लगानी सम्मेलन आज

–२७ निजीसहित ७७ परियोजना
–सबैभन्दा बढी ऊर्जाका २५
–साढे ३२ खर्ब लागत
–३४ करोडदेखि साढे तीन खर्बसम्मका परियोजना
–विभिन्न देशका ६५ प्यानलिष्ट
वैदेशिक लगानीका लागि आह्वान गर्दै शुक्रबार (आज)देखि सुरु हुने दुईदिने लगानी सम्मेलनमा सरकारले विदेशी लगानीकर्ता सामु ७७ परियोजना प्रस्तुत गर्दैछ । साढे ३२ अर्ब रुपैयाँ लागत रहेका सरकारी ५० र निजी क्षेत्रका २७ परियोजना सरकारले लगानीका लागि शोकेसको रुपमा प्रस्तुत गर्न लागेको हो ।
सम्मेलनमा ४० देशका ६ सय ५० विदेशी लगानीकर्तासहित १ हजारभन्दा बढी सहभागी हुनेछन् । एक दर्जनभन्दा बढी परियोजनाहरूको समझदारी र समझदारी गर्ने तयारी लगानी बोर्डले गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानी सम्मेलनका लागि आउने अधिकांश सहभागी बिहीबारनै काठमाण्डौ आईसकेको जानकारी दिए । “अधिकांश लगानी सम्मेलनमा आउने सहभागी आईसकेका छन्, उनीहरू सामु लगानीका लागि ७७ परियोजना प्रस्तुत गर्दैछौं,” उनले भने । बोर्डका अनुसार सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाल स्थिति विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैरआवासीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता हुँदैछन् ।
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उद्घाटन सत्रमा अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्वअर्थमन्त्री डा. रामशरण महत, म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन लगायतले सम्बोधन गर्दैछन् भने शनिबारको समापनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, अर्बपति उद्योगी विनोद चौधरी, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट लगायतले सम्बोधन गर्नेछन् ।
सम्मेलनअन्तर्गत विभिन्न सेसनमा ६५ जना प्यानलिष्टको रुपमा सहभागी हुँदैछन् । ती सेसनहरूमा विश्व बैंक अन्तरगतको वहुपक्षीय लगानी प्रत्याभूतिसम्बन्धी निकाय मिगाका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसंचालन सम्बन्धी उपाध्यक्ष डोङ ली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । प्रसिद्ध कम्पनीहरू माईक्रोसफ्ट, अमेजन, पावर चाईना, चाईना रेलवे, डाबर, यूनिलिभर लगायतका विश्व प्रसिद्ध कम्पनीहरूको उच्चपदस्थ प्रनिनिधिहरूको उपस्थिति रहने बोर्डले जनाएको छ ।
सम्मेलनको पहिलो दिन नेपालमा लगानीको अवसर, आर्थिक रुपान्तरणका लागि ऊर्जा, डिजिटल इकोनोमी, पर्यटन, उद्योग र महिला उद्यमीबारे छुट्टाछुट्टै सेसन हुनेछन् भने दोस्रो दिन शनिबार दिगो यातायात पूर्वाधार, कृषि तथा वन पैद्धावार, नेपाल र अन्र्तराष्ट्रिय लगानीका अनुभव लगायतका सेसन हुनेछन् ।
लगानी बोर्डका अनुसार ५० सरकारी परियोजनाको अनुमानित २६ हजार ३ सय १५ मिलियन डलर अर्थात २८ खर्ब ९४ अर्ब ७२ करोड ४८ लाख तथा निजीतर्फका २३ परियोजनाको अनुमानित लागत ३ हजार ३ सय ४१ मिलियन डलर अर्थात ३ खर्ब ६७ अर्ब ५४ करोड रुपैया अनुमान गरिएको छ । सम्मेलनमा सबैभन्दा बढी २५ आयोजना ऊर्जाको पूर्वाधारतर्फ र सबैभन्दा कम ३ आयोजना शिक्षा तथा स्वास्थ्यतर्फ छन् । त्यसैगरी पर्यटनतर्फ १७, यातायाततर्फ ११, कृषितर्फ ८, सहरीतर्फ ७ र उद्योगतर्फ ६ परियोजना लगानी सम्मेलनमा प्रस्तुत हुन लागेका छन् । विदेशी लगानीका लागि प्रस्ताव गरिएका आयोजनाहरूमा सबैभन्दा कम ३४ अर्ब ५४ करोडदेखि ३ खर्ब ६९ अर्बसम्मका परियोजना छन् । सबैभन्दा कम एकीकृत कृषि पूर्वाधार परियोजना गोदावरी अत्तरियाको लागत ३४ करोड ५४ लाख छ भने सबैभन्दा बढी काठमाडांै पोखरा लुम्बिनी विद्युतीय रेलको ३ खर्ब ६९ अर्ब २७ करोड रुपैयाँ छ ।