Logo

सडक मिचेर बनाइएका संरचना हटाउन ताकेता

जुम्ला- कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्ट देखि बसपार्क क्षेत्रमा मात्रै सडक अतिक्रमण गरेर करिब दुई दर्जन संरचना निर्माण गरेको भेटिएको छ । सडक डिभिजनले चिन्ह लगाएर छोडेको जग्गाा समेत अतिक्रमण गरी स्थानीयले घर टहरा, पर्खाल सेफ्टी ट्यांकीलगायतका संरचना निर्माण गरेको भेटिएको हो ।
नापी कार्यालय र सडक डिभिजनले सडकको क्षेत्र नाप्दा घर टहरा, पर्खाल सेफ्टी ट्यांकी गरी २४ वटा संरचनाले सडक मिचेर निर्माण गरेको भेटिएको सडक डिभिजन जुम्लाका सब–इन्जिनियर वीरेन्द्र रावलले बताए ।
उनका अनुसार अतिक्रमण हटाउन अभियानअन्तर्गत गरिएको नापी नक्साबाट दुईवटा पक्की घर, चारवटा जस्तावाला घर, चारवटा पक्की सेफ्टी ट्यांकी, आठवटा तारजाली एंगलसहितका पर्खाल, एउटा ढुंगाको पर्खाल र पाँचवटा टहरा गरी २४ वटा संरचना सडक अतिक्रमण गरेर निर्माण भएका छन् ।
सडक अतिक्रमण गरी निर्माण भएका दुईवटा पक्की घर र चारवटा सेफ्टी ट्यांकीलाई आफ्नै तरिकाले हटाउन १५ दिने अल्टिमेटम दिइएको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताए । उनले भन्ने, “पक्की घर मालिक र सेफ्टी मालिकलाई अतिक्रमण हटाउन पत्रसमेत दिएका छौं । पत्र लिन नमान्नेको घरमै सूचना टाँस गरेका छौं । १५ दिनभित्र नहटाए र सम्पर्कमा नआएपछि सडक ऐन २०३१ अनुसार भत्काइने छ भने, घरको आँगन, निर्माण सामग्री भत्काउने र हटाउन काम जारी छ ।”
त्यस्तै जस्तावाला घर हटाउन सात दिनको समय दिइने र सो अवधिमा नहटाए डोजर प्रयोग गरी हटाइने भएको छ भने तारजाली पर्खाल, ढुंगाको पर्खाल र टहरालाई शुक्रबार (आज) डोजर प्रयोग गरेर हटाइने प्रमुख श्रेष्ठले जानकारी दिए ।
साथै, बजार क्षेत्रपछि सडक अतिक्रमण गरेर तातोपानी–२ जर्मीमा निर्माण गरिएका करिब साढे दुई दर्जन टहरा हटाइने भएको छ । सडक मिचेर घर टहरा निर्माण गरेका जर्मीका २८ जनालाई चाँडै हटाउनसमेत पत्राचार गरिएको सडक डिभिजन जुम्लाले जनाएको छ ।
सडक मिचेर बनाइएका संरचना हटाउन ताकेता

प्रतिक्रिया दिनुहोस्