Logo

हिमपातले सडक निर्माण प्रभावित

जुम्ला हुँदै मनाङ–मुस्ताङ जोड्ने सडक निर्माण क्षेत्र तल्लो गुठिचौरमा जमेको हिउँ । तस्बिर : कारोबार

जुम्ला-कर्णालीमा तेस्रो पटक भएको भारी हिमपातले यहाँका विकास निर्माणका काम प्रभावित भएका छन् । बाक्लो हिउँ जमेपछि अन्तरजिल्ला र अन्तरपालिका जोड्ने ठूला सडक निर्माण आयोजना प्रभावित भएका हुन् । कर्णालीमा मंसिर लागेसँंगै चिसोले विकास निर्माण ठप्प हुने र पुस माघमा भारी हिमपातपछि विकासे काम पछि धकेलिने समस्या छ । मौसम प्रतिकूलकै कारण कर्णालीका अधिकांश योजना सम्झौताअनुसार काम सम्पन्न गर्न मुस्किल हुने गरेको छ ।
यसैबीच गएको माघ तेस्रो साता लगातार दुई दिन भएको भारी हिमपातले जुम्ला हुँदै मनाङ–मुुस्ताङ जोड्ने सडक निर्माण आयोजना प्रभावित भएको छ । चालू आवको असार मसान्तमै जुम्ला हुँदै डोल्पाको मौरेलेकसम्म ४४ किलोमिटर सडक निर्माण सक्ने सम्झौता भए पनि हिमपातले सडक निर्माणमा ढिलाइ हुने देखिएको छ ।
दुई वटा ठेक्कामार्फत जुम्ला हुँदै मनाङ–मुुस्ताङ जोड्ने सडक निर्माण भइरहेको छ । सडक डिभिजन जुम्लाका निमित्त प्रमुख सन्तोष भण्डारी भन्छन्, “जिरोदेखि १० किमिसम्म (कास्यम निर्माण सेवा) र २२ देखि ४० किमि डोल्पा मौरे लेकसम्म अर्घाखाँची महेश जेभी कम्पनीले निर्माण गरिरहेको छ भने बीचको १५ किमि सडक पूर्वाधार कार्यालयले निर्माण गरेको छ ।”
हालसम्म जिरोदेखि १० किमिसम्मको ३० प्रतिशत र २२ देखि ४० किमिसम्मको १५ प्रतिशत मात्रै सडक निर्माणको काम भएको छ । चालू आवको असार मसान्तसम्म काम सम्पन्न गर्ने दुवै फेजको ठेक्का सम्झौता छ । निमित्त प्रमुख भण्डारीले थपे, “जिरोदेखि १० किमिसम्मको सडक निर्माण निर्धारित समयमै सकिने देखिन्छ । २२ देखि ४० किमि सडक चालू आवमै सक्ने लक्ष्य भए पनि मौसम प्रतिकूलका कारण सम्भावना छैन । झण्डै चार फिट हिउँ जमेको छ । हिउँ पग्लिन चैत अन्तिमसम्म लाग्छ । निर्माण व्यवसायी फागुनबाटै काम सुरु गर्न तयार छन् । तर हिमपातले काम बढाउने स्थिति छैन ।”
कात्तिकदेखि दुवै फेजको कतै ट्रयाक खोल्ने र स्तरवृद्धि गर्ने काम सुरु भएको थियो । तर पुस दोस्रो साता र अन्तिम साता आएको हिउँले रोकिएको काम माघ अन्तिमबाट सुरु गर्ने तयारी भए पनि तेस्रो पटक भएको भारी हिमपातले सडक निर्माण झण्डै दुई महिना धकेलिएको छ ।
चालू आवमा जुम्ला हुँदै मनाङ–मुस्ताङ जोड्ने सडक निर्माणका लागि २० करोड बजेट विनियोजन भएको छ । सडक निर्माण क्षेत्र जुम्लाको पूर्वमा पर्ने गुठिचौर गाउँपालिका हुँदै उच्च हिमाली क्षेत्र मणिसाँघु चोत्रादेखि डोल्पातर्फ भएकाले बाक्लो हिउँ जमेपछि आवतजावतमै समस्या हुँदा सडक निर्माणसमेत प्रभावित भएको सडक डिभिजन जुम्लाका सबइन्जिनियर वीरेन्द्र रावलले बताए । उनका अनुसार हिउँ पग्लिने बित्तिकै निर्माणकार्य अघि बढ्ने छ ।
चालू आवमा सडक डिभिजन जुुम्लाले जुम्ला–मनाङ–मुस्ताङ सडकको १५ किमि सडक ग्राभेल गर्ने भएको छ भने बाँकी खण्ड स्तरवृद्धि तथा नाला निर्माण गर्ने स्टिमेट छ । जुम्ला हँुदै मनाङ–मुस्ताङ जोड्नका लागि सडक डिभिजन जुम्लाले डोल्पाको मौरेलेकसम्म निर्माण गर्ने छ भने त्यसपछि मनाङ–मुस्ताङतर्फ रुकुम सडक डिभिजन चौरजहारीले निर्माण गर्नेछ । जसमा चालू आवमा सडक डिभिजन रुकुम चौरजहारीलाई संघीय सरकारबाट पाँच करोड विनियोजन भएको छ ।
सडक डिभिजन रुकुमले बागलुङ जिल्लाको सीमासम्म सडक निर्माण गरी छोड्ने र बागलुङ जिल्लाले सिधै मनाङ–मुस्ताङ जोड्ने गरी सडक निर्माण गर्ने सडक विभागको योजना छ । बागलुङ सडक डिभिजनलाई चालू आवमा १० करोड बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्