गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएका छन् ।
मेयर दाहालले धुर्मुस–सुन्तली फाउन्डेसनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताए । आइतबार भरतपुरमा आफ्नै कार्यालयमा कुरा गर्दै मेयर दहालले धुर्मुस–सुन्तली फाउन्डेसनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकाले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगरले अब रंगशालाको लागि काम अघि बढाउने बताए । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मेयर दाहालले सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने बताए ।
मेयर दाहालले भने, ‘हामीले प्रक्रिया अघि बढाइसकेका छौं । हुनत हाम्रो सम्झौताअनुसार महानगरपालिकाले जग्गा उपलब्ध गराउने, त्यो खालको वातावरण निर्माण गरिदिने र स्रोत जुटाएर निर्माण सम्पन्न गर्ने, दायित्व धुर्मस–सुन्तली फाउन्डेसनको हो । महानगरले जग्गा उपलब्ध गराउने र वातावरण निर्माण गरिदिने भन्ने हो, त्यसका बाबजुद पनि महानगरले स्रोत जुटाउन आर्थिक सहयोग पनि जुटायौं । राम्रो सहयोग जुटेको हो । आन्तरिक आयबाट पनि बजेट विनियोजन गरेर हस्तान्तरण गरेको हो । लगभग १० करोड बजेट महानगरको आन्तरिक बजेटबाट उपलब्ध गराएको हो । महायज्ञ धनधान्याञ्चल आयोजना गरेर पनि सहयोग गरेका हौँ । १८÷२० करोडको बजेट फाउण्डेशनलाई उपलब्ध गराएको हो । उहाँहरूले १७ करोड ऋण लागिसक्यो गर्न सक्ने स्थिति भएन भनेपछि ऋण लगाएर गर्ने कुरा भएन । उहाँहरूले हामीले स्रोत जुटाउन सकेनौँ, त्यसकारण महानगरपालिकाले स्वामित्व ग्रहण गरिदिनुपर्छ भनेर आग्रह गरेपछि हामीलाई पत्र पनि दिनुभयो र उहाँहरूले फाउण्डेशनको तर्फबाट आर्थिक र प्राविधिक प्रतिवेदन पेश गरेपछि यो बहुवर्षिय योजनाअनुसार अघि बढाउन र ऋण तिर्न पनि संघीय सरकारलाई आग्रह गर्छौं । सरकारले जिम्मेवारीबाट पन्छिन मिल्दैन, स्वामित्व लिन्छ । सबै सरकारको आपसी र समझदारीबाट यो योजनालाई अघि बढाउँछौँ ।’
मेयर दाहालले चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल रहेको दाबी गरे । उनले देश शान्तिप्रक्रिया यता दाहालकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको बताए । उहाँले प्रचण्ड चितवनको जनप्रतिनिधि बनेपछि छोटो समयमै जिल्लाको कायापलट भएको बताउनु भयो । मेयर दाहालले महानगरको विकास र शीर्षस्थ नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै विकास निर्माणका कामलाई गति दिएको उल्लेख गरे ।
मेयर दाहालले भने, ‘राजनीतिको केन्द्रबिन्दु चितवन बन्नुमा मलाई के लाग्छ भने राजनीतिको एउटा उथलपुथल क्रान्ति गरेर यो देशलाई परिवर्तनको बिन्दुमा ल्याउने नेतृत्व, अध्यक्ष कमरेड दाहाल । आखिर देश त उहाँकै वरपर घुमेको छ । २०६४ देखि यहाँसम्म आइपुग्दा । शान्तिप्रक्रियादेखि यहाँसम्म आइपुग्दा । हरेक कालखण्डमा देशमा ठूला समस्या शंकट आउँदा पनि आखिर देशको समस्याको निकास दिने व्यक्ति र पार्टी भनेको अध्यक्ष कमरेड दाहाल, माओवादी पार्टी । दाहाल यहाँको नभइ अन्यत्र जिल्लाको प्रतिनिधि हुँदा चितवनको अवस्था के थियो ? त्यो आकर्षण चितवनमा थिएन । अध्यक्ष कम्रेड चितवन जिल्लाबाट जब जनप्रतिनिधिको रुपमा आउनु भयो । तब यो छोटो अवधिमा चितवनको चर्चा, परिचर्चा कस्तो छ ? राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा, आम सबै हिसाबले । अहिले हरेक गतिविधि राजधानी काठमाडौं भन्दा पनि चितवन केन्द्रित छन् । विभिन्न पार्टीका सभा सम्मेलन, मेला, प्रदर्शनी, किन भइरहेका छन् भन्दा जसरी देश उहाँकै वरपर घुमिरहेको छ, त्यसैगरी उहाँ यहाँबाट प्रतिनिधित्व गरेको कारणले गर्दा चितवन जिल्लाको महत्व बढेको छ । अर्को कुरा भरतपुर महानगरपालिकामा जुन ढंगले विकास भएको छ, विकासको चर्चा, परिचर्चाका कारणले पनि, वैकल्पिक राजधानीको रुपमा यो स्वतःस्फूर्तः बन्दै गइरहेको छ । चितवन जिल्ला व्यवसायिक, आर्थिक केन्द्रको रुपमा, मेडिकल सिटीको रुपमा, शैक्षिक हबको रूपमा, उत्पादनको केन्द्रको रुपमा, कृषि हबको रुपमा, हामी दूध, माछाको राजधानी, हामी आत्मनिर्भर छौँ ।’
मेयर दाहालले आफ्नो साढे ४ वर्षको कार्यकालमा जनताले सोचेको र जनतासँग वाचा गरे भन्दा धेरै काम गरेको दाबी गरे । उनले चितवन जिल्ला अहिले दुग्ध उत्पादन, माछा, केराखेती, कृषिको क्षेत्रमा आत्मनिर्भर रहेको बताए । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर दाहालले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि महानगरले उल्लेख्य काम गरेको र आगामी दिनमा कृषि, शिक्षा, स्वास्थ्यको हब चितवन बनाउने दाबी गरे । उनले शीर्षस्थ नेताहरू भएको ठाउँको विकास अलि चाँडै हुने गरेको त्यसको प्रभाव चितवनमा पनि परेको बताए । मेयर दाहालले शीर्षस्थ नेता चितवनको जनप्रतिनिधि भएकोले गर्दा अर्बौं बजेटका योजनाहरू गर्न सफल भएको बताए ।
मेयर दाहालले भननिन्, ‘साढे ४ वर्षमा ५३ काम भनेको संक्षिप्त हो । हामीले ५३ दुना काम गरेका छौँ । महानगरपालिकाले राष्ट्रिय गौरवका आयोजनाहरू, महानगर गौरवका आयोजनाहरू, सडक पूर्वाधार, भौतिक पूर्वाधारहरू, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, समग्र क्षेत्र, सुशासनको क्षेत्र, रोजगारी सिर्जना लगायतका क्षेत्रमा महानगरपालिकाले विकासको सन्तुलित मोडल र खाका अनुसार हामी अघि बढेका छौँ । चुनावी दौरानमा जनताको बीचमा गरेका वाचाभन्दा धेरै माथि उठेर काम गरेका छौँ । सडक पूर्वाधारको क्षेत्रमा सोचेभन्दा बढी उपलब्धि प्राप्त गरेका छौँ । भौतिक पूर्वाधारमा पनि महानगरपालिका भित्र रहेका वडका कार्यालय भवनहरू १६ वटा त नयाँ बनाएका छौँ । शिक्षाको क्षेत्रमा विद्यालय भवन, विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तरका योजनाहरू, तीन वर्षको तथ्यांक अनुसार महानगरपालिकामा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या भर्ना दर साढे ६ हजार विद्यार्थीहरू बढाउन सफल भएका छौँ । सरकारी विद्यालयमा भर्ना हुने क्रम तीव्र ढंगले बढेको छ । ५ वर्षको हाम्रो कार्यकालमा १० हजार विद्यार्थी निजीबा सरकारीमा आउने हाम्रो संकल्प छ । हामी सफल हुन्छौँ । हामी माछामा, दुग्ध उत्पादनमा, पोल्टिमा आत्मनिर्भर छौँ । तरकारीमा, केरा खेतीमा आत्मनिर्भर छौँ । स्वास्थ्यको क्षेत्रमा पनि हामी सबल छौँ । त्यो त पक्का हो नि । एक त आफ्नो संकल्प पनि हो । आफ्नो इच्छाशक्ति पनि हो । दोस्रो कुरा अलिकति पहुँच पनि हुनुपर्छ । डडेलधुरा जिल्लाको विकास भएको छ, के कारण भन्दा पहुँचवाला नेता भएको कारण । शेरबहादुर देउवाज्यू नेपाली कांग्रेसको सभापति हुनुहुन्छ, धेरैपटक प्रधानमन्त्री बन्नुभएको छ । त्यो जिल्लको नेतृत्व उहाँले गर्नुभएको छ । जसका कारण पहुँच भएकै आधारमा अरु जिल्लाको भन्दा त्यो ठाउँको विकास भएको छ । शीर्षस्थ नेताहरूको भएको अन्य जिल्लाहरूको पनि विकास भएको छ । पहुँचवाला प्रतिनिधि हुनु र नहुनुमा अन्तर त देखियो ।यहाँ पनि म त्यो होइन भन्न सक्दिन । त्यो कुरा स्वभाविक हो नै । हिजो मुलुक परिवर्तनको लागि पनि हामी निःस्वार्थ ढंगबाट व्यक्तिगत चाहनाहरूलाई गुमाएर मुलुक परिवर्तन र जनताको अधिकारका लागि होमिएको हो । संविधानसभाको सदस्यको रुपमा काम गरेको, सबैतिरबाट चिरपरिचित हुनुको नाताले पनि सबैतिर समन्वय, सहकार्य भएको छ । चितवन जिल्लाले शीर्षस्थ नेतृत्व, राजनेता अध्यक्ष कमरेड दाहाल पाएको छ । योभन्दा अघि शीर्षस्थ नेता नपाएकोले हिजोको दिनमा मध्यभागमा भएर पनि चितवन जिल्लाको विकास सोचेअनुरुप भएको थिएन । साढे तीन वर्षको अवधिमा लगभग कायायपलट हुने हिसावले विकास भएको छ । ६१० किलोमिटर बाटो पिच हुने कुरा, हिजो ६ किलोमिटर हुन हम्मेहम्मे थियो । अन्तर्राष्ट्रिय स्तरको सिटि हलको योजना, अन्तर्राष्ट्रिय स्तरको एक्स्पो सेन्टर, क्रिकेट रंगशालाका योजनाहरू, नारायणी किनारलाई सिभिज मोडेलबाट विकास गर्ने भनेका छौँ । नारायणी तटबन्ध्मनका योजना, सिक्स लेन सडक, फोर लेन सडक, हुलाक सडकका योजनाहरू यी सबै योजना सजिलै भएको छैन । सजिलै हुन्थ्यो भने हिजो पनि हुन्थ्यो । हिजो पनि निर्वाचन भएको थियो प्रतिनिधि हुन्थे । मन्त्री भए प्रधानमन्त्री समेत भए । तत्कालीन अवस्थामा चितवन क्षेत्र नम्बर ४ बाट जितेर सुशील कोईराला प्रधानमन्त्री बन्नुभयो । तर हामीले दृढशक्तिका साथ काम गरेका छौँ । शीर्षस्थ नेता पाएका छौँ । चितवन जिल्लाको लागि उहाँ कमरेड दाहाल आवश्यक हो । यदी उहाँ यो क्षेत्रमा नभएको भए त्यो विकास यति थोरै समयमा हुँदैन थियो भन्ने कुरा आम जनतालाई थाहा छ । पहुँच नभइकन यत्तिका अर्बौं योजना सम्भव थिएन, खानेपानीमा मात्रै ३ अर्ब ७० करोड छ । लगभग ४ अर्ब ७२ करोडको नारायणी तटबन्धनको बहुवर्षीय योजनाका लागि स्वीकृत भएको छ ।’
मेयर दाहालले महानगरले रोजगारी सिर्जना गर्न, विकासलाई तीव्रता दिनका लागि काम गरिरहेकोले जनताले यसलाई मूल्यांकन गरिरहेको बताइन् । उनले चितवन जिल्लाका लागि दाहाल आवश्यक रहेको भन्दै पहुँच बिना अर्बौंका योजना शुरु गर्न सम्भव नभएको बताउनु भयो । मेयर दाहालका अनुसार आफ्नो कार्याकालमा महानगरमा ३ अर्ब ७० करोडको खानेपानी योजना र ६१० किलोमिटर सडक निर्माण भएको छ । उनले महानगरको ५ वर्षे कार्याकालमा निजी विद्यालयबाट १० हजार विद्यार्थीहरूलाई सरकारी विद्यालयमा भर्ना गराउने योजना भएको र त्यसअनुसार सफल भइरहेको बताए ।