सिन्धुलीका सबै पालिका सडक सञ्जालसँग जोडिए «

सिन्धुलीका सबै पालिका सडक सञ्जालसँग जोडिए

सिन्धुलीका नौवटै स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन् । कमलामाई, दुधौली नगरपालिका र तीनपाटन, गोलन्जोर, फिक्कल, मरिण, सुनकोसी, घ्याङलेख र हरिहरपुरगढी गाउँपालिका सडक सञ्जालसँग जोडिएका हुन् । नौ स्थानीय तहका ७९ वडामध्ये अधिकांशमा सडक पुगेको छ ।
दुधौली नगरपालिकाको १४ वटै वडामा सडक पुगेको नगरप्रमुख घनश्याम राउतले बताए । “नगरपालिकाका सबै वडा सडक सञ्जालसँग जोडिएका छन्,” उनले भने, “मदन भण्डारी राजमार्गसँग धेरै वडा जोडिएका छन् । ग्रामीण भेगका वडामा पनि सडक विस्तार भइसकेको छ ।” मदन भण्डारी राजमार्गले दुधौली नगरपालिकाको नौ वटा वडा छोएको छ । राजमार्गले वडा नम्बर १, २, ३, ४, ५, ७, ८, ९ र १० नम्बर वडालाई छोएको मेयर राउतले बताए । साथै नगरका वडाभित्र स्थानीय सरकार, प्रदेश र संघको सहयोगमा कालोपत्रे सडकसमेत निर्माण भएका छन् । “वडाका भित्री सडक पनि कालोपत्रे भएको छ । एडीबीको सहयोगमा वडा नम्बर १० र वडा नम्बर १३ जोड्ने सडक कालोपत्रे भएको छ । साथै वडा नम्बर ३ बाट वडा नम्बर ६ जोड्ने पनि कालोपत्रे सडक निर्माण भएको छ,” उनले भने । नगरपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको नगरप्रमुख राउतको भनाइ छ । स्थानीय तह आएसँगै गाउँगाउँमा मोटरबाटो पुगेको उहाँले बताए । “स्थानीय सरकार आएसँगै गाउँगाउँमा मोटबाटो पुगेको छ । प्रत्येक वडाको आफ्नै भवन निर्माण भएको छ । दुधौली नगरपालिकाको प्रशासनिक भवन समेत निर्माण भएको छ,” उनले भने ।
तीनपाटन गाउँपालिकाको पनि प्रत्येक वडा सडक सञ्जालसँग जोडिएको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापा मगरले जानकारी दिए । गाउँपालिकाको ११ वटै वडामा सडक विस्तार भएको उनको भनाइ छ । “स्थानीय सरकार बनेपछि सबै वडामा सडक पु¥याएका छौं,” उनले भने, “सडकले जोडिएका वडामा त्यहाँ उत्पादन भएका वस्तु बजारीकरण गर्न सजिलो भएको छ ।”
कमलामाई नगरपालिकाको १४ वटै वडामा सडक विस्तार भएको छ । ग्रामीण भेगमा विस्तार भएको सडकमा भने बर्खाको समयमा बन्द हुदाँ स्थानीयले सास्ती खेप्नु परेको गुनासो गरेका छन् । नगरपालिकाको धेरै वडा बिपि साथै मदन भण्डारी राजमार्गसँग जोडिएका छन् । गाउँमा सडक विस्तार हुदाँ स्थानीय उत्पादन भएका वस्तु बजारीकरण गर्न सजिलो भएको स्थानीयले बताएका छन् ।
मरिण गाउँपालिकाको पनि सबै वडामा सडक विस्तार भएको मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनले बताए । गाउँपालिकाको वडा नम्बर १ मा भने कच्ची सडकका कारण बर्खाको समयमा समस्या हुने गरेको उनको भनाइ छ । यस्तै गोलन्जोर गाउँपालिकाको पनि प्रत्येक वडा सडक सञ्जालसँग जोडिएको छ । जिल्लाको सुनकोसी, घ्याङलेख, फिक्कल र हरिहरपुरगढी गाउँपालिकाका वडा सडकसँग जोेडिएका छन् ।

उर्मिला भट्टराई

प्रतिक्रिया दिनुहोस्