‘मौद्रिक नीतिको समीक्षाले सेयर बजार प्रभावित हुँदैन’

सेयरबजार विश्लेषक अनलराज भट्टराईले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सेयर बजारको लागि सकारात्मक रहेको बताएका छन् ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको विषयमा प्रतिक्रिया दिँदै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा नेपाली सेयर बजारको लागि सकारात्मक रहेको बताए । उनले सेयर बजारलाई मौद्रिक नीतिले कुनै पनि प्रभाव नपार्ने जिकिर गरे । भट्टराईले अहिले दैनिक ५ देखि ६ अर्बको सेयर कारोबार भइरहेको र प्रत्यक्ष सेयर कर्जा मात्रै ८७ अर्ब बढी पुगेको अवस्थामा सेयर कर्जा घटाएको कारण बजार बिग्रियो भन्नु समाचार मात्रै भएको टिप्पणी गरे ।
पछिल्लो समय छोटो समयमा धेरै कमाउने ढङगले नियोजित रुपमा सेयर बजारमा चलखेल गर्नको लागि मौद्रिक नीतिको असर भन्ने गरिएको उनको दावी छ । राष्ट्र बैंकले सेयर कर्जामा ४-१२ को नीतिले लगानीकर्तालाई असर नगर्ने उनले बताए । भट्टराईले लगानीकर्ता आफू सक्षम भएर समाचारको पछि लाग्न नहुने जानकारी दिए । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत साना लगानीकर्तालाई संरक्षण गर्ने काम गरेको तर ठूला लगानीकर्ताहरुले चलखेल गरेको भट्टराईले दाबी गरे । अहिले राष्ट्र बैंकको मौद्रिक नीतिको विरोध गर्नु ठूला लगानीकर्ताको नाफा कमाउने तरिका मात्रै भएको उनको भनाइ छ ।
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा धितोकर्जामा ४÷१२ को सिमा लगाएर परिमार्जन नगर्नु सेयर बजारलाई हेर्ने दृष्टि नै कुदृष्टि भएको बताइन् । उनले सेयर बजारमा ४÷१२ को सीमा नै राख्नु पर्ने अवस्था नभएको बताइन् । पोखरेलले सेयर धितो कर्जा लिँदा नै लगानीकर्ताले धितो मार्जिन राखेर कर्जा लिने गरेको बताइन् ।
उनले अहिले सरकार एउटा पार्टीको, अर्थमन्त्री अर्काे पार्टी र गभर्नर अर्को पार्टीको भएकाले सेयर बजारको लागि बन्ने नीति एक हप्ता,एक महिना तथा दिनैपिच्छे परिर्वतन हुने गरेकाले लगानीकर्ता मारमा परेको जिकिर गरिन् । मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले ४÷१२ को सीमा हुँदा हुँदै धितो कर्जा मार्जिन परिर्वतन गर्नु नियामक निकाय र सरकारले सेयर बजारलाई कुन रुपमा हेर्छ भन्ने ज्वलन्त उदाहरण भएको उनको भनाइ छ । बजार सधैं बढाउने भन्दा पनि सेयर बजारप्रति सरकारले ल्याउने नीति स्थिर हुनु पर्ने पोखरेलको भनाइ छ ।
अर्थमन्त्रालय तथा नेपाल राष्ट्र बैंक चारै तिरबाट सेयर बजारमा नीतिगत प्रहार गर्ने हो भने सेयर बजार सूचक एक हजार मात्रै नभएर २९२ मा पुग्न सक्ने उनले बताइन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै कर्जा लगानीमा थप कडाई गरेको छ । राष्ट्र बैंकले समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत कर्जा, सेयर धितो कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल स्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गर्ने नीति ल्याएको छ । मौद्रिक नीतिमा अन्तर बैंकिङ ब्याजदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशतले थप गरी ७ प्रतिशत कायम गरिएको छ ।