प्राकृतिक मौसम सबैले रुचाएकाले नेपाल पर्यटकको गन्तव्य भएको छ

पर्यटकीय गन्तव्यका लागि नेपाल उत्कृष्ट मानिन्छ । यहाँका हिमशृंखला, प्राकृतिक बनावट, प्राकृतिक सौन्दर्यताले हरेक पर्यटकलाई नेपाल आउन आकर्षण गर्छ । पछिल्लो समय २०१९ को डिसेम्बरमा नेपालसहित विश्वभर कोरोना महामारी फैलियो । योसँगै नेपालका हरेक क्षेत्रमा कोरोना महामारीको असर प-यो । पर्यटन व्यवसाय पनि त्यसबाट टाढा रहन सकेन । एक वर्षसम्म त बन्दाबन्दीमा नै देश गयो, जसका कारण कुनै पनि व्यवसाय सञ्चालन हुन सकेनन् । अझैसम्म पनि नेपालका विभिन्न उद्योग–व्यवसाय, पर्यटन व्यवसायहरू सुसञ्चालन हुन सकेका छैनन् । यस्तो अवस्थामा अब नेपाल पर्यटन बोर्डले कोरोना महामारीपछि पर्यटन प्रवद्र्धन गर्नका लागि पछिल्लो समय गरिरहेका कामहरू कस्ता छन् त ? अब नेपालको पर्यटन व्यवसायलाई उकास्न के गर्दै छ पर्यटन बोर्ड ? यिनै विषयमा केन्द्रित रहेर पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीसँग कारोबारले गरेको कुराकानीको सार :
कोरोना महामारीपछि नेपालको पर्यटन व्यवसाय चलायमान हुँदै गएको भन्ने छ, कस्तो छ अहिलेको अवस्था ?
पर्यटन व्यवसायको तुलना गर्ने हो भने सन् २०१९ सँग गर्नुपर्ने हुन्छ । २०१९ मा फेब्रुअरीसम्ममा १ लाख पर्यटक आएका थिए । यो वर्ष फेब्रुअरीमा २० हजार पर्यटक पुगेको छ । जनवरीमा १६ हजार थियो । अहिले पर्यटक बढ्दो अवस्था रहेका छन् । पर्यटन क्षेत्र २० प्रतिशत कभर भइसकेको (समेटिसकेको) छ । यो मार्च महिनामा अझ उत्साहजनक डाटा आइरहेको छ । प्रत्येक महिनाको अन्तिममा मात्रै डाटा प्रकाशन गर्ने भएकाले केही दिनपछि नयाँ डाटा आउँछ । अहिले ३० प्रतिशत कभर हुने देखिएको छ । यो डाटाले सकारात्मक संकेत आएको छ । अहिले पर्यटन क्षेत्र खुला भएको केही समय मात्रै भएको छ । मान्छेहरूलाई खुला गर्न वा ट्राभल गर्नसमेत निर्णय गर्न सकेका छैनन् । तर पनि नेपालको जुन प्रकारको प्राकृतिक मौसम छ त्यो सबैले रुचाएको गन्तव्य नेपाल भएको छ । हिजो भनिएको थियो, कोभिडको बेला अबको दिन नेपालजस्ता देशको हो, जहाँ प्राकृतिलाई बुझेर घुम्ने हुन्छ । पर्यटकको ध्यान त्यतातिर हुन्छ । त्यहीअनुसार पर्यटन गन्तव्य भएकाले पछिल्लो समय पर्यटकको संख्या बढ्दै छ । जुन हिसाबले ट्रेकिङका परमिटहरू बिक्री भइरहेका छन्, त्यसले सकारात्मक संकेत देखाएको छ । अब विस्तारै पर्यटकको संख्या बढ्दै जान्छ ।
कोरोनाको बीचमा नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि के–के ग-यो ?
हामीले समयअनुसार रणनीतिहरू परिवर्तन गर्नुप-यो । कोभिडको बेलामा पहिला विश्वलाई हेर्ने भन्ने हुन्थ्यो । त्यसपछि त्यसलाई सीमित गरेर होइन सजिलै दुई–तीन घण्टामा पुग्न सकिने अथवा पाँच घण्टाका फ्लाइट हुन सक्ने सीमा गन्तव्यमा प्राथमिकता गरौं । तर, अब यसरी रणनीति बनाएर पर्यटन प्रवद्र्धनको प्रचार गरेर पर्यटन आउने अवस्था कम देखियो । युरोपमा धेरै प्राथमिकता दिने कि नदिने प्रश्न उठेको छ । कतिपय देशले विदेश जानका लागि रोक लगाइरहेको छ । यो वर्ष सीमित बजेट भएकाले पनि सबैभन्दा बढी प्रभावकारी र तत्काल परिणाम लिन सक्ने मार्केटमा फोकस (लक्षित) गरौं । त्यो भनेको भारतको मार्केटलाई गरौं । भारतबाट विदेश जाने पर्यटक, एनआरएनबाहेकलाई हेर्ने हो भने हाराहारी एक–डेढ करोड व्यक्तिहरू विदेश घुम्न जाने प्रत्येक वर्षको डाटा थियो । ती व्यक्तिहरूलाई नेपाल ल्याउन मेहनत गरियो भने त्यसले तत्कालै परिणाम दिन्छ । भारतीय पर्यटकलाई नेपाल घुमाउन सजिलो पनि छ । छिमेकी मुलुक, ८ देखि ९ किलोमिटर बोर्डर जोडिएको छ । त्योबाहेक नेपालको प्रत्येक बोर्डरसँगै भारतले नयाँ ५-६ वटा विमानस्थल बनाएको छ, जुन भारतका विभिन्न प्रदेशसँग जोडिएको छ । यदि नेपालमा कोही घुम्न आउन चाहन्छ भने दिल्ली भएर काठमाडौं नै आउनुपर्छ भन्ने होइन । एक–डेढ घण्टामा नेपाल आउन सकिन्छ । नेपालको तराई क्षेत्रमा पर्यटनका लागि जुन किसिमले क्यासिनो, होटल र मनोरञ्जनको विकास भएको छ । जसरी मनोरञ्जन गर्नेका लागि भारतको विभिन्न स्थान तथा चीनमा गएर गर्नुपर्छ भन्ने छैन । नेपालमा आएर मनोरञ्जन गर्न सक्छन् । यसको भारतमा प्रचार गर्न सकियो भने भारतीय बोर्डरमा नयाँ बनेका पर्यटकीय होटलहरू बने, त्यो त्यसैको देन हो । यो वर्ष पनि तराईका विभिन्न स्थानमा पाँचवटा क्यासिनोका लागि अनुमति दिएको छ । अहिले हाम्रो प्राथमिकता पहिलो बोर्डरमा भारतीय पर्यटक, भारतबाट धेरै युरोप घुम्न जाने गरेका छन्, जुन मौसमको कारण हो । नेपालमा स्थानअनुसारका मौसम जोनहरू छ । मिनेटको हिसाबमा फरक मौसम भएको स्थानमा पुग्न सकिन्छ । नेपालमा विश्वका अन्य देशहरूको जस्तै एड्भेन्चर गतिविधिहरू सबै नेपालले दिन सक्ने भएको छ । बञ्जीजम्प, प्याराग्लाइडिङ, -याफ्टिङ, जिपलाइन र स्काई ड्राइभिङ पनि हामीसँग छ । यसरी एड्भेन्चर गतिविधिमा नेपाल विश्वका सबै खालको गतिविधिमा भरीपूर्ण छौं । नेपालमा खुला समाजिक वातावरण छ । महिलाहरूलाई घुम्न सहज छ । खानपानमा पनि सबै खुला रहेको छ । नेपालमा तराईमा आएर तराईमा नै बस्नुपर्छ भन्ने छैन । तत्काल नै एक-दुई घण्टामा नयाँ मौसम, नयाँ प्राकृतिक मनमोहक स्थानमा पुग्न सकिन्छ । हामीले यी कुरा छन् भनेर सबैलाई म्यासेज (सूचना) दिन नसकेको मात्रै हो । अहिले हामीले जुन हिसाबले भारतीय बोर्डरलाई प्राथमिकता दिएर अगाडि बढाएका छौं, भारतको उत्तराखण्डसम्मलाई समेत जोडेर भित्री सहरहरूमा समेत कभर गर्न सकिन्छ भने ३५ करोड जनता रहेका छन् । हामीले ३५ करोडलाई फोकस गर्न कि युरोपलाई हाम्रो छान्ने कुरा हो । भारतीय एक व्यक्तिले १७ हजार भारु खर्च गर्छन् । कम खर्च हुने र फाइदा पनि राम्रो हुने भएकाले बोर्डको फोकस भारतीय पर्यटक रहेको छ । पछिल्लो समय बंगलादेशबाट पर्यटक बढेका छन् । अहिले भारतपछि सबैभन्दा बढी पर्यटक आउने बंगलादेश भएको छ ।
पहिले र अहिले काम गर्ने तरिका फरक भएको छ, यसलाई कसरी हेर्नुहुन्छ, विभिन्न स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ, लागत पनि बढ्दै गएको छ, यो हिसाबले रणनीतिक रूपमा कसरी परिवर्तन हुन्छ ?
अहिले अन्तर्राष्ट्रिय ट्राभलमा सर्भिस शुल्क परिवर्तन गर्ने भएको छ । नेपालमा पनि सर्भिस शुल्क लिन सुरु भएको छ । यसै पनि नेपालको ट्राभल महँगो भनिन्छ । त्यसबाट कर बढ्दै जान्छ । अन्तर्राष्ट्रिय बजारमा नै इन्धनको मूल्य बढेर गएको छ । यसले अब मानिसहरू लामो गन्तव्यभन्दा छोटो दूरीमा नै खोज्छ । अहिले सबै देशको नीति आफ्ना नागरिक देश छाडेर धेरै विदेश नजाऊन् भन्ने छ । ताकि मुलुकको अर्थतन्त्रमा विदेशी मुद्रा लस (कम) नहोस् । यस्तो अवस्थामा युरोपियन देशहरूमा जति नै प्रचार गरे पनि धेरै पर्यटक ल्याउन गाह्रो छ । कोरोनाको कारण दुई वर्षको आर्थिक अभाव प्रत्येक व्यक्तिलाई पनि परेको छ र इन्धनको मूल्यवृद्धि हुँदा हवाई उडान पनि महँगो भएको छ । सोचाइ मानिसहरूले फरक तरिकाले लिने गरेका छन् । त्यसैले नेपालको नीति भारतीय पर्यटक नेपाल बढी ल्याउने हो । अहिले युरोप पनि युद्धमा र भारतबाट पनि जाने ठाउँ नभएको तर भारतका नागरिक घुम्न हिँड्नलाई आतुर छन् । देशले विदेशी मुद्रा कम साट्न पाउने नीति लिएको छ । तर भारतको नेपालमा करेन्सी पनि चल्छ । नेपालले भारतीय पर्यटक ल्याएर फाइदा लिने समय पनि यही हो । रणनीतिक रूपमा अन्य कुरा परिवर्तन होइन । घुम्ने गन्तव्य परिवर्तन गरेका छौं । खुल्दै जाँदा अरू पनि गन्तव्य बनाउँछौं । हाम्रो ट्राभल कम्पनीहरूले भनेजस्तो प्याकेज बनाउन सक्नुभएन । भारतको कुन सहरबाट कस्तो कनेक्टिभिटी के छ । हवाइ उडान के छ । नयाँ एयरलाइन्स कुन सुरु भएको छ । उनीहरूसँग समन्वय गरेर नेपालले बेच्न सक्यो भने राम्रो हुन्छ । आज जो मान्छे नयाँ सोचबाट अगाडि बढ्छ उसैको व्यापार राम्रो हुन्छ । पहिलेको जस्तो मसँग पोखरा–काठमाडौंको टिकट छ भनेर पोखरा लगेर छोडिदिन्छु भनेर भएन । भारतबाट प्रकृतिको विषयमा अध्ययन गर्नका लागि ल्याउन सकिन्छ । नेपाल जतिको उपयुक्त स्थान कहाँ छ ? अब नेपाललाई शिक्षा लाइबे्ररीको रूपमा अगाडि बढाउनुपर्छ ।
पछिल्लो समय बंगलादेशबाट पर्यटक बढ्दै गएको भन्नुभयो, किन बढ्दै छन् पर्यटक ?
नेपालीहरूलाई बंगलादेश जान कत्तिको इच्छा हुन्छ ? एउटा प्रश्न छ । बंगलादेशलाई के छ भने नेपालीहरूलाई मनाएर ल्याउन सकिन्छ । तर हामीले हेर्दा बंगलादेशीलाई ल्याउन धेरै सजिलो छ । किनकि हाम्रो प्राकृतिक सौन्दर्य नै वातावरण हो । नेपालका नदीहरूमा ¥याफ्टिङ गर्नका लागि राम्रो छ । प्याराग्लाइडिङ, स्काई ड्राइभिङमा लगाव बढेको छ । बंगलादेशी सा-है धार्मिक पनि छन् । उनीहरूलाई शक्तिपीठहरूमा ठूलो विश्वास छ । बंगलादेशबाट तत्काल पर्यटक बढाउन सक्छौं । तर, एउटा समस्या छ । हवाई भाडा महँगो छ । २५ किलोमिटर छ । गाडीमा आउन सक्ने अवस्था छ । सरकारले भारतसँग मिलेर बंगलादेश र नेपालमा बस चलाउन सुरु गर्नुपर्छ । त्यस्तो भएन भने पनि विराटनगर विमानस्थलबाट बंगलादेशको उत्तरी भागमा भएको विमानस्थलमा हवाई उडान गर्न सक्यौं भने सजिलो हुन्छ । उनीहरूले नेपाल सरकारलाई लेटर (चिठी) पठाउनुभएको छ । यसलाई हामीले स्वीकृत गर्न सक्यौँ भने दैनिक १० जना मात्रै बोक्ने हवाई उडान गर्न सक्छौं । सरकारले आर्थिक रूपमा मजबुत हुनका लागि नीतिगत व्यवस्था गर्नुपर्छ । सीधा उडाउने हो भने भारतले नदिन सक्छ । त्यसमा भारतसँग छलफल गरियो भने हवाई उडान गर्न सकिन्छ ।
पर्यटन बोर्डले धेरै काम गर्दै गयो, तर पर्यटन व्यवसायीहरूले बोर्डले केही सहयोग गरेन भन्ने आरोप छ, अब पर्यटन व्यवसायलाई कसरी अगाडि बढाउने, अर्को डीटीआरसीमा जुन तरिकाले सहयोग गर्नुपर्ने त्यो पनि भएन भन्नेछ, के तपाईंले काम गर्न नसकेको हो वा तपाईंलाई काम गर्न नदिएको ?
अरूलाई आरोपभन्दा पनि म आफैँले लिनुपर्ने हुन्छ । हरेक कामको जिम्मेवारी म आफैँ पनि लिन्छु । यहाँ पर्यटन व्यवसायीहरूको चाहना फरक छ । दिनमा ५० वटा फाइल आउँछ । प्रायःजसो पैसा माग्ने प्रपोजल आउँछ । विगतमा बोर्डसँग डेढ अर्बको बजेट थियो । तर गत वर्ष बोर्डलाई ८ करोड आम्दानी भयो । ८ करोड बजेटमा मैले सबैको इच्छा पूरा गर्न सक्दिनँ । दिए मात्रै खुसी हुने र नदिएसम्म दुःखी हुने समस्या छ । राज्यका सबै निकायले पर्यटन बोर्डको सीईओले भनेकै मान्दैन भन्छन् । मागेको कुरा दिएर मान्ने हो ? नयाँ योजनाका कुरा ल्याए भनेको कुरा दिन्छु केही कुरा अध्ययन गर्नुपर्छ म गरिदिन्छु । तर, पैसा माग्दा दिन नसक्ने हो । दिनलाई हुनुप¥यो नि त । पर्यटन बोर्डले महामारीको बेलामा ६ हजार जनालाई रोजगारी दियौं । सबै बेरोजगार थिए । ८ करोडमा ६ करोडबराबरको रोजगारी दियौं । यसरी केही रूपमा सपोर्ट (सहयोग) गरेका छौं । विभिन्न संस्थासँग सहकार्य गरेर गरेका हौं । स्थानीय निकायहरूसँग सहकार्य गरेर काम गरौं । पहिला भएको बजेट खुरुखुरु खर्च गर्ने थियो । अहिले बजेट जुटाएर पर्यटन उद्योगलाई माथि उठाउने काम गरिएको छ । कोरोना महामारीमा राज्यले साना व्यवसायीका कुरा सुनेर ठूला व्यवसायीका कुरा सुन्यो । पर्यटन बोर्ड समाधान गर्ने निकाय होइन । समस्याको अनुसन्धान गर्ने, त्यसको समाधान के हुनुपर्छ भनेर भन्ने निकाय हो । राज्यका अन्य निकाय अर्थ मन्त्रालय, राष्ट्र बैंकले दिने हो । नेपालमा तीन किसिमका पर्यटन व्यवसायी रहेका छन्, जसमा एउटा आफ्नै सम्पत्तिमा पर्यटन उद्योग चलाएका छन् । अर्को, अर्काको सम्पत्तिमा रेन्ट आउट गरेर त्यसमा जिन्दगीभरको लगानी गरेका छन् । तेस्रो, पहिलो र दोस्रोमा काम गरेर रोजीरोटी गरिरहेका छन् । कोरोना महामारीमा तीनवटै क्षेत्रमा समस्या प¥यो । तर, पहिलोलाई राज्यले १ अर्ब रुपैयाँको सहुलियत ल्यायो । ५० अर्बको कर्जा उपलब्ध गरायो । तर मैले तीनवटाको लागि छुट्टाछुट्टै कार्यविधि बनाउनुपर्छ भनेको थिएँ । पर्यटन बोर्डका सबै निकायलाई हेर्नुपर्ने हुन्छ । अहिले पर्यटन मन्त्रालयमा नयाँ पर्यटन पुनरुत्थान कमिटी बनाएर काम गरिरहेको छ । परिणाम आउने एउटै हो । अहिले कमिटी बनाएर रिपोर्ट बनाइराख्ने समय होइन । समस्याको समाधान गर्ने समय हो । सकिँदैन भने अहिले विस्तारै आफैँ माथि उठ्दै छ । राज्यसँग बजेट छैन ।
योजनाअनुसार धेरै काम पनि भए, अहिले विस्तारै उद्योग चलायमान हुँदै गएको छ, चालू आर्थिक वर्षको पनि अन्त्यतिर छ, तर नीति बनाउने, पर्यटन प्रवद्र्धन गर्ने विषयमा योजना बनाउने बेलामा पर्यटन बोर्ड र मन्त्रालय फरक–फरक बाटोमा हिँडेको छ । पर्यटन मन्त्रीसँग तपाईंको त्यति धेरै कुरा मिल्दैन भन्ने सुनिन्छ, एकै ठाउँमा बसेर काम गर्नुपर्ने बेला बोलचाल नै बन्द गरेर कसरी काम गर्नुहुन्छ ?
पर्यटन बोर्डको अध्यक्ष पर्यटन सचिव हुनुहुन्छ । बोर्डको सहकार्य सचिवसँग हो र सचिवसँग हाम्रो कुरा भइरहेको छ । अब पर्यटन प्रवद्र्धन गरी पर्यटन विकास गर्ने विषयमा छलफल भइरहेको छ । पर्यटन मन्त्रीले बोर्डबाट यस्तो गर्नुपर्छ भन्ने कुरामा मन्त्रीले सचिवलाई निर्देशन दिने र सचिवबाट हामीलाई निर्देशन दिने कुरा भएको छ । जुन हिसाबले पर्यटन मन्त्री, पर्यटन बोर्डको कार्यकारी प्रमुख बसेर नजिकबाट काम गरिन्थ्यो, केही मिस अन्डरस्ट्यान्डिङ होला । तर, मबाट भएको छैन । मन्त्रीको मातहतको एउटा निकायको कार्यकारी प्रमुख हौं । उहाँको अन्डरमा यस्ता संस्था ६०-७० वटा छन् । त्योमध्येमा मन्त्रीलाई केही सहज बनाउनुपर्ने निकाय पर्यटन बोर्ड हो र बोर्डले समग्र नीति क्षेत्रलाई प्रतिनिधित्व गर्ने हुनाले बोर्डसँग सुमधुर सम्बन्ध भएर जानुपर्ने हो । तर मन्त्रीले कसैका केही कुरा सुन्ने भयो होला । म त्यता जान चाहन्नँ । तर, म एउटा स्वीकार के गर्छु भने राज्यको यो निकायमा बस्दा यो खालको मनमुटावले राज्यलाई घाटा हुन्छ भन्ने मनन गरेको छु । मैले भएको बजेटमा बोर्डले बनाएका योजनाहरू बोर्डबाट अनुमति लिएर अगाडि बढाएको छु । मन्त्रीको निर्देशन सीधा नभएर पनि घुमाउरो पाराले भएका छन् । त्यो निर्देशन पनि पालना भएका छन् । यो विषयमा सजग छु ।
अब पर्यटन बोर्ड पर्यटन विकासका लागि कसरी अगाडि बढ्छ ?
नेपालको पहिचान नै गलत तरिकाले गरियो । नेपाल भनेपछि सगरमाथा भन्ने गरियो । नेपालको पहिचान बदल्नुपर्छ । यो सगरमाथा कति पटक भन्छौं ? जम्मा दुई पटक भन्छौं । दुईवटा सिजनमा मात्रै नेपालको पर्यटन चलाउने हो भने चल्दैन । अब नेपाल सगरमाथा मात्रै भन्ने होइन । हामीसँग ६० मिटरको कम ल्यान्ड पनि छ विश्वको अग्लो स्थान पनि छ । नेपालमा सगरमाथा मात्रै नभएर अन्य कुराहरू पनि छन् भनेर प्रचार गर्न सक्नुप-यो । यस्तो प्रचारले एउटा निश्चित उमेर समूहका मानिसहरू मात्रै नेपाल घुम्न आए । विदेशीहरू समुद्रमा गएर बस्न रुचाउँछन् । तर, हामीले कहिल्यै नेपालमा पनि सी (समुद्र), स्यान्ड (बालुवा) र सन (घाम) को अनुभव लिन सकिन्छ भनेर प्रचार गर्नुपर्छ ।
नेपालमा तीन किसिमका पर्यटन व्यवसायी रहेका छन्, जसमा एउटा आफ्नै सम्पत्तिमा पर्यटन उद्योग चलाएका छन् । अर्को, अर्काको सम्पत्तिमा रेन्ट आउट गरेर त्यसमा जिन्दगीभरको लगानी गरेका छन् । तेस्रो, पहिलो र दोस्रोमा काम गरेर रोजीरोटी गरिरहेका छन् ।