Logo

कोरियन भाषा परीक्षा वैशाखदेखि

पाँच वर्षयताकै बढी नेपाली कामदार कोरिया जान पाउने
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत विगत ५ वर्षयताकै बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षा गर्ने भएको छ । सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ को लागि ९ हजार ६५४ जनालाई छनोट गर्ने योजनासहित आगामी वैशाखबाट सञ्चालन गर्न लागिएको हो ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार भाषा परीक्षा वैशाख २६ बाट असोज २१ गतेसम्म चरणबद्ध रुपमा हुनेछ । शाखाका निर्देशक पुष्पराज कटुवालले कोरियाका रोजगारदाताले नेपाली श्रमिक रुचाएपछि नेपालबाट ठूलो संख्यामा युवा लैजाने गरी भाषा परीक्षाको तयारी गरिएको हो । उनले कोरिया र नेपाल सरकारबीच भएको श्रम समझदारी पत्र (एमओयू) अनुसार कोरियामा नेपाली युवालाई कामदारको रुपमा पठाउन पहिलो चरणको छनोटका लागि भाषा परीक्षा गर्न लागिएको बताए । “कोरियाले कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ७४१ र उत्पादनमूलक क्षेत्रमा ६ हजार ९१३ नेपाली लैजाने गरी भाषा परीक्षा गर्न लागेको हो,” निर्देशक कटुवालले कारोबारसँग भने, “हाल कोरिया जाने योग्यसूची (रोष्टर) मा धेरै नेपाली नभएका कारण भाषा परीक्षा गर्न लागिएको हो ।” परीक्षाको आवेदन भने चैत १४ देखि २१ गतेसम्म अनलाइनमार्पmत लिने शाखाले जनाएको छ ।
कोरियन भाषा परीक्षामा विगतमा नयाँका लागि पिबिटी (पेपर बेस टेस्ट) र कोरिया गएर फर्केकाका लागि सिबिटी (कम्प्युटर बेस टेस्ट) गरिँदै आएकोमा यो परीक्षा युबिटी (युविक्युट्स बेस टेस्ट) प्रणालीबाट लिइने जनाइएको छ । यो प्रणालीमा प्रत्येक परीक्षार्थीलाई कम्प्युटरको सट्टा ट्याब्लेटबाट परीक्षा लिइने छ । भाषा परीक्षाका लागि परेको आवेदनको आधारमा एक सिप्mटमा २०० जनाका दरले दिनको ३ वा ४ सिप्mट परीक्षा सञ्चालन गरेर दिनमा अधिकतम ८०० जनाले परीक्षा दिने व्यवस्था मिलाइएको छ । यसको तयारीका लागि शाखाले भैंसेपाटीमा रहेको एचआरडी कोरिया भाषा केन्द्रलाई तयारी अवस्थामा राखेको छ । सन् २००८ देखि वर्षेनी हुँदै आएको ईपीएस श्रमिक भाषा परीक्षा पछिल्लो २ वर्ष कोरोना संक्रमणका कारण स्थगन गरिएको थियो ।
शाखाले भाषा परीक्षालाई मर्यादित बनाउन परीक्षार्थीको बायोमेट्रिक गर्ने भएको छ । अन्य व्यक्तिको नाममा अनधिकृत व्यक्तिले परीक्ष दिएमा ४ वर्षसम्म भाषा परीक्षामा सामेल हुन नदिइने शाखाले जनाएको छ । ईपीएस अन्तर्गत हालसम्म ७७ हजार नेपाली कोरिया प्रवेश गरिसकेका छन् । त्यसमध्ये हाल ३५ हजार नेपाली कोरियाका विभिन्न साना तथा मझौला उद्योगमा कार्यरत रहेका छन् । कोरियाले उत्पादनमूलक, कृषि तथा पशुपालन, सेवा, निर्माण क्षेत्रमा विभिन्न १६ देशबाट श्रमिक माग गर्दै आए पनि नेपालबाट भने कृषि र उत्पादनमूलक क्षेत्रमा मात्र श्रमिक माग गरिँदै आएको छ । नेपालबाट सन् २०१९ मा ७ हजार १३६, सन् २०२० मा १ हजार २७ र सन २०२१ मा ८०३ जना नेपाली रोजगारीका लागि गएका थिए । कोरोना संक्रमणअघि नेपालबाट वार्षिक ७ हजारभन्दा बढी नेपाली युवा कोरिया जाने गरेका थिए । जिटुजी माध्यमबाट छनोट हुने भएकाले कोरिया जाने श्रमिकको अधिकतम १ लाख रुपैयाँमात्र खर्च हुने शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्