कोभिड–१९ पछि धर्ममा बढ्दो आस्था

विश्वका केही प्रतिशत जनसंख्या कुनै किसिमको धर्म नमान्ने भए तापनि सबैजसो देशमा आ–आफ्ना इच्छाअनुसार कुनै न कुनै किसिमको धर्म मान्ने व्यक्तिहरूको संख्या धेरै छ । वास्तवमा संसारका धेरै व्यक्ति क्रिश्चियन धर्मप्रति आकृष्ट भए पनि अन्य धर्मावलम्बीहरूको संख्या कम छैन । यिनीहरूले आ–आफ्ना धर्मअनुसार नित्य कर्म गर्दै आएका छन् ।
वर्तमान संविधानले नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्रका रूपमा अंगीकार गरे तापनि यहाँ हिन्दू धर्म मान्ने व्यक्तिहरूको संख्या अधिक छ । जो उक्त धर्मको परिधिभित्र रहेर आफ्ना कामकाज गर्छन् । कुनै पनि धर्मको आफ्नै मूल्य र मान्यताहरू छन् । तर, कोभिड–१९ पछि हिन्दू धर्मप्रति अन्य धर्मावलम्बीहरूको आस्था बढेको छ ।
वस्तुतः हिन्दू धर्ममा वेदको धेरै महत्व छ । वास्तवमा विश्वको पहिलो लिखित किताब ऋग्वेद हो । यो वेदलगायत चार वेद वैदिक सनातन धर्मका ग्रन्थ हुन्, जसमा उल्लिखित जडीबुटीहरूको प्रयोग, शिर झुकाएर गरिने नमस्कार, धार्मिक अनुष्ठानबाट लिने आनन्द, प्रचारप्रसार नगरिएका प्रकृतिप्रदत्त वस्तुलाई भगवान्सरह मान्ने प्रचलन र सूर्यलाई साक्षात् भगवान् मान्ने वैदिक सनातन धर्मको मान्यता हो ।
अनादि कालदेखि विद्यमान वैदिक सनातन धर्म (हिन्दू) मान्ने धर्मावलम्बीहरू विश्वमा १५ प्रतिशत मात्र छन्, जो विश्वका १ सय ६५ भन्दा बढी देशमा बसोबास गरिरहेका छन् ।
विश्वमा कोरोना महामारी फैलिएपछि हिन्दू, (वैदिक सनातन धर्म) ले गैरहिन्दू सरकार चलनमा केही परिवर्तन ल्यायो । सैतानले मान्ने धर्म, रुढिवादी, असभ्य र गरिबको धर्म भनी घृणा गरिएको वैदिक परम्परालाई विश्वकै शक्तिशाली अमेरिकाका राष्ट्रपतिले पण्डित बोलाएर रुद्री लगाई जलअभिषेक लिनु, हात जोडेर आदर तथा सम्मानका साथ नमस्कार गर्नु, विभिन्न किसिमका जडीबुटी सेवन गर्नु आदि कुराहरूले गैरहिन्दूहरूको सोचमा परिवर्तन आएको संकेत गर्छ । यसैले एकातिर वैदिक सनातन (हिन्दू) धर्मको महत्व बढेको छ भने अर्कातर्फ उक्त धर्मप्रति थप व्यक्तिहरूको आस्था बढाएको छ ।
भविष्यमा वास्तविककताको समर्थन सबैले गर्नुपर्छ । इतिहास बिर्सेर अर्काको विचारमा हिँड्नाले आफ्ना संस्कारको बोध हुन सक्दैन । यथार्थतः सत्यको बोध सत् मार्गमा उन्मुख हुनाले मात्र हुन्छ । यो कुरा कोरोना कहरबीचको परिस्थितिले प्रमाणित गरेको छ । सन् २०१९ को डिसेम्बरको अन्त्यतिर चीनको पूर्वी प्रान्त हुइपेनको राजधानी बुहानमा देखा परेको कोरोना भाइरस–२०१९ (कोभिड–१९) को महामारी विश्वभरि फैलियो । यसको कारण विश्वका अर्बौं व्यक्ति प्रभावित भएका छन् ।
सन् २०२० को अप्रिलको पछिल्लो साता त यसको असर झन् बढ्यो । हाल यसको असर केही कम भए पनि यो कहिलेसम्म पूर्ण रूपमा नियन्त्रण हुने हो, किटान गर्न सकिने अवस्था छैन । वास्तवमा समाज समयसापेक्ष रूपान्तरण हुने हुँदा यसमा विद्यमान संस्कार, संस्कृति, आर्थिक उत्पादन र जनजीवनको परिवर्तन आउँछ । समय–समयमा आउने विभिन्न महामारीले समाजमा परिवर्तन ल्याएको कुुरा इतिहासको अध्ययनबाट थाहा हुन्छ । कोभिड–१९ पनि यस्तै महामारीमध्ये एक हो । त्यसैको कारण आज विश्वमा करोडौं संक्रमित भएका छन् भने लाखौंको ज्यान गएको छ । यसकारण निःसन्देह पनि यसले सामाजिक परिवर्तन ल्याउनेछ ।