Logo

मालढुंगा–बेनी सडक निर्माण कार्य धमाधम

म्याग्दी र मुस्ताङसँंगै चीनको कोरलानाकासँंग जोडिने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गतको मालढुंगा–बेनी सडक खण्डको १३ किलोमिटर सडक स्तरोन्नति गर्ने काम धमाधम भएको छ । गतचैतमा ठैक्का सम्झौता गरेर काम अघि बढेको आयोजनामा निर्माण कम्पनीले कटिङ, रिटेनिङ वाल र कल्भर्ट निर्माण कामलाई तीव्रता दिएको छ ।
गत २०७७ चैतमा ५२ करोड ८६ लाखमा ३१ हजार २ सय ८१ रुपैयाँमा ठेक्का सम्झौता गरेको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले गत साउनदेखि सडक निर्माण थालेको हो । ३० महिनामा सम्पन्न गर्ने गरी आयोजनाले निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौतालगत्तै निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भएको छ । प्रत्येकदिन बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म १ सय ५० जना मजदुर सडक बनाउने काममा परिचालित भएका छन् । ठाउँठाउँमा उपकरण प्रयोग गरेर सडक विस्तार गर्ने काम गरिएको छ ।
पर्वतको मालढुंगादेखि ८ किलोमिटरसम्मको खण्डमा मजदुर र उपकरण परिचालन गरेर काम गरिरहेको बेनी जोमसोम कोरोला सडक आयोजनाका इन्जिनियर मन्दा पन्तले जानकारी दिए । उनले ५ किलोमिटरसम्मको खण्डको स्टक्चरको काम करिब सकिएको छ । सडक चक्ला बनाउने, नाली निर्माण र सडकको दुवैतर्फ रिट्रेनिङ वाल लगाउने काम सकिएको बताए ।
कटिङ, रिट्रेनिङ वाल र कल्भर्ट निर्माण कामलाई तीव्रता दिएको निर्माण व्यवसायीको अहिलेको गतिलाई हेर्दा सम्झौता समयअवधिभित्र सडक स्तरोन्नति सहित कालोपत्रे योजना सम्पन्न हुने उनले विश्वास गरे । राष्ट्रिय गौरवको सडक भएकाले आयोजना कार्यालयले पनि निरन्तर ताकेता र साइटको अनुगमनलाई प्राथमिकतामा राखेको कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला सडक) का योजना प्रमुख जगत प्रजापतिले बताए ।
२०७९ को चैत मसान्तसम्म योजना सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । सडक स्तरोन्नति गरेर दुई लेनको सडक बनाउन लागिएको हो । मालढुंगादेखि बेनीसम्म १३ किलोमिटर सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका थिए । गतवर्ष यो सडकलाई बेनी–जोमसोम कोरोला सडक योजनाअन्तर्गत राखेर निर्माण गर्ने निर्णय भएपछि ठेक्का भई काम अगाडि बढेको हो ।
हाल ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सफाल्ट प्रविधिको कालोपत्रे गरिने आयोजनाले जनाएको छ । २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्रे भएको मालढुंगा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो । सडक जीर्ण हुँदा मुस्ताङ र म्याग्दीको भ्रमणमा आउने पर्यटकले सास्ती भोग्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्