जुम्लाका चार केन्द्र वैज्ञानिकविहीन, अनुसन्धान ठप्प
गोठाला र सहयोगीले धानेका अनुसन्धान केन्द्र

जुम्लाका अनुसन्धान केन्द्रहरू गोठाला र कार्यालय सहयोगीका भरमा सञ्चालन भइरहेका छन् । वर्षौंदेखि वैज्ञानिकसहितका दक्ष जनशक्ति अभावले अनुसन्धान केन्द्र गोठाला र कार्यालय सहयोगीले धानेका हुन् ।
कृषि अनुसन्धान केन्द्र राजिकोट, कृषि अनुसन्धान केन्द्र वियनगर, भेडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौर र उच्च पर्वतीय कृषि अनुसन्धान केन्द्र गुठिचौर वर्षौंदेखि वैज्ञानिकविहीन छन् । जसका कारण अनुसन्धान प्रभावित भएको छ भने राज्यको करोडौं बजेट लगानी गरे पनि अनुसन्धानको उपलब्धि शून्य देखिएको छ ।
२०२८ सालमा राजा महेन्द्रले स्थापना गरेको भेडाबाख्रा अनुसन्धान केन्द्रको बितेको पाँच दशकको उपलब्धि शून्य छ । नयाँ भेडासँंग स्थानीय जातको भेडा क्रस गरी उन्नत जातको भेडा उत्पादन गर्ने, उत्पादित भेडा देशभर बिक्री गर्ने लक्ष्य भए पनि वैज्ञानिक अभावले भेडाबाख्रा अनुसन्धान केन्द्र गोठालाहरूले धानेका हुन् ।
गोठाला नरबहादुर बोहोरा, जयप्रसाद बोहोरा र हरि बुढाले भेडाबाख्रा अनुसन्धान केन्द्रलाई सम्हालेका छन् । दक्ष जनशक्ति अभावले अनुसन्धान ठप्प हुँदा भेडाको रेखदेख गर्ने, दानापानी गर्ने काम गोठालाकै काँधमा छ । भेडाबाख्रा अनुसन्धान केन्द्रमा तीनजना वैज्ञानिकको दरबन्दी हो । तर एकजना मात्रै कार्यरत छन् । कार्यरत वैज्ञानिक डा. रमेश शाहले भने, “तीनजना वैज्ञानिकको दरबन्दी भए पनि ममात्रै छु । तीनजना प्राविधिक अधिकृत हुनुपर्नेमा एकजना पनि छैनन् । २२ जनाको दरबन्दीमा आठ जनामात्रै कार्यरत छौं । विशेषगरी प्राविधिक अधिकृत र वैज्ञानिक नहुँदा अनुसन्धान ठप्प छ ।”
त्यस्तै उच्चपर्वतीय कृषि अनुसन्धान केन्द्र पनि कर्मचारीविहीन छ । भेडाबाख्रा अनुसन्धान केन्द्रकै वैज्ञानिक रमेश शाहले उच्चपर्वतीय कृषि अनुसन्धान केन्द्र पनि सम्हालेका छन् । तीनजना वैज्ञानिकसहित १८ जनाको दरबन्दी भए पनि उच्च पर्वतीय कृषि अनुसन्धान केन्द्र हालसम्म कर्मचारीविहीन अबस्थामा छ । उच्च भू–भागमा पाइने अन्नबालीको अनुसन्धान गर्न राज्यको करोडौं खर्चेर स्थापना भएको अनुसन्धान केन्द्रको कार्यालयमा धमिरा लाग्नमात्रै बाँकी रहेको जिसस उपप्रमुख कार्मा बुढा बताउँछन् ।

साथै, कृषि अनुसन्धान प्रतिष्ठान (नार्क) विजयनगरले यहाँको उन्नत जातको धान, सिमीलगायतका बालीमा अनुसन्धान गर्छ । त्यहाँ पनि वैज्ञानिक अभावले सिमी र धानको भइरहेको अनुसन्धान प्रभावित भएको छ । जम्मा दरबन्दी १८ जना रहेकोमा ११ जना कार्यरतमध्ये पाँचजना त कार्यालय सहयोगीमात्रै छन् । एकजना वैज्ञानिक हुनुपर्ने छैनन्, कृषि अनुसन्धान प्रतिष्ठान (नार्क) कर्मचारीभन्दा कार्यालय सहयोगीहरूले धानेका छन् ।
निमित्त प्रमुख हरिनारायण मण्डल भन्छन्, “जग्गा र सिँचाइ अभाव भएकाले अनुसन्धान गर्ने वातावरण नहुँदा वैज्ञानिक आउन चाहेका छैनन् । हामीले धेरै पटक माग गर्दा पनि सुनुवाइ भएको छैन । तलब खाने र घाम ताप्नेबाहेक अरु काम छैन ।” धान र सिमीमा भएको अनुसन्धाले उत्पादन बढाउने र किसानको दैनिकीमा सुधार आउने अपेक्षा गरे पनि अनुसन्धान केन्द्रकै बेहाल भएपछि जुम्ली सर्वसाधारणले आशा मारिसेकका छन् ।
उता कृषि अनुसन्धान केन्द्र राजिकोटले विशेषगरी आलुलगायतका तरकारी बालीको अनुन्धान गरी उन्न्तजात बजारमा ल्याउने काम गर्छ । तर त्यहाँ एकै जना वैज्ञानिकले मुस्किले कार्यालय चलाए पनि अनुसन्धान ठप्प छ । वैज्ञानिक राजकुमारी गिरी भन्छन्, “तीनजना वैज्ञानिक हुनुपर्नेमा एक जना ममात्रै छु । प्राविधिक अधिकृत तीन हुनुपर्नेमा एकजना छन्। १९ जनाको दरबन्दीमा १३ जनामात्रै कार्यरत छांै । वैज्ञानिकसहितका दक्ष जनशक्ति नहुँदा भइरहेका अनुसन्धान पनि प्रभावित भएको छ भने नयाँ अनुसन्धान गर्ने स्थिति पनि छैन ।”
जुम्लाका चार वटा अनुसन्धान केन्द्र कतै गोठाला, कतै कार्यालय सहयोगीले धानेका छन् । कतै एकजना वैज्ञानिकका भरमा दुई अनुसन्धान केन्द्र छन् भने दरबन्दी अनुसारका जनशक्ति कुनै केन्द्रमा पनि छ्रैनन् । कानुनी अड्चनका कारण विगत पाँच वर्षदेखि वैज्ञानिक नियुक्ति प्रक्रिया रोकिएको वैज्ञानिक रमेश शाह बताउँछन् । पटक पटक माग गर्दा पनि सुनुवाइ नभएको अनुसन्धान प्रभावित भएको उनको दुःखेसो छ ।