Logo

हिमामा ५७ किमि सडक निर्माण

जुम्ला- स्थानीय सरकार सञ्चालनपछि सडक निर्माणमा सबैभन्दा बढी लगानी भएको देखिन्छ । विकासको मेरुदण्डका रूपमा हेरिएको सडक निर्माणलाई स्थानीय तहले पहिलो प्राथमिकतामा लगानी गरे । सोहीअनुरुप जुम्लाका आठ स्थानीय तहका ६० वटै वडामा ग्रामीण सडक पुगिसकेका छन् । जसअन्तर्गत यहाँको हिमा गाउँपालिकाले बितेको साढे चार वर्षमा करिब ६५ किलोमिटर सडक निर्माण गरेको छ ।
भौगोलिक रुपमा विकट हिमा गाउँपालिकाका ७ वटै वडाका साढे तीन दर्जन बस्तीलाई यातायातको पहुँचमा ल्याउने उद्देश्यले मोटो रकम लगानी गरेर हालसम्म ५७ किलोमिटर सडक निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए । उनका अनुसार पालिकाका सबै बस्तीमा सडक पुगे पनि गाडी गुड्न भने बाँकी छ ।
हिमा गाउँपालिका प्राविधिक प्रवेश देवकोटाका अनुसार चार वर्षमा निर्माण भएको करिब ५७ किमि सडकमध्ये कतै स्तरवृद्धि कतै आरसीसी भइरहेको छ । हिमा गाउँपालिकाको तथ्यांकअनुसार साढे चार वर्षमा दियार गाउँ हुदै मोफ्लासम्म १५ किमि, पाथखोला हुँदै कालिकोट जोड्ने सडक पाँच किमि, भूगोलपाटादेखि बुअसम्म २ दशमलव ५ किमि, कालिका मावि हुँदै तलिकुडु जारजी सडक १५ किमि निर्माण भएको छ ।

त्यस्तै, बड्की हुँदै जोगीबाडासम्म १ दशमलव ५ किमि, बड्की हँुदै ओदीसम्म १२ किमि, सेरगाउँ पिगिसम्म १ किमि र कुडु बन्चरीकाँडा च्यामेले खर्कसम्म तीन किमि गरी जम्मा करिब ५७ किमि ग्रामँण सडक निर्माण भएको छ भने सेरगाउँ पिगिसम्म थप ३ दशमलव ८ किमि र जोगीबाडा च्याल्से हुँदै च्यामा जाड्ने ५ किमि सडक निर्माणका लागि टेन्डर आह्वान भइसकेको प्राविधिक देवकोटाले जानकारी दिए । साथै, ओदी गाउँदेखि नेत्र ज्योति माविसम्मको ४ सय ८० मिटर बाटो आरसीसी भएको छ ।
हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले सडक, शिक्षा, स्वास्थ्य कृषि क्षेत्रलाई प्राथमिकता दिँदै बजेट लगानी गर्दै आएको बताए । उनले भने, “पालिकाभरिका सबै बस्तीमा सडक पुगेका छन् । केही गाउँमा गाडी पुग्न बाँकी छ । सडक स्तरवृद्धि गरेर आफ्नो कार्यकालभर गाउँमा गाडी पु¥याउने लक्ष्य राखेको छु ।”
सडक बिना गाउँका कृषि उत्पादनले बजार नपाउने, स्थानीयको जीविकोपार्जनमा सुधार नआउने भएकाले सडक विकासमा जोड दिएको र अब गाउँमा पुगेका सडकलाई आर्थिक समृद्धिसँंग जोड्न थप लगानी गर्न पालिका तयार रहेको अध्यक्ष शाहीको भनाइ छ ।

गत आवमा मात्रै हिमा गाउँपालिकाले सडक, शिक्षा, कृषि, स्वास्थ्य, खानेपानी, जलविद्युतलगायत गरी २१ करोड लगानीमा करिब ८० वटा योजना निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाको भनाइ छ । हिमा गाउँपालिकाले भौगोलिक विकटतालाई मध्यनजर गर्दै पालिकाले पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्