डिजिटल माध्यमबाट पैसाको कारोबार गर्दा पारदर्शी हुन्छ «

डिजिटल माध्यमबाट पैसाको कारोबार गर्दा पारदर्शी हुन्छ

सुमन शर्मा, प्रमुख कार्यकारी अधिकृत, सनराइज बैंक


केही समयअगाडि सनराइज बैंकले एक प्रकारको भिजा कार्ड प्रयोगमा ल्यायो । वाणिज्य बैंकका सदस्यहरूले प्रयोग गरेजस्तै प्रयोग गर्न सक्ने गरी विभिन्न सहकारी संस्थाका सदस्यहरूले प्रयोग गर्न सक्ने विशेषता यसमा रहेको छ । सहकारीका सदस्यहरूले यसरी कार्ड प्रयोग गरेर आर्थिक कारोबार गर्ने काम दक्षिण एसियामा नै पहिलो हो । सुरक्षा र प्रविधिको हिसाबले मजबुत मानिएको यो कार्डको प्रयोगले प्रयोगकर्ताको आर्थिक कारोबार पारदर्शी हुनुका साथै नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानलाई सहयोग गर्नेछ । सहकारीका सदस्यहरूले पनि नगदरहित कारोबार गर्न पाउनु आफैँमा ठूलो उपलब्धि रहेको मान्नुपर्छ । यसै सन्दर्भमा नेपालमा यस प्रकारको कार्ड प्रयोगमा ल्याउने सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्र्माले सहकारीलाई पनि बैंकिङ प्रणालीमा ल्याउन सक्नु भनेको देशभर रहेका ८० लाखभन्दा बढी सदस्य बिस्तारै लाभान्वित हुने सम्भावना बढेको बताए । विश्वमा विकसित प्रविधिसँग नेपाल पछि छैन भन्ने सन्देश पनि प्रवाह भएको बताउँदै उनले यस प्रकारको कार्ड सेवा–सुविधा लिने सदस्य ग्राहकले वाणिज्य बैंकले दिने सबै सेवा–सुविधा प्रयोग गर्न सक्ने पनि बताए । प्रस्तुत छ, सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासँग गरिएको कुराकानीको सार :

केही दिनअघि सहकारीका सदस्यहरूले पनि एटीएम कार्डजस्तै कार्ड प्रयोग गर्न सक्ने भन्ने समाचारहरूमा आयो, यो कस्तो कार्ड हो ?
सनराइज बैंकले सहकारीका लागि जुन डिजिटल कार्ड ल्याएको छ, त्यसलाई भिजाको ब्रान्डिङ कार्ड भन्ने गरेका छौं । जुन कोब्रान्डिङ भनेको एउटा मात्रै संस्था होइन । मल्टिपल संस्थाहरू मिलेर ब्रान्ड बनाएर गर्ने कार्ड हो । यसमा सहकारी संस्था, सनराइज बैंक र भिजा तीनवटैको लोगो भएको कार्ड अर्थात् सनराइज बैंकको कार्ड तर सहकारीका ग्राहकहरूले खाताबाटै डेबिट भएर चल्ने गरी बनाएको कार्ड हो । धेरै समय यसमा काम गरेर अगाडि बढाएका हौं । यो कार्ड भिजाको अनुसारले दक्षिण एसियामा नै पहिलो सुरुवात हो, जसले गर्दा सहकारीका ग्राहकहरूले सनराइज बैंकको कार्ड प्रयोग गर्नेछन् । ग्राहकले सहकारीको खाताबाट पैसा निकाल्न तथा सपिङ (किनमेल) को रकम भुक्तानीमा प्रयोग गर्न सक्ने छन् । सहकारीका ग्राहकहरूले कुनै पनि ईकमर्स (अनलाइन कारोबार) का पोर्टलमा गएर अनलाइन भुक्तानी गर्दा सनराइजका ग्राहकले पाउने सुविधासरह सहकारीका ग्राहकले समेत पाउने किसिमको डिजिटल कार्ड हो ।

यो कार्ड सहकारीका सदस्यहरूले कसरी प्रयोग गर्न सक्छन् ?
जस्तो अब सनराइज बैंकको कार्ड होल्डरले सम्पूर्ण कामहरू कार्डका लागि सम्झौता गरेका सहकारीका ग्राहकले गर्न सक्छन् । जस्तो सनराइज बैंकको एटीएमबाट पैसा निकाल्न सक्नेछन् । सनराइज बैंकका एटीएम सञ्जाल छन्, जसमा १ सय ५० भन्दा बढी एटीएम रहेका छन् । त्यसबाट र २७ वटै कमर्सियल बैंक तथा विकास बैंकहरूले पनि राखेका एटीएम मेसिनहरू रहेका छन् । ती कुनै पनि संस्थाका एटीएमबाट पैसा झिक्न पाउनुहुनेछ । त्यस्तै, विभिन्न स्थानमा सपिङ (किनमेल) गर्दा पस मेसिन अर्थात् ‘प्वाइन्ट अफ सेल मेसिन’ भनिन्छ । विभिन्न बैंकहरूले राखिएका एटीएम मेसिनहरू छन्, त्यसबाट सामान किनेको रकम भुक्तानी गर्न सक्नुहुनेछ । अनलाइनबाट पनि कुनै पनि सामान खरिद गरेमा, बस तथा हवाई टिकट काट्नुपरेमा लगायत अनलाइनबाट गर्ने सबै कामको रकम भुक्तानीको लागि यो कार्ड प्रयोग गर्न सक्नुहुनेछ । कुनै पनि कमर्सियल बैंकले ल्याएको एटीएम कार्डको इक्युभ्यालेन्ट हो । त्यस्तो खालको कार्ड सहकारीका ग्राहकले प्रयोग गर्न सक्नुहुन्छ ।

यो कार्डको सुरक्षा र प्रविधि कस्तो छ ?
यो कार्डसँग सम्बन्धित अन्तर्राष्ट्रिय रूपमा जति पनि सुरक्षाका फिचरहरू रहेका छन्, ती सबै सुरक्षाका फिचरहरू यो कोब्रान्डिङ कार्डमा पनि रहेका छन् । अहिले सहकारी संस्थाका ग्राहकहरूले पाउने कार्डमा पनि त्यही सुरक्षा रहेको छ, जसमा अन्तर्राष्ट्रिय रूपमा नै चिप बेस्टकार्ड भन्ने भनिन्छ । ईएमबी कम्बाइन चिप बेस्टकार्ड, त्यही कार्ड नै सहकारीका ग्राहकले पाउनुहुन्छ, जसले गर्दा धेरै सुरक्षित रहेको हुन्छ । अहिले ग्राहकले पहिलो कार्ड प्रयोग गर्दा ग्रिन पिन नम्बर पाउनुहुनेछ । ग्रिन पिन नम्बर भन्नाले पहिला पहिलो बैंकहरूले पेपरमा पिन नम्बर दिने गरिन्थ्यो भने अब मोबाइलमा नै पिन नम्बर पाउनुहुन्छ । कार्ड कुनै पनि एटीएम मेसिनमा राखेर एक्टिभेट गर्दाखेरि ग्राहकलाई मोबाइलमा म्यासेज आउँछ । त्यो नम्बर उहाँहरूले एटीएम मेसिनमा राखेपछि ग्राहकको पासवर्ड हुन्छ । ग्राहकले पासवर्ड परिवर्तन गर्न सक्नुहुन्छ । त्यसरी पनि सुरक्षित रहेको हुन्छ । ग्राहकहरूले अनलाइन पोर्टलबाट कारोबार गर्दा ग्राहकको मोबाइल नम्बरमा म्यासेज आउँछ । हरेक पटकको कारोबारमा मोबाइलमा म्यासेज आउँछ । म्याजेस आएपछि म्यासेजमा आएको नम्बर राखेपछि मात्रै कारोबार रकम भुक्तानी गर्न सक्नुहुन्छ । यसरी हेर्दा हरेक हिसाबले यो कार्ड सुरक्षित रहेको छ । कसैको कार्ड हरायो, पिन नम्बर र मोबाइलसमेत पायो भने मात्रै असुरक्षित हुने हुन्छ । अन्यथा अरू कुनै हिसाबले असुरक्षित छैन ।

यो कार्डको प्रयोगले आर्थिक कारोबार र व्यवहारमा कस्तो परिवर्तन देख्न सकिन्छ ?
यो कार्डको प्रयोगसँगै सबैभन्दा पहिला सहकारी तथा बैंक वित्तीय संस्थामा पारदर्शी बनाउने काम गर्छ । डिजिटल माध्यमबाट पैसाको कारोबार गर्दा परदर्शी हुन्छ । ग्राहकलाई पनि आफ्नो खाताबाट कारोबार गर्दा के–केमा आफूले कारोबार गरे भन्ने कुरा थाहा पाउन सक्छन् । ग्राहकले जसलाई भुक्तानी गरेको छ, उसले पनि कहाँबाट पैसा आयो भन्ने कुरा देखिन्छ । त्यसले गर्दा वित्तीय पारदर्शीमा महत्वपूर्ण भूमिका खेल्छ । हाम्रो जस्तो अल्पविकसित देश, जसमा पैसाको जहिले पनि अनियमिताता हुन्छ र नोट पनि विदेशबाट मात्रै छापेर सबै सुरक्षा राखेर ल्याउन सक्नुपर्छ । नगद पैसा बजारमा विस्तार गर्दा देशले पनि धेरै खर्च गरिरहेको हुन्छ । यसले बजारमा नगद पैसा बजारमा कमी ल्याउँछ । नोटमा कमी ल्याउने पहिलो काम कार्डले मद्दत गर्छ । करिब ८३ लाख सहकारीका सदस्यहरूले कार्ड नै प्रयोग गर्नुभयो भने कारोबारको डिजिटल माध्यमबाट रकम प्रयोग हुन्छ । त्यसले गर्दा सबै क्षेत्रमा पारदर्शिता ल्याउनेदेखि सुरक्षासमेत हुन्छ । सहकारीका ग्राहकले कार्ड प्रयोग गर्दा सहकारीका ग्राहकसमेत बढ्ने हुन्छन् । अहिले २७ वटा बैंकहरू रहेका छन् । २७ बैंकका १ सयदेखि ३ सय शाखाहरू रहेका छन्, जसमा बैंकहरूको आउटलेट छ, त्योभन्दा सहकारीको प्रयोग बढी रहेको छ । ग्राहकहरूले पैसा झिक्नका लागि निश्चित समयमा मात्रै पैसा झिक्न पाउने हुन्छन् । कार्ड प्रयोग गर्दा यस्तो स्थिति पनि हँुदैन । बैंकहरू नपुगेको स्थानमा सहकारीको उपस्थिति रहेको छ । त्यस्तो ठाउँमा पनि ग्राहकहरूले पैसा राख्दा जतिसुकै बेला पैसा झिक्न सक्छन् । सहकारीलाई पनि कार्ड प्रयोगमा ल्याउनका लागि ट्रान्सपरेन्सी व्यवस्थापन गर्नुपर्छ । डिजिटल सफ्टवेयरमा डाटाहरू राख्नुपर्छ ।

यस प्रकारको कार्ड प्रयोग गर्नेले अतिरिक्त शुल्क पनि बुझाउनुपर्छ, प्रविधिमा पनि खर्च गर्नुपर्छ ?
बढी खर्च हुन्छ भन्ने कुरामा सनराइज बैंकका ग्राहकलाई एटीएम कार्ड दिँदा जति खर्च हुन्छ, सहकारीका ग्राहकलाई कार्ड दिँदा पनि त्यति नै खर्च हुन्छ । बैंकले सहकारीका ग्राहकलाई अन्य शुल्क पनि लिँदैनौं । नर्मल जुन शुल्क हो त्यही नै हुन्छ । अहिले बैंकहरू यति ठूला भइसके कि आफैँले स्विच राख्ने क्षमता राख्छन् । स्विच मात्रै राखेर भएन । त्यसको एड्मिन स्टेसन, त्यसको सुरक्षाको व्यवस्थाहरू पनि गर्न सक्नुप¥यो । नत्र पहिला भएको स्विच नै ह्याक भएको थियो । त्यसैले बैंकलाई पूरा ठूलो सेटअप चाहिन्छ । अब धेरै बैंकहरू मिलेर स्विच स्थापना गरेका छन् । लागत सेयरिङ बेसिसमा हुन्छ । अहिले केही बैंकले एक्लै गर्छौं भनेर गर्नुभएको छ । सबै लागत आफैँले लिनुभएको छ । धेरै बैंकहरूको साझा स्विच रहेको छ, जसमा सहकारीहरूले पनि यो सुविधा लिनका लागि नेप्ससँग जोडिएको हुन्छ । उहाँहरूले त्यसका लागि मिलेर खर्च गर्नुभएको छ । त्यति ठूलो लागत पनि लागि नसकेको अवस्था छ, जसले गर्दा ग्राहकहरूले पाउने कार्डमा अन्य लागत जोडिन्छ कि भन्ने छोइन । यसका लागि सरकारले वित्तीय पहुँच, डिजिटल बैंकिङबाट गर्ने कारोबार र सहकारी मौद्रिक नीतिमा पनि लेखिएको छ । सहकारीहरूलाई पनि वित्तीय कारोबारमा डिजिटल बनाउने कुरा लेखिएको छ ।
त्यही सोच तथा पहिलेदेखिको अवधारणा भएकाले सनराइज बैंकले यसमा प्राथमिकता दिएर केही गर्न सकिन्छ कि भनेर अध्ययन गर्दा अगाडि आएको कुरा हो । यो तत्कालै भएको कुरा होइन, धेरै समयको तयारी गरेर आएको हो । अब यसको सहकारीका सदस्यहरूले कतिको प्रयोग गर्नुहुन्छ, उहाँहरूले जति प्रयोग बढाउँदै जानुभयो, त्यति नै डिजिटलहरू कारोबार बढ्ने विश्वास रहेको छ । यही अवधारणाअनुसार बैंक अगाडि बढेको छ । जुन दक्षिण एसियामा नै पहिलो पटक नेपालमा ल्याइएको छ । पछिल्लो समय नेपालमा क्यूआर कोडमार्फत कारोबार गर्ने भनेपश्चात् हाम्रो पैसा हाम्रै देशमा रहोस् भन्ने अवधारणाअनुसार सबै बैंकहरूले सुरुवात गरेका छन् । यसमा सनराइज बैंक पनि लागिपरेको छ । डिजिटल कारोबार बढाउनका लागि नेटवर्क बनाउने काम गर्दै आएको छ । सहकारीमा पनि क्यूआर कोड राख्नुपर्छ भन्ने सुझाव आएको छ । यसलाई पनि बैंकले सोच बनाएको छ । डिजिटल बैंकिङ कारोबारका लागि सनराइज बैंकले महत्वपूर्ण योगदान पु-याएको छ ।
सहकारीमा रहेका समस्याहरूमा उहाँले आफ्नो संस्थाको पूरै तथ्यांकहरू सिस्टममा राख्नुप-यो । सहकारी सिस्टमबाट चलाउनुप-यो । सिस्टममा चल्ने सहकारीहरूले यस्तो किसिमको काम गर्न सक्नुहुन्छ । यो कार्ड लागू हुँदा सहकारीमा खाता भएका ग्राहकले एटीएमबाट पैसा झिक्नेबित्तिकै सहकारीको खाताबाट पैसा काटिन्छ । त्यो किसिमको सहकारी संस्था हुनुप-यो । त्यस्तो खालको सहकारी संस्थाहरू बैंकसँग जोडिएका छन् । सहकारीको एसोसिएनको माध्यमबाट यो कामहरू गरिरहेका छौं । अहिले चारवटाबाट सुरु गरे पनि चालू आर्थिक वर्षभित्र २४ वटामा गर्ने योजना बनाएका छौं । तर, सहकारीहरू २४ वटाभन्दा धेरै रहेका छन् । सनराइज बैंकका सबै शाखाहरूले सहकार्य गरेर बैंकले यस्तो गर्न सक्छ भनेर सहकारीहरूको योजना भए बैंकले माग पूरा गर्ने तयारी गरेका छौं । सहकारीहरूबाट सकारात्मक कुरा आएका छन् ।

तपाईंहरूले सुरु गरेको यो सेवाले नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानलाई कसरी सहयोग गर्छ ?
बैंकले बैंकिङ साक्षरताको काम निरन्तर रूपमा अगाडि बढाएको छ । राष्ट्र बैंकले पनि गर्नु भन्ने निर्देशन गर्नुभएको छ । त्यस्तै बैंकले सीएसआरमा गर्ने खर्च सामाजिक उत्तरदायित्वको काममा केही रकम खर्च गर्नुपर्छ भन्नुभएको छ । डिजिटल कारोबारको कुरा गर्दा स्थान र मान्छे हेरेर हुन्छ । कस्तो खालको शिक्षा चाहिन्छ भन्ने हेरेर हुन्छ । त्यस्तै खालको बैंकिङ शिक्षा दिनका लागि बैंकहरूले मिलेर डिजिटल कारोबारको विषयमा कार्यक्रमहरू गर्ने योजना बनाएको छ । सहरमा बसेका सहकारीका सदस्यहरूलाई कार्डको विषयमा शिक्षा दिनुपर्छ जस्तो लाग्दैन । उहाँहरू यो विषयमा धेरै जानकार हुनुहुन्छ । सहकारी भएका धेरै ठाउँमा डिजिटल कारोबारको विषयमा थाहा नहुन सक्छ । उहाँहरूका लागि सुरक्षाको विषयमा जानकारी दिनुपर्छ । त्यसका लागि बैंक तयार रहेको छ । त्यहीअनुसार योजना बनाइरहेको पनि छ ।

प्रतिक्रिया दिनुहोस्