महिला व्यवसायीलाई कोका–कोला नेपालको सक्षम तालिम

कोका–कोलाले बोटलर्स नेपालसँग मिलेर ‘सक्षम’ कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत नेपालका विभिन्न ठाउँमा किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आएका १ हजार महिला व्यवसायीलाई व्यवसायिक तालिम दिने योजना रहेको छ ।
अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को नारा ‘दिगो भविष्यको लागि आज लैङ्गिक समानता’ भन्ने नारालाई समर्थन गर्दै यो कार्यक्रममा महिलाहरुलाई व्यापारिक र आर्थिक रुपमा सक्षम बनाउने योजना राखिएको कम्पनीले जनाएको छ ।
यो कार्यक्रमले महिलाहरुलाई त्यस्तो ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखेको छ जसले उनीहरुलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्दै समग्रमा राष्ट्रकै आर्थिक विकासमा सहयोग पु-याउन सक्षम बनाउने कम्पनीले जनाएको छ । त्यसैले यो कार्यक्रम यस्ता पसल सञ्चालन गर्ने महिलाहरुको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई र डिजिटल वालेटको प्रयोग जस्ता विषयमा क्षमता अभिवृद्धि गर्न डिजाइन गरिएको हो ।
“नारी सक्षम हुनु भनेको सम्पूर्ण राष्ट्र नै सक्षम हुनु हो” कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “त्यसैले हामीले महिलालाई सक्षम बनाउने उद्देश्यले पहिला पनि ‘स्टार’ र ‘५बाई२०’जस्ता कार्यक्रमहरु सञ्चालन गरेका थियौं र ती कार्यक्रमले उहाँँहरुको जीवनमा सकरात्मक परिवर्तन पनि ल्याउन सफल भएका थिए ।” उनका अनुसार महिला सशक्तीकरणसम्बन्धी यस्तै कार्यक्रम सञ्चालन गर्ने अभियानअन्तर्गत यो वर्ष कम्पनीले नेपालभरि साना किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आइरहेका १ हजार महिलालाई व्यवसायिक तालिम दिन लागिएको हो ।
बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले नेपालको ग्रामीण तथा सहरी क्षत्रका धेरैजसो किराना पसल र खाजा घरहरु प्रायः महिलाले नै चलाएको उल्लेख गर्दै कोभिड महामारीले उनीहरुको व्यापारमा धेरै चुनौतीहरु ल्याएको बताए ।
“यो कार्यक्रममार्फत हामीले उहाँहरुलाई यस्ता चुनौतीहरुको सामना गर्न सक्षम बनाउने र उहाँहरुको व्यापारिक क्षमता अभिवृद्धि गराउने लक्ष्य लिएका छौं” उनले भने, “कार्यक्रमले महिलाहरुको व्यापार राम्रोसँग सञ्चालन गर्न सक्षम बनाउनेछ ।”