Logo

कार्यसम्पादनमा गुठीचौर जुम्लाकै अब्बल

जुम्लाको गुठीचौर गाउँपालिका कार्यसम्पादनमा जिल्लाकै अब्बल गाउँपालिकाका रूपमा सावित भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनमा जुम्लाका आठ स्थानीय तहमध्ये गुठीचौर गाउँपालिका पहिलो भएको हो ।
आयोगले आगामी आव २०७९-०८० मा स्थानीय सरकारलाई समानीकरण अनुदान दिनका लागि कार्यसम्पादनका आधारमा गरिएको मूल्यांकनको प्रतिवेदन गत फागुन १८ गते सार्वजनिक गरेको थियो । सोही प्रतिवेदनअनुसार जुम्लाका आठ स्थानीय तहमध्ये गुठीचौर गाउँपालिका ६५.०२ अंकसहित पहिलो भएको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । पहिलो कार्यकालमा गरेका काम तथा सेवा प्रवाहको आयोगले सही मूल्यांकन गरेकोमा जनताका काम गर्ने थप ऊर्जा मिलेको उल्लेख गरे ।
वित्त आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्यांकनका लागि १७ वटा सूचकलाई आधार बनाएको थियो । अध्यक्ष भण्डारीले भने, “सबै सूचकअनुसार काम गरेर कार्यसम्पादनमा जिल्लाकै पहिलो पालिका हुनुमा आम सरोकारवालाको सहयोग छ । जिल्लाकै पहिलो गाउँपालिका बन्नुमा बजेटको सही सदुपयोग, सबै वडामा पूर्वाधार विकास, कर्मचारीको सहयोग, स्वास्थ्य सेवा, ज्येष्ठ नागरिकको सुरक्षा, चुस्त सेवा प्रवाहलगायतका कारण छन् । कामको सही मूल्यांकन हुँदा हर्षित छौं ।” यसका साथै कर्णालीका ७९ वटा स्थानीय तहमध्ये हुम्लाको सिमकोटा गाउँपालिका भने ७५.३१ अंकसहित प्रदेशकै पहिलो भएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
गुठीचौरका प्रमुख प्रशासकीय अधिकृत मदनप्रसाद देवकोटाले भौगोलिक विकटता, सीमित स्रोतका बीच पनि कर्मचारी जनप्रतिनिधिको सक्रियताले पालिका पहिलो भएको बताए । अब आगामी दिनका लागि चुनौती र जिम्मेवारी थपिएकाले प्रदेशकै उत्कृष्ट हुने गरी काम गर्नुपर्नेमा जोड दिए ।

गुठीचौरमा चार वर्षमा भएका काम
कार्य सम्पादनामा जिल्लाकै पहिलो भएपछि गुठीचौर गाउँपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी पाँच वर्षमा भएका प्रगति विवरण सार्वजनिक गरेको छ । पाँच वर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सञ्चार, सिँचाइ, खानेपानीलगायतका विभिन्न क्षेत्रमा गरेका कामको सार्वजनिकीकरण गरेको हो ।
जसमा झारज्वाला घट्ट लिफ्ट इरिगेसन र विगारे लिफ्ट इरिगेसन, रेडियो गुठीचौरको स्थापना तथा संञ्चालन, गरिबसँंग अध्यक्ष कार्यक्रमअन्तर्गत उद्यमशिलता विकास र बाख्रा वितरण, गरिब जनलाई औषधि उपचारको व्यवस्था, ४० देखि ५९ वर्षसम्मका एकल पुरुष तथा महिलालाई भत्ता वितरण, कृषि क्षेत्रमा पकेट जोन तथा ब्लक स्थापना गरी सञ्चालनमा रहेका तथा व्युटाकुलर निषेध गरिएको छ ।
पालिकाका पाँचवटै वडाका सबै बस्तीमा ग्रामीण सडक पुगेको छ भने अन्तरजिल्ला र अन्तरपालिका जोड्ने सडक निर्माणाधीन अवस्थामा छन् । पाँच वर्षमा झण्डै ४७ वटाभन्दा बढी ऐनकानुन कार्यविधि निर्माण गरेको छ ।
त्यस्तै, प्राविधिक शिक्षा अध्ययन गर्ने छात्र-छात्रालाई छात्रवृत्तिको व्यवस्था, किसानको सम्मानका लागि भैंसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत ४० वटा भैंसी वितरण, गुठीचौर गाउँपालिकाका स्वास्थ्य सस्थामा एसी जडान, किसानलाई व्यावसायिक बनाउनका लागि फुजी स्याउमा अनुदान, गुठीचौरका प्रत्येक बस्तीमा मोटर बाटो पुगेको, गुठीचौरका प्रत्येक घरमा एक घर, एक धारोको व्यवस्था, प्रत्येक विद्यालयमा भूकम्प प्रतिरोधि संरचनाको निर्माण भएका छन् ।
साथै, उज्यालो पालिकाकाअन्तर्गत सबै घर बस्तीमा विद्युतीकरण, पाँच बेडको अक्सिजनसहित कोभिड अस्पतालको स्थापना, अन्तरजिल्ला जोड्ने सडक निर्माण, गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था, पर्यटन प्रवद्र्धनका लागि चोत्रा होमस्टे सञ्चालन, पदमार्गा निर्माण, गुठीचौर पूर्वाधार निर्माण, आधुनिक काठेपुल निर्माण, स्याउ बगैंचा व्यवस्थापन तथा ओखर बगैंचा व्यवस्थापन भएका छन् भने वातावरण संरक्षणका लागि वडा नं २ र ३ मा एक घर एक ग्यास वितरण, जिल्लाकै पहिलो डिजिटल गाउँपालिका घोषणा, अप्टिकल फाइबर बस्तीहरूमा इन्टरनेट विस्तार, बृहत् धौलिगाड खानेपानी आयोजनामा लगानी गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । वित्त आयोगको प्रतिवेदनले आफ्नो कार्यकाललाई सफल र अब्बल बनाएकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्