षहरूलाई आग्रह गरे ।
आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले जनतालाई भूमिहीनताको अवस्थाबाट अन्त्य गर्न आयोगले काम थालिसकेको भन्दै भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको लगत संकलन गर्ने, जग्गा नाँपजाच, निवेदन दर्ता र निस्सा वितरणको काम सुरु गरिसकेको बताए । यसअघि २८ जिल्लामा राष्ट्रिय भूमि आयोगको जिल्ला आयोग गठन भइसकेको छ ।