Logo

नेप्सेको अनलाइन प्रणालीमा समस्या आएपछि कारोबार प्रभावित

नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएपछि आइतबारको सेयर कारोबार प्रभावित भएको छ । बजार खुलेको एक घण्टा ४५ मिनेटपछि देखिएको समस्या समाधान हुन नसक्दा कारोबार नै प्रभावित भएको हो ।
आइतबार कारोबार प्रणालीमा देखिएको समस्या सिस्टम निर्माता कम्पनी वाइको प्रालिको प्रोटोकल लेयरमा नै समस्या देखिएकाले अन्य दिनको भन्दा जटिल रहेको नेप्सेले जनाएको छ । ब्रोकरले कारोबार गर्ने म्याचिङ इन्जिनमा ’लग इन’ हुन नसके पछि बजार खुलेको पौने दुई घण्टापछि कुनै कारोबार हुन सकेन् ।
सामान्य समस्या आइरहेको अनलाइन प्रणालीमा जटिल समस्याहरुसमेत देखापरेको हो । बारम्बार समस्या दोहोरी रहँदा अनलाइन प्रणाली प्रतिको विश्वास नै लगानीकर्ताले गुमाउने चिन्तासमेत बढ्न थालेको छ । नेप्सेको कमजोरीको कारण ब्रोकर तथा लगानीकताले सास्ती खेप्नु परेको ब्रोकरहरुको भनाइ छ । नेप्सेले प्रणालीमा देखिएको समस्या तत्काल समाधान गर्न निर्माता कम्पनी वाइकोलाई निर्देशनसमेत दिएको जनाएको छ ।
आइतबार नेप्सेको प्रविधिक समस्याले गडबढीले डेढ घण्टा मात्रै कारोबार भयो । दिउँसो १२ः४१ बजेदेखि नेप्सेको सेयर कारोबार गराउने प्रणाली (सिस्टम) नै नचलेपछि कारोबार रकमसमेत खुम्चिएको छ । बजार खुलेको अवधिमा १४० कम्पनीका ३ लाख २२ हजार २४२ कित्ता सेयर ९ करोड ३८ लाख रुपैयाँमा कारोबार भएको हो । नेप्से परिसूचक भने ०.९४ अंकले बढेर ११२८.७१ विन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्