नेपाल–भारत जेएससी बैठक आज

नेपाल–भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) को बैठक बुधबार तथा बिहीबार बस्ने भएको छ ।
विगत दुई वर्षदेखि हुन नसकेको बैठकमा यसपटक जलविद्युत आयोजनामा संयुक्त लगानी र विकास, नेपाल भारत ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारणलाइन आयोजना र निर्माण तथा जलविद्युत क्षेत्रमा लगानीबारेमा छलफल हुने ऊर्जा मन्त्रालयका अधिकारीले बताए ।
यसअघि २०७६ असोज अन्तिम सातामा भारतको बैंग्लोरमा जेएससीको बसेको थियो । काठमाडौंमा बुधबार हुने बैठकमा नेपाल तथा भारतका ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूह (जेडब्लूजी)को बैठक बस्ने छ । बैठकले टुंगो लगाएका विषय दोस्रो दिन हुने सचिवस्तरीय बैठकमा पेस हुनेछन् । सचिवस्तरीय बैठकमा ऊर्जासचिव देवेन्द्र कार्कीले नेपाल तथा भारतीय ऊर्जासचिव आलोक कुमारले भारतको नेतृत्व गर्नेछन् ।
बैठकमा नेपालमा उत्पादित विद्युतलाई सहजै भारतीय बजारमा प्रवेश दिनेबारे पनि छलफल हुने ऊर्जा मन्त्रालयका अधिकारीले बताएका छन् । नेपालले हाल भारतमा ३९ मेगावाटका आयोजनाको बिजुलीमात्रै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा निर्यात गर्ने अनुमति पाएको छ । तर, नेपाल विद्युत प्राधिकरणले थप ८ सय १४ मेगावाट बराबरका आयोजनाको बिजुलीलाई पनि बजारमा प्रवेश दिन प्रस्ताव गरेको छ ।
सचिवस्तरीय बैठकमा नेपालको बिजुली बंगलादेश निर्यातका लागि नेपाल, भारत तथा बंगलादेशबीच त्रिदेशीय बैठक आयोजनाबारे छलफल हुनसक्ने पनि अधिकारीहरूले बताएका छन् ।