तानसेनमा सडक विस्तार गरिने

पाल्पा-तानसेन नगर क्षेत्रभित्रका सहरी सडक विस्तार गरिने भएको छ । नगर सरकारको क्षेत्राधिकारअनुसार सहरी मापदण्डविपरीत रहेका घर टहरा भत्काएर सडक विस्तार गर्ने गरी तानसेन नगरकार्यपालिकाको बैठकले निर्णय गरेको छ ।
तानसेन नगरकार्यपालिकाको फागुन १५ गते बसेको बैठकले होलाङ्दी–बसपार्क–जिरो–ढुंगाखानीसम्मको सडकको केन्द्र विन्दुबाट १०÷१० मिटर चौडा गर्ने निर्णय गरेको छ । उक्त निर्णय कार्यान्वयनका लागि सडक डिभिजन कार्यालयलाई रेखांकन र प्राविधिक सहयोगका लागि नगरपालिकाको बैठकले अनुरोधसमेत गरेको छ ।
यसअघि सडक केन्द्रदेखि २.५ मिटर दायाँबाँया रहेको सडकलाई विस्तार गर्ने गरी कार्यपालिकाको बैठकमा सर्वसम्मत रूपमा निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कीर्तनराज पौडेलले जानकारी दिए । स्थानीय रूपमा राजनीतिक पहुँच, जनप्रतिनिधिविहीन राजनीतिक संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै सडक क्षेत्राधिकारभित्रको जग्गा किनबेच, घरटहरा निर्माणलगायतका काम गर्दै आएको छ ।
घर बनाउँदा सरकारले चाहेका बखत भत्काउन दिने लिखित सहमति गरेर त्यस क्षेत्रमा भौतिक संरचना निर्माण हुँदै आएको थियो, अहिले समयको मागअनुसार सडक विस्तार गर्नुपर्ने भएकाले सडक विस्तारमा अवरोध गर्नुको कुनै तुक नरहेको नगरपालिकाले जनाएको छ ।
घर नभत्काउन स्थानीयवासीको डेलिगेसन
तानसेननगरपालिकाले तानसेन बजार क्षेत्रको सडक चौडा गर्ने निर्णय गरेसँगै यहाँका उद्योगी, व्यवसायी तथा घरधनीहरू आफ्नो घर टहरा नभत्काउन तानसेन नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका छन् । उनीहरूले केहीले सडक विस्तार गर्दा आफ्नो भौतिक संरचनामा क्षति हुनुका साथै बसोबासमा समेत समस्या हुने भन्दै तानसेन नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा समेत डेलिगेसन गएका हुन् ।
सडक क्षेत्रभित्र पर्ने १ सय २६ जना व्यवसायी, घरधनी, राजनीतिक दलका नेतासमेत नगरपालिकामा डेलिगेसन गएका थिए ।
यसअघि पनि तानसेनमा आफ्नो घर भवन भत्किन्छ भनेर यहाँका व्यवसायी राजनीतिक दलका नेता, घरधनीले रकम नै उठाएर काठमाडौंसम्म डेलिगेसन गएर ढुंगाखानी–होलाङ्दी–बाइपास सडक विस्तारका लागि सरकारलाई सहमत गराएका थिए । तर पछिल्लो समयमा सडक विस्तार गर्नुको विकल्प नदेखिएपछि नगरपालिकाले सडक विस्तार गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता दामोदरप्रसाद घिमिरेले बताए । उनले सडक विस्तार गर्ने निर्णयमा कार्यपालिकामा सर्वसम्मत रूपमै निर्णय भएको बताए ।
सडक विस्तार अपरिहार्य : पौडेल
पुरानो सहरको रूपमा रहेको तानसेन पछिल्लो समय व्यावसायिक रूपमा धरासयी बन्दै गइरहेको छ । तानसेनको व्यावसायिक सफलता, यहाँको विकास र नगरवासीको दीर्घकालीन हितका लागि सडक विस्तार गर्नुको विकल्प नरहेको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कीर्तनराज पौडेलले बताए छन् । उनले तानसेन सुनसान भयो पनि भन्ने विकास निर्माणको काममा अवरोध गर्दै जाने हो भने यहाँको विकास झन् पछाडि पर्छ ।