Logo

चुनावी वाचा पूरा गर्दै मिक्लाजुङ गाउँपालिका

पाँचथर-स्थानीय तहको निर्वाचन भएको करिब पाँच वर्ष पुग्न लागेको छ । निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल अन्तिमतिर आइपुगेको छ । नागरिकको सबैभन्दा नजिक रहेको सरकार नै स्थानीय सरकार हो ।
घरघरमा सिंहदरबार भन्ने नाराका साथ २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । तर, धेरै नागरिकले स्थानीय सरकारबाट जनअपेक्षा अनुसारको सेवा नपाएको गुनासो समेत गर्ने गरेका छन् भने कतिपय स्थानीय तहले उदाहरणीय कामसमेत गरेका छन् ।
केही स्थानीय तहको कामले नागरिकमा आशा जगाएको छ । यस्तै पाँचथरको मिक्लाजुङमा पछिल्लो समय संरचनामा भएको विकास र किसानलाई दिएको अनुदानका कारण स्थानीय नागरिकमा स्थानीय सरकारप्रति आश जगाउँदै छ । तर, मिक्लाजुङ गाउँपालिकाको नेतृत्वले केही वडामा मात्र विकास गरेको अरु वडालाई नहेरेको गुनासो स्थानीयले गरेका छन् ।
पाँचथरको दक्षिणी गाउँपालिका मिक्लाजुङले बाँझो जग्गा नराखी बाँझो जग्गामा उत्पादन गर्ने किसानलाई अनुदानको व्यवस्था गरेको थियो । उत्पादन बढाउनका लागि नीति नै बनाएर कृषकलाई प्रोत्साहन गर्ने कार्य सुरु गरेको छ । ४० मुरीभन्दा धेरै धान फलाउने किसानलाई एक लाख रुपैयाँका दरले अनुदान वितरण गरिएको छ । यस्तै, चार फुट अग्लो र २० फुट लम्बाइको थाङ्ग्रो मकै फलाउने किसानलाई पनि एक लाख अनुदान दिने घोषणाअनुसार अनुदान दिएको छ । यस्तै, ३५ मनदेखि माथि आलु फलाउनेलाई प्रतिकेजी अनुदानको कार्यक्रम सुरु भएको छ । प्रतिकेजी २० रुपैयाँ अनुदान दिइएको छ । गत आर्थिक वर्षमा किसानलाई एक करोडमाथि अनुदान दिएको गाउँपालिकाले चालू आर्थिक वर्षमा ९६ लाख बराबरको अनुदान दिएको थियो । किसानको सहजका लागि प्याज, लसुनको समर्थन मूल्यसमेत तोकेर गाउँपालिकाले खरिद गर्ने गरेको छ ।
मिक्लाजुङ गाउँपालिकाले संरचना निर्माणमा पनि काम गरेको छ । आठवटै वडामा सडक निर्माण भइसकेको छ । एक वडाबाट अर्को वडा सडक सञ्जालमा जोडिएका छन् । कषि सडकहरू प्राथमिकतामा राखेर गाउँपालिकाले सडक निर्माण गरेको छ । मिक्लाजुङ गाउँपालिकाका सबै वडामा बिजुली पुगेको छ । शिक्षा क्षेत्रमा समेत विद्यालयलाई व्यवस्थित गर्न भवन र खेल मैदान निर्माणमा गाउँपालिकाले काम गरेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिले बताए ।
वडा कार्यालयलाई व्यवस्थित बनाउन एउटा वडाबाहेक सबै वडाको वडा कार्यालय निर्माण सम्पन्न भएको छ । पालिकाबाट सेवाग्राहीलाई सुविधाका लागि लिफ्टसहितको गाँउपालिका भवन निर्माण सम्पन्न भएको छ । सामुदायिक भवन निर्माणको कार्यसमेत सम्पन्न गरेर उद्घाटन भइसकेको छ
यस्तै खुल्ला आकासमुनि रहेको पशुहाट, कृषि हाट बजारलाई व्यवस्थित गरिएको छ । बधशाला निर्माण सम्पन्न भएको छ । पशु बजार लाग्ने ठाउँलाई व्यवस्थित गरिएको छ ।
आँखा अस्पतालका लागि ६ रोपनी जग्गा गाउँपालिकाको नाममा ल्याइएको छ । अब आँखा अस्पतालको निर्माण प्रकृया पनि अगाडि बढाउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष अमरराज माखिले बताए ।
रबि बजारमा चार रोपनी जग्गामा डम्पिङ साइट पनि तयार गरिँदै छ । चिडिया खानाका लागी १५ रोपनी जग्गा गाउँपालिकाले प्राप्त गरिसकेको र अब निकट भविष्यमा गाउँपालिकाले रबि बजारमा चिडियाखाना पनि सञ्चालन गर्ने तयारी गाउँपालिकाले गरेको छ ।
गाउँपालिकाले स्थानीयबासीसँंग २ सय ७५ रोपनी जग्गा निःशुल्क रूपमा गाउँपालिकाको नाममा ल्याएर प्रयोग गर्ने तयारीमा छ । स्वास्थ्य केन्द्र, सभागृह, कृषि थोक, बसपार्क, कवर्ड हल, डम्पिङ साइट, चिडियाखाना, चिस्यान केन्द्र, हाईअल्टीच्युट खेल मैदान, पशु बजार, कृषि भवन, आँखा अस्पताल, गाउँपालिका भवन, नापी, मालपोतलगायतका कार्यालयका लागि जग्गा गाउँपालिकाले निःशुल्क रूपमा स्थानीयबाट ल्याएको छ ।
मिक्लाजुङ गाउँपालिकाको केन्द्र रबि बजारभित्र दुई किलोमिटर सडक पिच गर्ने कार्य पनि सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्