घाटा बढे पनि हामी उपभोक्तालाई मन्द विष खुवाउँदैनौं

झन्डै तीन दशकअघि झापाको मेचीनगर नगरपालिका–६, काँकरभिट्टाका केही स्थानीय जुर्मुराएपछि स्वतःस्फूर्त रूपमा भएको बचत संकलनबाट स्थापना भएको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अहिले देशकै नमुना सहकारीमध्येमा पर्छ । २०५० सालबाट सेवा थालेको एनएमसीले अहिले प्रदेश १ को झापा, मोरङ र इलामलाई मुख्य कार्यक्षेत्र बनाएर काम गरिरहेको छ ।
११ अर्ब ८० करोड ५३ लाख रुपैयाँ कुल पुँजी रहेको संस्थामा एक लाख १५ हजार बढी सदस्य छन् । विभिन्न व्यवसायको माध्यमबाट सदस्यलाई रोजगारी सिर्जना गर्ने र आर्थिक अवस्था मजबुत बनाउनेतिर जोड दिने भएकाले एनएमसीप्रति आकर्षण बढेको हो । अहिले एनएमसीले वित्तीय व्यवसायसँगै डेरी, एकीकृत नमुना कृषि फार्म, सुपथ सहकारी पसल र चिया प्रशोधन व्यवसाय पनि अघि बढाइरहेको छ ।
कृषिमा जोड दिँदै एनएमसीले सञ्चालनमा ल्याएको डेरी व्यवसाय र एकीकृत नमुना कृषि फार्मका विषयमा केन्द्रित रहेर सहकारी विकास बोर्डका सदस्यसमेत रहेका एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीसँग कारोबारकर्मी मनिषा चम्लागाईंले गरेको कुराकानीको सार :
एनएमसी डेरी उद्योगको परिकल्पना कसरी गर्नुभयो ?
पशुपालन सजिलो व्यवसाय हो । तर, उत्पादित दूधले बजार नपाएको गुनासो कृषकबाट आएपछि वि.सं २०६८ देखि डेरी उद्योग सञ्चालनको प्रक्रिया अघि बढायौं । हामीसँग मेचीनगर–८, इँटाभट्टामा संस्थाको जग्गा थियो । ५ करोडसम्म लगानी गर्ने उद्देश्य राखेर संस्थाले संरचना निर्माण सुरु गरेको थियो । काम गर्दै जाँदा संरचना निर्माण, प्रशोधन र प्याकेजिङ मेसिन खरिदमा लगानी बढ्यो ।
यसरी २०७२ सालमा आइपुग्दा हामीले किसानबाट दूध संकलन गरी प्रशोधनसमेत सुरु ग¥यौं । एनएमसीसँग भएको मेसिनले प्रतिघण्टा ३ हजार लिटर दूध प्रशोधन गर्ने क्षमता राख्छ । प्रशोधित दूधलाई चिलिङ गर्ने, कोल्ड गर्ने, विभिन्न किसिमका प्रोडक्ट बनाउने, बजारसम्म पु¥याउने, स्टोर गर्ने काममा पनि लगानी थप भयो । यो समयसम्म आइपुग्दा हाम्रो लगानी आठ करोड रुपैयाँ बढी पुगिसकेको थियो ।
त्यस समयमा दूधको गुणस्तर नाप्ने ‘मिल्क क्यानलाइजर’को प्रयोग नै थिएन । डीडीसीले पनि इलामबाट मात्र दूध संकलन गथ्र्यो । झापामा दूधको उत्पादन नै थिएन । उत्पादन भए पनि बजारसम्म ल्याउने संयन्त्र थिएन । झापामा दूध संकलन केन्द्र थिएनन् । हामीलाई एउटा गोठबाट २० लिटर दूध खरिद गर्न बिहान बेलुका नै धाउनुपर्ने बाध्यता थियो । त्यसले हाम्रो लागत बढ्यो । त्यस समयमा बजारमा प्रशोधित दूधका बारेमा अनेकन भ्रम थिए ।
हाम्रो उत्पादनका बारेमा पनि स्वाभाविक रूपमा केही विरोध भए । दूध दुहेको तीन घण्टाभित्रमा प्रशोधन नगरे बिग्रने डर । हामीले दूध, दही, मोही, नौनी घ्यू, पनिर, आइसक्रिम बजारमा ल्याएका थियौँ । बजारमा गुणस्तर कायम गर्नुपर्ने, ग्राहकको मन जित्नुपर्ने तमाम कुरालाई सामना गर्दै अघि बढ्यौँ । सुरुका तीन वर्षसम्म प्रत्येक वर्ष एक करोडबराबरको घाटा बेहोर्नुप-यो । तर, एनएमसी पछाडि फर्कने अवस्थामा थिएन । हामीले लगानी गरिसकेका थियौं ।
यसरी आजको दिनसम्म आइपुग्दा हामीले प्रतिदिन १५ हजार लिटर दूध संकलन गर्ने गरेका छौं । हामीले सदस्यलाई प्राविधिक सहयोग गरेर दूध संकलन केन्द्रको स्थापना र विस्तार ग-यौं । जसका कारण हामी र किसानबीचको सेतुको काम दूध संकलन केन्द्रले गरिरहेका छन् । दूधको उत्पादन रहेको र कसैले संकलन केन्द्र नखोलेको अवस्थामा हामी आफैँले पनि संकलन केन्द्र खोलेका छौं । आज झापामा ६० वटा दूध संकलन केन्द्रको नेटवर्क छ । ती संकलन केन्द्रले अरू डेरीलाई पनि दूधको बिक्री गर्दै आएका छन् । झापाका २० वटा सहकारीले दूध संकलन गरेर हामीकहाँ पठाउनुहुन्छ । हामीसँग ४५ सय किसान प्रत्यक्ष रूपमा जोडिनुभएको छ । आज उहाँको बजारसमेत सुरक्षित भएको छ । अहिले डीडीसीसमेत दूध खोज्नका लागि झापामा आउने गर्छ ।
व्यवसायले राम्रो गति लिइरहेका बेला कोभिड–१९ भाइरसको महामारी आयो, फेरि संक्रमण दर बढ्दो छ । विगतमा कसरी किसानको दूध संकलन गर्नुभयो ? अहिले कसरी गर्दै हुनुहुन्छ ?
कोरोना महामारीबाट हामी पनि अछुतो रहन सकेनौँ । महामारीका कारण दूध संकलनमा केही बाधा पुग्¥यो । दुई–चार लिटर दूध उत्पादन गर्ने किसानलाई तपाईंहरू खानुहोस्, बजार छैन भन्न बाध्य हुनुप¥यो । व्यावसायिक कृषक मारमा पर्न सक्ने कुरालाई मध्यनजर राख्दै उहाँहरूले उत्पादन गरेको दूध हामीले जुनसुकै अवस्थामा पनि खरिद ग¥यौं । त्यसकारण ५० लिटर, १ सय लिटर, २ सय लिटर दूध उत्पादन गर्ने किसानहरू निराश हुनु परेन । पुनः ओमिक्रोनको संक्रमणदर बढ्दो क्रममा छ, तर हामी किसानले उत्पादन गरेको दूध ढुक्कसँग खरिद गर्नेछौं ।
हामीले गुणस्तरमा कुनै पनि सम्झौता गरेनौं । आज पनि बजारमा हाम्रो गुणस्तर सबैभन्दा माथि छ । गुणस्तरको हिसाबले सबैभन्दा माथि रहेको भन्दै नेपाल सरकारले खाद्य मेलामार्फत हामीलाई पटकपटक सम्मान गरेको छ । चौथो वर्षदेखि आज सातौँ वर्षसम्म आइपुग्दा हामी वित्तीय हिसाबले पनि सुरक्षित छौं । हाम्रो लगानी १५ करोड १० लाख रुपैयाँभन्दा बढी पुगेको छ । हाम्रो लक्ष्य नेपाली दाजुभाइलाई रोजगारी उपलब्ध गराउने पनि हो । त्यसमा हामी सफल भएका छौं ।
आर्थिक वर्ष २०७६-०७७ मा कोरोना महामारीकै बीच पनि हामीले ४१ लाख रुपैयाँ नाफा ग-यौं । आर्थिक वर्ष २०७७-०७८ मा १ करोड रुपैयाँ नाफा गर्ने लक्ष्य राखेका थियौं । त्यसमा ८९ लाख नाफा गर्न डेरी सफल भयो । यो वर्ष हामीले एक करोड ८० लाखबराबर नाफा गर्ने लक्ष्य राखेका छौं । मंसिरसम्मको तथ्यांक हेर्ने हो भने ५७ लाख रुपैयाँ नाफा गरिसकेका छौं । एनएमसीले कृषकलाई संरक्षित पुँजी कोषको पैसा फिर्ता गर्दैछ । यसपालि हामीले ४५ लाख रुपैयाँ संरक्षित पुँजी कोषको रकम फिर्ता गर्दै छौं ।
हामीले प्रदेश सरकारको सहयोगमा दूध पाउडर प्लान्ट निर्माण सुरु गरेका छौं । सरकारले भारतबाट हुने पाउडर आयात बन्द गरेकाले नेपालमा उत्पादित पाउडरले बजार पाउन थालेको छ । सम्भवतः साउनसम्म पाउडर प्लान्ट सञ्चालन गर्छौं । हामी यूएसडी प्रविधिको योजनामा पनि छौं । जसले ९० दिनसम्म दूधलाई सुरक्षित गर्न सक्छ । अहिले डेरी उद्योगमा मात्र ७८ जना नेपाली नागरिकले रोजगारी पाएका छन् ।
एनएमसीले कृषि क्षेत्रमा केके गरिरहेको छ ?
एनमएसीले वि.सं २०७५ माघदेखि एकीकृत नमुना कृषि फार्म पनि सञ्चालनमा ल्याएको छ । संस्थाको कोषमा भएको रकम हामीले कृषिमा पनि लगाएका हौं । मेचीनगर नगरपालिका–१४ दुवागढीमा १६ बिघा जग्गा खरिद गरी कृषि फार्म सञ्चालनमा ल्याएका छौं ।
नमुनाको रूपमा गाईपालन, माछापालन, फलफूल तथा तरकारी खेती, तरकारीका बेर्ना बैंक, किसानलाई तालिम, कस्टम हायरिङ सेन्टर सञ्चालन, बेल साइलेज उत्पादन, गरा सुधार कार्यक्रम तथा चक्लाबन्दी खेती गर्दै आएका छौं ।
जैविक विधिबाट खेती गर्ने हुनाले अहिलेसम्म नाफामा जान सकेका छैनौँ । घाटाको पिरियड बढोस् हामी त्यसका लागि तयार छौं । तर, हाम्रा उपभोक्तालाई विष खुवाउँदैनौँ । हामी रासायनिक मल प्रयोग गर्दैनौँ । हामी उत्पादनमा पनि सन्तुष्ट छौं ।
नमुना खेतीमार्फत कृषकलाई कसरी जोड्नुभएको छ ?
कृषिमा आधुनिक प्रविधिको प्रयोग, कृषकलाई कृषि उत्पादनमा लाग्न प्रेरित गर्ने, अग्र्यानिक कृषि उत्पादनमा जोड दिने एनएमसीको मुख्य लक्ष्य हो । हामी जति पनि उत्पादन गरिरहेका छौं, नमुनाको रूपमा गर्दै आएका छौं । विभिन्न किसिमका बाली लगाएर प्रयोग गर्ने र सफलतापछि किसानलाई सम्भावनाको बाटो देखाउने गरिरहेका छौं । कृषि व्यवसायप्रति जाँगर र अभिरुचि बढाउने गरी काम गरिरहेका छौं । अहिले पनि हामीले फर्सी, करेला, आलु, कोबी, चुकन्दर, बोडी, सिमी, काँक्रा, गोलभेंडा, खुर्सानी उत्पादन गर्दै आएका छौं ।
बीउको छनोट कसरी गर्ने, बेर्ना कसरी उत्पादन गर्ने, माटो कसरी तयार पार्ने, रोगबाट कसरी बच्ने भन्ने ज्ञान हाम्रा प्राविधिकमार्फत कृषकलाई दिँदै आएका छौं । तर, उत्पादन मात्र गरेर पुग्दैन, उत्पादनलाई बजारसँग जोड्नुपर्छ । अहिले किसानले उत्पादन गरेका कृषिउपज हामी बजारीकरण गरिरहेका छौं । कृषि उत्पादन उपभोक्ताको घर–घर पुगेर बिक्री गरिरहेका छौं । एनएमसीको उत्पादन भनेपछि कृषकहरू पनि पर्खेर बस्ने वातावरण बनिसकेको छ । कुनै समयमा धेरै बाली उत्पादन भए, खुद्रा बिक्रेतामार्फत पनि हामी तरकारी बेच्दै आएका छौं ।
हाम्रो उत्पादनलाई बेग्लै पहिचानका साथ बिक्री गर्न सकिरहेका छैनौँ । निकट भविष्यमा नै एनएमसीको उत्पादनलाई ग्रेडिङ, लेबलिङ र ब्रान्डिङ गर्ने काम गर्नेछौं । त्यसका लागि हामीलाई ‘कोल्डरुम’ चाहिन्छ । हामी कोल्डरुम निर्माण गरिरहेका छौं । हामीले १२ वटा एनएमसी पसल सञ्चालनमा ल्याएका छौं । थप ५ वटा सञ्चालनमा आउने प्रक्रियामा छन् । ती १७ वटै पसलमा एनएमसी एग्रो मार्टमार्फत उत्पादनको बजारीकरण गर्नेछौं ।
एसएमसीले कृषिमा प्रविधिको प्रयोगलाई पनि जोड दिइरहेको छ, यान्त्रिकीकरणको प्रयोग के–केमा गरिरहनुभएको छ ?
कृषिमा सबैभन्दा धेरै लागत जनशक्तिमा हुन्छ । ज्यालादारीमा मानिस लगाउनुपरे महँगो पर्छ । रोप्ने, गोड्ने, ड्याङ मिलाउने, काट्ने, झार्ने सबै काममा उपकरण आवश्यक छ भन्ने महसुस हामीले ग¥यौं । अहिले तरकारी बारीमा ड्याङ बनाउने मेसिन, मकै रोप्ने मेसिन, धान काट्ने मेसिनलगायत उपकरण खरिद गरी ‘कस्टम हायरिङ’ सञ्चालन ल्याएका छौं । यी उपकरण हाम्रा लागि मात्र नभएर सहुलियत मूल्यमा यस क्षेत्रका किसानलाई उपलब्ध गराउँदै आएका छौं, ताकि किसानको उत्पादन लागत कम होस् र कृषिप्रति आकर्षण बढोस् । कृषिमा यान्त्रिकीकरण आजको आवश्यकता हो । कृषि विज्ञान हो । यसबाट व्यावसायिक बन्न सकिन्छ भन्ने नमुना हामी यहाँबाट देखाउन चाहन्छौं ।
गाईपालन व्यवसाय कसरी गर्दै आउनुभएको छ ?
एनएमसीले डेरी उद्योग सुरु गरेसँगै किसानसँग प्रत्यक्ष रूपमा जोडियौँ । किसानले दूधको मूल्य बढाउन माग गर्ने तर बजारले दूधको मूल्य घटाउनुपर्छ भन्ने माग गर्ने । यो बीचमा दूधको मूल्य वृद्धि मात्र समस्याको समाधान हुँदैन भन्ने ज्ञान मिल्यो । यसपछि हामी दूधको उत्पादन लागत कम गर्ने उपायका विषयमा कृषकसँग बसेर छलफल ग-यौं । तर, त्यसले खास नतिजा दिएन । किसानले त्यसलाई अनुसरण गरेनन् । परम्परागत शैलीबाटै गाईपालन गरे, ठूलो लगानी गर्न सकेनन् । कारण के हो भने नयाँ पुस्ता गाईपालनमा आएन । पुरानो पुस्ताले नयाँ प्रविधि अनुसरण गर्न सकेनन् । त्यसो हुँदा हामी आफैँ नमुना गाई फार्म सञ्चालनमा होमियौँ ।
हामीले भारतको पञ्जाबबाट सात महिनादेखि १६ महिनासम्मका ५० वटा रेकडेट बाछी ल्याएका हौं । ती बाछीमध्ये १० वटा ब्याएर गाई बनिसकेका छन् । अरु ब्याउने क्रममा छन् । हामीले आधुनिक प्रविधिबाट मिल्किङ पार्लर राख्ने, फिडिङमा त्यहीअनुरूपको व्यवस्था गर्ने, लुज हाउजिङ सिस्टमबाट गाईपालन गर्ने, वर्षभरि साइलेस खुवाउने, दाना क्याल्सियमको व्यवस्था गरी गाईपालन गर्दै आएका छौं । अहिले एउटा गाईले प्रतिदिन अधिकतम २४ लिटरसम्म दूध दिँदै आएको छ । हामीलाई विश्वास छ यी गाईले यही बेतमा ३० लिटरसम्म दूध पु¥याउनेछन् । अर्को बेतमा यो स्वतः बढेर जान्छ ।
नेपालमा कृषिक्षेत्रका लागि समस्या के पाउनुभयो, सरकारी निकायबाट कस्तो सहयोग पाउनुभएको छ ?
म सधैँ भन्दै आएको छु कृषि विज्ञान हो । यहाँ कृषि पढेका मानिस पनि चाहिन्छ । तर, पढेका मानिस खेतको आलीमा बसेर काम अह्राउने होइन, गराभित्र पसेर काम गर्ने हुनुपर्छ । एनएमसी नमुना कृषि फार्ममा चारजना कृषि जेटिए र दुई जना भेटेरिनरी जेटिए कार्यरत हुनुहुन्छ । उहाँहरू कृषि मजदुरसँगै काम गर्नुहुन्छ । मजदुरलाई तरिका बताउनुहुन्छ । कृषिमा काम गर्ने जनशक्ति पाउन गाह्रो हुन्छ । अहिले हामीले काम गर्ने जनशक्तिको विकास गर्दै लगेका छौं । साथै, कृषि व्यवसायका लागि सबैभन्दा पहिले लगानी गर्न सक्नुपर्ने रहेछ । हामीले कोषमा भएको पैसा कृषिमा लगानी गरेकाले त्यसको ब्याज तिर्नुपरेन । जग्गा पनि आफैँ खरिद गरेकाले भाडा पनि तिर्नुपरेन । अहिले पनि कृषि व्यवसायमा हामीलाई घाटा छ । यो वर्ष पनि हामी घाटा बेहोर्दै छौं । आगामी वर्षदेखि चाहिँ सन्तुलनमा पुग्छौं । हामीले जैविक विधिबाट खेती गरेकाले हाम्रो घाटाको समय बढ्न सक्छ ।
कृषिमा हामीलाई सरकारी पक्षको सहयोग कस्टम हायरिङ सञ्चालनमा एक करोड १५ लाख रुपैयाँ छ । कस्टम हायरिङमा हाम्रो कुल लगानी २ करोड ४५ लाख पुगेको छ । गाई फार्ममा एक करोड रुपैयाँ सरकारको अनुदान छ । जबकि गाई फार्ममा हामीले तीन करोडभन्दा बढी लगानी गरिसकेका छौं । यसरी सरकारले सहयोग गर्दा हामीलाई अझ सहयोग पुगेको छ । तर, अनुदान आएन भने काम नगर्ने अथवा आउन छाडे काम नगर्ने भन्ने पक्षमा हामी छैनौँ । हामी आफ्नै पुँजीबाट यसलाई अगाडि बढाएर जान तयार छौं ।