पाँचथरमा १६ हजार बढी मतदाता थपिए «

पाँचथरमा १६ हजार बढी मतदाता थपिए

पाँचथर-जिल्ला निर्वाचन कार्यालय पाँचथरको प्रारम्भिक विवरणअनुसार पाँचथरमा १६ हजार १ सय ४१ जना नयाँ मतदाता थपिएका छन् । स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत नयाँ मददाता थपिएका हुन् ।
पाँचथरमा २०७४ सालको अन्तिम नामावलीमा एक लाख २५ हजार २ सय २१ जना मतदाता थिए । अहिले १६ हजार १ सय ४१ मतदाता थपिएर एक लाख ३१ हजार ९ सय ८१ जना मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जानकारी दिएको छ ।
जिल्ला निर्वाचन कार्यालय पाँचथररका अनुसार दुई चरणमा सम्पन्न गरेको मतदाता नामावली संकलन १७ मंसिरदेखि १९ पुससम्म सञ्चालन भएको थियो । पहिलो चरणको मंसिर १७ गतेदेखि २६ गतेसम्म र दोस्रो चरणको मंसिर २९ देखि पुस ९ सम्म मतदाता नामावली संकलन अभियान सञ्चालन भएको थियो । दुई चरणको अभियान र प्रशासन कार्यालयमार्फत दर्ता भएको नामावलीअनुसार पाँचथरमा १६ हजार १ सय ४१ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।
निर्वाचन कार्यालय पाँचथरका अनुसार सबैभन्दा बढी फिदिम नगरपालिकामा ४ हजार ९ सय ३ नयाँ मतदाता थपिएका छन् भने सबैभन्दा कम तुम्बेवा गाउँपालिकामा ५ सय ५७ जनामात्र नयाँ मतदाता थपिएका छन् । त्यस्तै मिक्लाजुङ गाउँपालिकामा १८ सय ३३ जना, फाल्गुनन्द गाउँपालिकामा २९ सय ७० जना, कुम्मायक गाउँपालिकामा ११ सय ५९ जना, फालेलुङ गाउँपालिकामा, २ हजार ४ जना, याङवरक गाउँपालिकामा १६ सय ८० जना र हिहिहाङ गाउँपालिकामा १८ सय ४५ जना नयाँ मतदाता थपिएका छन ।
यो प्रारम्भिक तथ्यांकमात्र रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कुमारप्रसाद भट्टराईले बताए । केही दिनमा जिल्लाका आठवटै स्थानीय तहका केन्द्रमा पुगेर मतदाता नामावलीमा कुनै त्रुटि भए सच्च्याउन, बसाइँसराइ, मृत्यु वा अन्य कुनै कारण भए उजुरी दिन सकिने निर्वाचन अधिकारी भट्टराईले बताए ।
अहिलेको विवरण मतदाता नामावली संकलनबाट संकलित मतदाताको संख्यामात्र निकालिएको र ती मतदातालाई अद्यावधिक गर्न बाँकी रहेको निर्वाचन कार्यालयका प्रमुख कुमारप्रसाद भट्टराईले बताए । उनले केही दिनमै जिल्लाका कुल मतदाताको संख्या यकिन हुने जानकारी दिए । सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेपछि पाँचथरको मतदाता नामावली संकलन कार्य पनि रोकिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्