Logo

जापानमा नेपाली उत्पादन विस्तार गर्दै ‘आन्भी मार्केटप्लेस’

इन्टरनेटको व्यापकतासँगै नेपालीहरु स्वदेशी उत्पादनहरुको विश्व बजारीकरण खोजिरहेका छन् । अस्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, जापान जस्ता देशहरुमा अहिले प्रशस्तै नेपाली उत्पादनहरु विस्तार गर्ने उद्यमीहरु भेट्न सकिन्छ ।
यसै क्रममा लामो समयदेखि जापानमा बसोबास गर्दै आइरहेका आईटी तथा साइबर सेक्युरिटी क्षेत्रमा क्रियाशील युवा पवन थापा र सामाजिक अभियानमा सक्रिय रहेका कानागावा नेपाली कम्युनिटीका अध्यक्ष हरि सापकोटाको एउटा प्रयासले सयौ नेपाली कृषि उद्यमीहरुलाई जोड्नेछ । नेपाली समुदायको लागि केही नयाँ गर्ने हुटहुटीले जन्माएको इ–कमर्स प्लाटफर्म हो, आन्भी मार्केटप्लेस ।
आन्भी मार्केटप्लेस यहि १७ फेब्रअरीमा सार्वजनिक भएको छ । जापानमा बस्ने नेपालीहरुलाई लक्षित गर्दै विश्वबजारमा स्वदेशी उत्पादनहरु प्रवद्धन तथा बिक्री गर्ने उद्देश्य सहित आन्भी मार्केटप्लेसको सुरुवात भइरहेको प्रमुख कार्यकारी अधिकृत पवन थापाले बताए ।
आइटीको काम बाटै राम्रो आम्दानी गरिरहेको भएपनि थापाको स्टार्टअपप्रतिको मोहले तानेको यो प्लाटफर्ममा जापानिज प्रतिष्ठित कम्पनीहरुसँग सहकार्य साथै टिपिकल नेपाली तथा इन्डियन रेस्टुरेन्ट व्यवसायमा संलग्न हरि सापकोटाले साथ दिएका छन् । यसमा मल्टिभेण्डर इकमर्श प्लाटफर्म भएकोले जो कोहिले सहजै आफ्ना प्रडक्टहरु बिक्री गर्न सक्नेछन् । यसको लागि भेण्डरले कर्पोरेट डकुमेन्ट समावेश गरी रजिस्ट्रर गर्नुपर्ने हुन्छ ।
यस प्लाटफर्ममा जापानमा सञ्चालनमा आएका विशेषतः खाद्य पसल र रेस्टुरेन्टहरुलाई आवश्यक सम्पूर्ण गुणस्तरीय प्रडक्टहरु सस्तो र सुलभ रुपमा उपलब्ध गराउने लक्ष्य लिएर अगाडी बडिरहेको थापाले जानकारी दिएका छन् । कम्पनीले आन्भी मार्केटप्लेस सार्वजनिक गर्ने अवसरमा पहिलो अर्डरमा २० प्रतिशत र जापानको डिजिटल पेमेन्ट सेवा ‘पेपे’ मार्फत भुक्तानी गरेको खण्डमा १० प्रतिशत क्यासब्याक उपलब्ध गराउने जनाएको छ ।
ग्राहकले सामान खरिद र रिफरल प्रोग्रामको आधारमा रिवार्ड पोइन्ट प्राप्त गर्नेछन् । उक्त पोइन्टलाई ग्राहकले रिडीम गरी नेपालमा रहेका आफन्तहरुलाई गिफ्ट पठाउन, मोवाइलमा टपअप गर्न तथा स्टोरमै सामान खरिद गर्दा प्रयोग गर्न सकिने सुविधा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्