नेपाल राष्ट्रिय व्यवसायी महासंघको चेतावनी

नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले आफ्ना समस्यामा ध्यान नदिएको भन्दै गम्भीर आपत्ति जनाएको छ । महासंघले सोमबार पत्रकार सम्मेलन गरी आफ्ना समस्याप्रति बारम्बार ध्यानाकर्षण गराउँदा पनि सरकारले पर्याप्त ध्यान नदिएको भन्दै आपत्ति जनाएको हो ।
महासंघका अध्यक्ष नरेस कटुवालले देशमा राजनीतिक परिवर्तन भई स्थिर सरकार निर्माण भए पनि साना तथा मझौला उद्यागी व्यवसायीका समस्या समाधान गर्न ठोस कदम नचालिएको गुनासो गरे । उनले आफूहरूलाई राजनीतिक तहबाट समस्या समाधान गर्न आश्वासन मात्र दिएको तर कुनै पहल नगरिएको बताए । देशको मेरुदण्डका रूपमा रहेको नेपाल–चीन सिमानामा हुने एकात्मक सिण्डिकेटको अन्त्य गर्दै सहज रूपमा व्यवसायीलाई केरुङसम्म जान निश्चित समयसम्मको पासको व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।
आफूहरूको व्यवसायलाई धराशायी पार्न खोजेको आरोप लगाउँदै उनले बैंकहरूले लिने चर्काे ब्याजदरलाई समायोजन गर्न पनि सरकारसँग माग गरेका छन् । उनले लाखौं व्यवसायीहरू यसको प्रत्यक्ष मारमा परेकाले बैंक तथा वित्तीय संस्थाले ब्याजदर रेट घटाउनुपर्ने पनि बताए । महासंघले अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित सबै निकायमा मागबारे जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै देशभरि रहेका छाता संगठनहरू आन्दोलनमा उत्रिनुको विकल्प नरहेको जनाएको छ ।
अध्यक्ष कटुवालले अव्यवस्थित् फुटपाथले दैनिकीमा अप्ठ्यारो परेको भन्दै व्यवस्थापनमा सरकारले पहल गर्नुपर्ने बताए । केरुङबाट सामान आयात गर्दा व्यवसायीलाई सहजता नभएको भन्दै उनले विभिन्न क्षेत्रमा रहेका सिन्डिकेट अन्त्य गर्न माग गरे ।
कार्यक्रममा महासंघका महासचिव टेकबहादुर शाक्यले सात वटै प्रदेशमा नीजि क्षेत्र र सरकार सम्मिलित औद्योगिक करिडोरको स्थापना गर्न माग गरे । साना तथा मझौला उद्योगी व्यवसायीलाई यस क्षेत्रमा आवश्यक नीति तथा नियम बनाउँदा सरकारले समावेशी र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
महासंघका उपाध्यक्ष नैनबहादुर पण्डितले खुला सिमानका कारण सिमामा दिन प्रतिदिन चोरी–पैठारी बढ्दै गइरहेको भन्दै यसलाई रोक्न तत्काल सम्बन्धित निकायबाट पहल गर्नुपर्नेमा जोड दिए ।